जनकपुरधाम । नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका सन्तोष यादवले कांग्रेसमा वडादेखि सबै सिट बिक्री हुने गरेको आरोप लगाएका छन् । सोमबार जनकपुरधाममा एमालेको आमसभालाई सम्बोधन गर्दै उनले उक्त आरोप लगाएका हुन् ।
उनी नेपाली कांग्रेसको १४औं महाधिवेशनमा धनुषा सभापति पदमा दोस्रो राउन्डमा पराजित भएका थिए । त्यसअघि जिल्ला सचिव हुँदै उपसभापतिसम्म भएका थिए । उनलाई प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली पनि जनकपुरधाम आएका छन् ।
जनआन्दोलनदेखि कांग्रेसमा दिएको योगदानबारे उल्लेख गर्दै उनले भने, “पैसामा वडादेखि नै पार्टीको टिकट बिक्री हुने गरेको छ । यो गठबन्धन होइन राष्ट्रको लागि ठगबन्धन हो । कांग्रेस झुठाहरुको झुण्ड हो ।”
कांग्रेसले गठबन्धन गरेर सिद्धान्त बिर्सेको यादवको टिप्पणी छ । उनले कांग्रेस नेता विमलेन्द्र निधिलाई लक्षित गर्दै टिकट लिन डराएको बताए । गठबन्धनले देश बन्धक बनाएको उनको दाबी छ ।