site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पाकिस्तानमा क्रिकेट जत्तिकै फुटबल पनि लोकप्रिय छ’
SkywellSkywell

काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप धेरै अर्थमा खास रह्यो । प्रतियोगितामा अझै तीन खेल बाँकी छन् । बाँकी खेल अझै खास बन्न सक्छन् । र, त्यहीअनुसार नतिजा आउन पनि सक्छ । 

अहिलेसम्म हेर्ने हो भने पाँच पटकको विजेता भारत पहिलोपटक पराजित भयो । बंगलादेशले ऐतिहासिक विजय हासिल गर्यो । पाकिस्तानी महिला टिम आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कियो । र, उसले साफ इतिहासमा सबैभन्दा फराकिलो जित हासिल गर्यो । त्यसकारण काठमाडौं भ्रमण पाकिस्तानका लागि सबैभन्दा खास रह्यो । 

KFC Island Ad
NIC Asia

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको प्रतिबन्धका कारण पाकिस्तान आठ वर्षसम्म घरमै थन्किएर बस्यो । तेस्रो पक्षबाट हस्तक्षेप भएको भन्दै पाकिस्तानी फुटबल यसबीचमा पटकपटक फिफाको निलम्बनमा पर्यो ।  

पछिल्लोपटक १ जुलाई २०२२ मा प्रतिबन्धबाट फुकुवा भएको हो । अब पाकिस्तानी फुटबल टिम पुनः अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो बलियो उपस्थिति जनाउने लक्ष्यमा छ । र, पाकिस्तान फुटबल संघले त्यहीअनुसार काम पनि थालेको छ । त्यसकै प्रतिफल हो, छोटो समयमा साफ महिला च्याम्पियनसिपमा पाकिस्तानको सहभागिता । 

Royal Enfield Island Ad

आठ वर्षसम्म पटकपटक प्रतिबन्ध हुँदा पक्कै पनि पाकिस्तानमा घरेलु फुटबलको संरचना पनि ध्वस्त भएको थियो । अझ महिला फुटबलको त कुरै नगरौँ । त्यो पनि मुस्लिम देशमा । 

यस्तो अवस्थामा एउटा बलियो राष्ट्रिय महिला टिम बनाउन मुख्य प्रशिक्षक आदिल मिर्जा रिज्कीलाई पक्कै पनि सहज थिएन ।

“घरेलु संरचना थिएनन् । टिम बनाउन धेरै कठिन भयो । यद्यपि, पाकिस्तान फुटबल संघले अभिभावकीय भूमिका निर्वाह गरेपछि हामीलाई काम गर्न सजिलो भयो,” पाकिस्तानी महिला टिमका मुख्य प्रशिक्षक आदिल मिर्जा रिज्कीले बाह्रखरीसँग भने, “कँराची, लाहोर, इस्लामावादलगायत विभिन्न सहरहरूमा पुगेर खेलाडी खोजी गरियो । ट्रायलमा १०० खेलाडीको छनोट ग¥यौँ । त्यसबाट छनोट गर्दै टिम बनाएका हौँ ।”

छोटो समयको तयारी गरेर आएकोे पाकिस्तानको नेपाल भ्रमण सम्झनलायक रह्यो । पहिलो खेल नै भारतविरुद्ध थियो । भारत प्रतियोगितामा सबै संस्करणको उपाधि जित्ने बलियो प्रतिद्वन्द्वी थियो । पाकिस्तान ३–० ले पराजित भयो । 

दोस्रो खेलमा बंगलादेशसँग ६–० ले पराजित भयो । पाकिस्तानले भारत र बंगलादेशविरुद्ध राम्रै गृहकार्य गरेको पनि हो । तर, अनुभवविहीन पाकिस्तानले बंगलादेश र भारतलाई रोक्न भने सकेन । 

दुई खेलमा पराजित भएको पाकिस्तानले समूह चरणको अन्तिम खेलमा माल्दिभ्समाथि ७–० को विजय हासिल गर्यो । र, प्रतियोगितामा सुखद अन्त्य गर्यो । जुन पाकिस्तानले साफमा हासिल गरेको सबैभन्दा फराकिलो जित थियो ।

माल्दिभ्सविरुद्ध सानदार विजय हासिल गरेपछि पाकिस्तानका प्रशिक्षक आदिल मिर्जा रिज्कीले भने, “यो प्रतियोगिता खेल्न उत्साहित थियौँ । जे जे गर्न सक्यौँ त्यही गर्यौँ । भविष्यमा थप राम्रो गर्नेछौँ । आशा छ, यो विन्दुबाट हामी नयाँ यात्राको थालनी गर्नेछौँ । हामी सुन्दर र आक्रामक फुटबल खेल्न चाहन्छौँ । आज त्यही गरेका हौँ । पछिल्लो दुई खेलमा बलियो विपक्षीको सामना गर्नुपर्यो । विपक्षीअनुसार कै फुटबल खेल्ने प्रयास गर्यौँ । त्यसकारण आक्रामक खेल्न सकिएन ।”

पाकिस्तानले टिम बनाएर तयारी गर्नका लागि एक महिनाको मात्रै समय पाएको थियो । त्यही एक महिनाको तयारीमा पाकिस्तानले साफमा सहभागिता जनाएको हो । 

तयारीकै क्रममा कतिपय खेलाडी घाइते पनि भए । 

कप्तान मारिया जमिला खान र नादिया खान विदेशमा खेलिरहेका थिए । संघले खेलाडीलाई ट्रायलका आह्वान गरेको थियो । त्यही आह्वानबाट मारिया र नादिया पनि पाकिस्तानको टिममा सामेल भए । उनीहरूको उपस्थितिले टिमलाई थप मजबुद बनायो । 

२१ वर्षीया फरवार्ड नादिया खानले त माल्दिभ्सविरुद्ध ४ गोल गरिन् । उनका लागि नेपाल भ्रमण अविस्मरणीय रह्यो ।

“आफ्नो प्रदर्शन र पूरै टिमप्रति गर्व महसुस गरिरहेको छु,” माल्दिभ्सविरुद्ध ४ गोल गरेपछि नादिया खानले भनिन्, “यो प्रतियोगितामा हामीले एक भएर खेल्यौँ । बेन्चमा रहेका खेलाडी पनि मैदानमा भएका जस्तै महत्त्वपूर्ण थिए । त्यसकारण पनि गोलपछि मैले बेन्चमा गएर खुसीयाली मनाएको हो ।”

नादियाकै भनाइबाट उनीहरू कति प्रतिबद्ध छन् भन्ने पुष्टि हुन्छ । 

झन्डै एक दशकको प्रतिबन्धले पाकिस्तानलाई राम्रै पाठ सिकाएको छ । त्यसैले त त्यहाँको फुटबल संघले भनेको छ– पाकिस्तानमा फुटबलको ‘रिलन्च’ गरेका छौँ ।

पाकिस्तानका लागि काठमाडौं भ्रमण धेरै अर्थमा नयाँ रह्यो । नयाँ यात्राको थालनी गरेको पाकिस्तानलाई काठमाडौंमा भोगेका, देखेका सबै कुरा राम्रो सिकाइ भएका छन् । 

“साफ च्याम्पियनसिप हाम्रा लागि एउटा प्रक्रिया हो । पाकिस्तानी महिला फुटबललाई कसरी अघि बढाउने भन्नका लागि गतिलो पाठ हो,” पाकिस्तानका प्रशिक्षक रिज्कीले साफको अनुभव सुनाए, “अब हामीलाई थाहा भएको छ, हाम्रो र दक्षिण एसियाका अन्य टिमको स्तर कस्तो छ भनेर । साफको अनुभवपछि हामी कसरी अघि बढ्ने भन्ने कुरामा एकहदसम्म प्रष्ट भएका छौँ ।” 

बाहिरबाट हेर्दा पाकिस्तान क्रिकेटमय देश हो । विश्व क्रिकेटमा पनि पाकिस्तानको बलियो उपस्थिति छ । क्रिकेटको सर्वोच्च निकाय आईसीसीले आयोजना गर्ने एकदिवसीय र ट्वान्टी–२० दुवै स्वरूपको विश्वकपमा पाकिस्तानले उपाधि उचालिसकेको छ । त्यसकारण पाकिस्तानमा क्रिकेट प्रमुख खेल हो । तर, क्रिकेट जत्तिकै फुटबल पनि पाकिस्तानमा लोकप्रिय छ । यो कुरा कमैलाई मात्र थाहा छ ।

“क्रिकेट प्राथमिक खेल भए पनि फुटबलको असाध्यै क्रेज छ । मैले ग्रासरुट फुटबलमा लामो समय काम गरेकाले यो दाबी गर्न सक्छु । देशभर फुटबल खेलिन्छ । गल्ली गल्लीदेखि सहरसम्म सबैतिर निरन्तर फुटबल प्रतियोगिता आयोजना हुन्छन् । ससाना प्रतियोगिता त वर्षभर नै हुन्छन्,” रिज्कीले पाकिस्तानमा फुटबलको लोकप्रियताबारे सुनाए, “यो लाकप्रियतालाई कसरी सदुपयोग गर्ने र भइरहेका गतिविधिलाई कसरी व्यवस्थित तथा संस्थागत गर्ने भन्नेबारे सोच्न जरुरी छ । हामी क्रिकेटलाई माया गर्छौं । सँगै क्रिकेटको जत्तिकै ठूलो जनसंख्याले फुटबललाई पनि उत्तिकै माया गर्छन् ।” 

फुटबलको त्यही क्रेजले रिज्कीलाई पाकिस्तान फर्काएको हो । नभए उनी स्पेनका काम गरिरहेका हुन्थे । क्यानडाको बार्सिलोना एकेडेमीमा काम गरेका रिज्कीले प्रशिक्षणमा जर्मनीबाट यूईएफए ‘बी’ लाइसेन्स गरेका छन् । उनले इङ्ग्ल्यान्ड, अमेरिका र क्यानडामा प्रशिक्षण कोर्स गरेका छन् । रिज्कीसँग स्पेनमा स्थानीय क्लबमा काम गरेको अनुभव छ । उनी गतवर्ष मात्र पाकिस्तान फर्किएका हुन् । 

“फर्कनुको मुख्य कारण चाहिँ देशप्रतिको माया नै हो । पाकिस्तानी फुटबललाई सहयोग गर्न चाहेर पनि हो,” रिज्कीले विवादका कारण फुटबलमा ठूलो उचारचढाव भागेको पाकिस्तान फर्किनुको कारण खुलाए, “फुटबल मेरो बाल्यकालको हिस्सा थियो । पछि करिअर नै फुटबल बन्यो । फुटबलबाहेक अरु केही गर्न आउँदैन । मसँग अरु डिग्री नभएका होइनन् । तर, फुटबलबाहेक म अरु केही पनि सोच्न सक्दिनँ ।”

रिज्कीले सन् १९९६ बाट पाकिस्तानी लिग खेल्न सुरु गरेका थिए । चोटका कारण लामो समय खेल्न नपाएको रिज्की बताउँछन् । त्यसकारण उनी सानै उमेरमा प्रशिक्षणमा होमिए । सन् २००० बाट प्रशिक्षण सुरु गरेका रिज्कीले १५ वर्ष कराँची युनाइटेडमा बिताए । त्यसपछि क्यानडातिर लागेका हुन् । 

उनै अनुभवी प्रशिक्षक रिज्कीले कुराकानीलाई बिट मार्ने क्रममा भने, “काठमाडौंको अनुभव असाध्यै रमाइलो रह्यो । नेपालले मज्जासँग प्रतियोगिता आयोजना गरेको छ । यहाँबाट धेरै कुरा सिकेका छौँ । प्रतियोगिता कसरी आयोजना गर्ने भन्ने कुरा जान्ने मौका पाएका छौँ । प्रतियोगिताकै सबैभन्दा कान्छो टिम हो, हामी । त्यसकारण सबै टिमबाट धेरै सिक्न पायौँ । आशा छ, यहाँबाट नयाँ यात्राको थालनी सुखद हुनेछ ।” 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro