विराटनगर । प्रदेश नम्बर–१ का विभिन्न जिल्लामा डेंगी संक्रमण बढ्न थालेको छ । तराईका जिल्लाहरूमा डेंगी रोगका संक्रमित फेलापर्ने क्रम बढेको हो ।
सुनसरीका इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, इनरुवा नगरपालिका र बराहक्षेत्र नगरपालिकामा डेंगीका संक्रमित थपिने क्रम बढ्दै गएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईं अघिल्ला वर्षहरूमा झैँ धरानमा डेंगीको संक्रमण तीव्र गतिमा फैलन सक्ने देखिएको बताउँछन् ।
मोरङको विराटनगरमा समेत डेंगीका बिरामी भेटिन थालेका छन् । केही हप्ताअघिसम्म काठमाडौंबाट आएका मानिसमा डेंगी पुष्टि हुने गरेकामा अहिले स्थानीय पनि संक्रमित भएका पाइएको छ । विराटनगर महानगरपालिकाका अनुसार लामखुट्टे र कीटजन्य रोगको संक्रमण देखिएसँगै औषधि छर्ने काम सुरु गरिएको छ ।
महानगरको सहरी स्वास्थ्य महाशाखाले विराटनगर समेत डेंगीको जोखिममा रहेकाले सावधानी अपनाउन महानगरवासीलाई आग्रह गरेको छ । महाशाखाका प्रमुख डा. विशालकुमार देवले वर्षाको समयमा डेंगीको संक्रमण तीव्र गतिमा फैलन थालेकाले सावधानी अपनाउन महानगरवासीलाई अपिल गरिएको जनाएका छन् ।
“पानी नजमाउन र भाँडाहरूमा पानी संरक्षित गरेर नराख्न महानगरवासीलाई सूचित गरेका छौँ । परिस्थिति अनि संक्रमणको अवस्था हेरेर थप कदम चाल्ने योजना छ,” उनले भने ।
प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुर र झापासहित केही पहाडी जिल्लाहरू समेत डेंगीको उच्च जोखिममा छन् ।