site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खेल नै नहुने नवौँ राष्ट्रिय खेलकुद 
SkywellSkywell

काठमाडौं । पटक पटक मिति सारिएको नवौँ राष्ट्रिय खेलकुदकाे क्रिकेट अहिले काठमाडौंमा भइरहेको छ । हुन त नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका मुख्य मिति असोज २८ देखि कार्तिक ३ गतेसम्म हो । र, स्थान हो– पोखरा । तर, राखेपकै भनाइ सापटी लिने हो भने ‘क्रिकेटको अन्तर्राष्ट्रिय खेल तालिकासँग नबाझिने गरी’ गर्नुपर्ने भएकाले क्रिकेट भदौ २३ गतेदेखि काठमाडौंमा गरिएको हो । 

भदौ ३१ गतेसम्म हुने प्रतियोगिता काठमाडौंमा मुलपानी र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेका छन् । तर, दुःखद पक्ष भने खेल नभएर नवौँ राष्ट्रिय खेलकुदको क्रिकेट प्रतियोगिता समाप्त हुने तरखरमा छ । अझ रोचक पक्ष त बागमती प्रदेश एउटा पनि खेल नखेलेरै मंगलबार प्रतियोगिताबाट बाहिरिएको छ । 

KFC Island Ad
NIC Asia

प्रतियोगितामा बागमती प्रदेशलाई उपाधि दाबेदारका रुपमा हेरिएको थियो । तर, वर्षाले खेल सम्भव नहुँदा बागमतीले चार खेलमा अंक बाँढ्यो । समूह ‘बी’मा रहेको बागमतीले अब पाँच अंक जोडेर शीर्ष स्थानमा रहेको एनआरएनए स्पोर्ट्स एकेडेमीलाई भेट्टाउन सक्दैन । 

समूह ‘बी’मा एनआरएनए, बागमती, सुदूरपश्चिम, प्रदेश–१, सशस्त्र प्रहरी बल (एपीएफ) छन् । समूहमा एक खेल जितेको सुदूरपश्चिम तीन अंकसहित तेस्रो स्थानमा छ । प्रदेश–१ चौथो स्थानमा छ । एपीएफ २ अंक जोडेर पाँचौँ स्थानमा छ ।

Royal Enfield Island Ad

सुदूरपश्चिम र एपीएफले समान तीन खेल खेलेका छन् । आज यी दुई टिमबीचको खेलपछि सेमिफाइनल पुग्ने अर्को टिमको टुंगो लाग्नेछ । जित्ने टिम र शीर्ष स्थानमा रहेको एनआरएनए सेमिइनलमा पुग्नेछन् । खेल रद्द भएको अवस्थामा सुदूरपश्चिम र एनआरएनएले अन्तिम चारमा स्थान पक्का गर्नेछन् । त्यसकारण बागमती प्रदेश बाहिरिएको हो ।

बागमती मात्र होइन, प्रतियोगितामा अहिलेसम्म भएका २१ मध्ये १४ खेल हुन सकेको छैन । एक खेल नतिजाविहीन बनेको छ भने ६ खेलमा मात्र नतिजा आएको छ । आजको बाँकी दुई खेलपछि प्रतियोगितामा समूह चरणका दुई खेल बाँकी छन् । त्यसपछि सेमिफाइनलका दुई खेल, तेस्रो स्थान र फाइनल गरी आठ खेल बाँकी छन् । बाँकी खेल पनि सबै हुन्छ भन्ने पक्का छैन । 

त्यसैले बागमती प्रदेशका सदस्यसचिव सूर्य भण्डारीले असन्तुष्टि व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘‘क्रिकेटको विषयमा केही पुनर्विचार गर्नुपर्नेछ । हामी नखेली नतिजा घोषणा नगर्न सुझाव दिन्छौँ । या त हामी सबै खेल खेल्न सक्षम हुनुपर्छ । वा खेल अर्को मितिमा पुनः तालिका हुनुपर्छ ।’’

वर्षाका कारण मुलपानीमा हुने भनिएका कुनै खेल सम्भव भएको छैन । कीर्तिपुरस्थित त्रिवि मैदानमा पनि पाँच खेल सम्भव भएको छैन । खेल नहुनुको एकमात्र कारण हो, वर्षा । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई यो समयमा वर्षा हुन्छ भन्ने थाहा थियो । नवौँ राष्ट्रिय खेलकुद नेपालीहरूको महान चाड दसैँ लगत्तै छ । त्यसकारण खेलको मितिलाई नै लिएर धेरै आलोचना भएको छ । राखेपले कारण दिएको छ, ‘‘मौसम विभागका अनुसार दसैँको घटस्थापनासम्म वर्षा हुने सम्भावना छ । अलि पछाडि भयो भने निर्वाचन छ । त्यसकारण असोज २८ देखि कार्तिक ३ गतेसम्मका लागि मिति तय गरेका हौँ ।’’

यति थाहा हुँदाहुँदै पनि राखेपले क्रिकेट यही मितिमा गर्न सहमत भयो । जबकि, वर्षाका कारण सबैभन्दा असर पर्ने खेल क्रिकेट नै हो । राखेपले क्रिकेटको मिति अगाडि सार्नुको कारण दिएको छ । त्यो हो, माथि उल्लेख गरिए जस्तै ‘‘क्रिकेटको अन्तर्राष्ट्रिय खेल तालिकासँग नबाझिने गरी गर्नु परेका कारण ।’’

यसबीचमा क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता भने छैन, हुने भनिएको प्रतियोगिता हो– क्यान आफैँले आयोजना गर्ने नेपाल ट्वान्टी–२० फ्रेन्चाइज लिग । नेपाल ट्वान्टी–२० लिग असोज ८ गतेदेखि कार्तिक ५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने भनिएको छ । त्यसैकारण क्यानले नवौँ राष्ट्रिय खेलकुदको क्रिकेट प्रतियोगिता अघि सार्ने प्रस्ताव गरेको हो । 

‘‘खास गरी हामीले राष्ट्रिय खेल संघहरूलाई प्रतियोगिता सञ्चालनको जिम्मेवारी दिएका हुन्छौँ । राखेपले आयोजना गर्ने भए पनि तत् तत् खेलका संघहरूले उक्त खेलका सञ्चालन गर्नेछन्,’’ राखेप सदस्यसचिव टंक घिसिङ भन्छन्, ‘‘क्रिकेट खेलको मिति अगाडि सार्ने क्रममा हामीले क्यानले प्रस्ताव गरेको मितिमा सबै सहभागी ११ टिमलाई बेलाएर सोधेका थियौँ । उहाँहरू सबैले भदौमा खेल्न सहमति जनाउनु भयो । उहाँहरूले लिखित खेल्ने भनेर सहमति जनाउनु भएको छ । त्यसकारण यो क्यानले प्रस्ताव गरेको मितिलाई राखेपले सिधै अनुमति दिएको पनि होइन । हामीले सबैसँग गम्भीर रुपमा छलफल गरेर यस समयमा गर्ने निर्णय गरेका हौँ ।’’

बागमती प्रदेशजस्तै अन्य टिमले पनि खेल्दै नखेली प्रतियोगिताबाट बाहिरिने सम्भावना छ । खेल नभएका टिमले अंक बाँडेका छन् । तर, राखेपका सदस्यसचिव घिसिङले भने यस विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 

‘‘यस विषयमा मैले क्यानलाई उहाँहरूको प्राविधिक समितिसँग छलफल गरेर विकल्पमा उपाय खोज्नको लागि भनिसकेको छु । सम्भवत आजै उहाँहरूको बैठक बस्नेछ,” घिसिङले भने, “नवौँ खेलकुद भनेको नयाँ प्रतिभावान खेलाडीहरूको पहिचान गर्ने एक माध्यम पनि हो । यसबाट नयाँ खेलाडीहरू निस्कनुपर्छ भन्ने मेरो मान्यता हो ।’’

प्रतियोगिता अन्तिम चरणमा आइपुग्दा विकल्पका बारेमा छलफल गर्दा कति सम्भव हुन्छ त ? भन्ने बाह्रखरीको प्रश्नमा क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले भने, ‘‘यस विषयमा अहिले केही निर्णय भएको छैन । खेलहरू भइरहेका छन् । आज साँझ सबै टिमहरूसँग छलफल गर्दैछौँ । त्यसपछि हामी के गर्ने भनेर टुंगोमा पुग्नेछौँ ।”

सदस्यसचिवले भने जस्तै राष्ट्रिय खेलकुद प्रतियोगिता भनेको नयाँ प्रतिभा खोज्नकै लागि हो । यसमा कसैको दुई मत छैन । तर, त्यसो हो भने क्रिकेट प्रतियोगिताको मिति किन अगाडि सारिएको त ? गम्भीर प्रश्न यहाँनिर खडा भएको छ । जबकि, नेपाल ट्वान्टी–२० लिगमा नेपालका ६७ खेलाडीले मात्र खेल्छन् । 

६७ खेलाडीबाहेक अन्यले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्दथे । जसबाट नयाँ प्रतिभा पनि आउने सम्भावना हुन्थ्यो । कि त नेपालमा ६७ खेलाडीबाहेक अन्य क्रिकेट खेलाडी नै छैन भन्नुपर्यो, होइन भने नेपाल ट्वान्टी–२० लिग र नवौँ राष्ट्रिय लिग सँगसँगै गर्दा केही फरक पर्दैनथ्यो । तर, यहाँ भनाइ र गराइमा तादम्यता मिलेको देखिएन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro