काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तत्कालीन नेकपामा रहँदा आफूलाई नै भष्म पार्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
बिहीबार पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डलाई आफूले पार्टी एकता गर्न बलियो साथ र समर्थन दिएपनि आफूलाई छुरी रोपेको आरोप लगाए । उनले पार्टी एकता गरी वामपन्थी बलियो बनाउन आफ्नै छेउमा अध्यक्ष बनाएर राख्दापनि साधारण सदस्यबाट नै हटाएको बताए ।
"प्रचण्डको एउटा भिडियो हेर्नुभयो होला नि मैले त केपी ओलीलाई सदस्यबाट पनि निकालेको थिएँ । निकालेकै हो । मैले प्रचण्डलाई आउनुस् मित्र एकीकृत पार्टी बनाऔँ, बलियो वामपन्थी आन्दोलन बनाऔँ, बलियो कम्युनिस्ट पार्टी बनाऔँ, समाजवादतर्फ अघि बढाऔँ, एकतावद्ध भएर अघि बढाऔँ भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ । प्रचण्डलाई मैले मानसम्मानपूर्व मेरो सिटको छेउमा राखेको थिएँ । एकतावद्ध भएर जाऔँ भनेको थिएँ । मैले अँगालो हालेको थिएँ प्रचण्डलाई हात मिलाएको मात्रै होइन, तर प्रचण्डले हात लुकाइलुकाइ हिँड्थे । म अलि होसियार त थिएँ, नभन्दै मैले अँगालो मार्ने प्रचण्डले ग्वाम्म छुरी रोपे," ओलीले भने ।
उनले गठबन्धन देशलाई सिध्याउन लागेको आरोप लगाए ।
"हरेक दिन बसेका छन्, गठबन्धन, गठबन्धन, गठबन्धन । नेपाली जनतालाई सुन्न मन नलाग्ने भइसक्यो । बिहानै गबठन्धन, दिउँसो गबठन्धन, देश बिगार्ने गठबन्धन, लोकतन्त्र सिध्याउने गबठन्धन, भ्रष्टाचारलाई गर्ने र प्रश्रय दिने गठबन्धन, नातावादी गठबन्धन, आफन्तवादी गठबन्धन, परिवारवादी गठबन्धन, आफ्ना स्वार्थमा कुदेको गबठन्धन । यो गठबन्धन यति कमजोर छ, एमालेतिर गठबन्धनको कुनै हस्ती हुँ भन्नेहरू एमालेसँग लड्ने आँट गर्छ ?," उनले भने ।