काठमाडौं । नेप्से परिसूचक लगातार छैटौं दिन पनि घटेको छ । गत साताको सोमबारदेखि ओरालो लागेको नेप्से परिसूचक आज १३.५४ अंक घटेर बन्द भएको हो । पछिल्लो समय नेप्से परिसूचकसँगै सेयर कारोबार रक पनि घट्दै आएको छ ।
केही दिन अघिसम्म एक अर्बभन्दा बढी रुपैयाँको कारोबार हुने बजारमा अहिले एक अर्बभन्दा कम मूल्यको सेयर कारोबार हुँदै आएको छ । तर, आइतबारको तुलनामा कारोबार रकममा वृद्धि भएको छ । आइतबार ७४ करोड ७२ लाख रुपैयाँको कारोबार भएको थियो । आज कारोबार रकम करिब १० करोड बढेको हो । आज ८३ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
पछिल्लो समय सेयर बजार घट्दै जाँदा लगानीकर्ताहरूले पनि कारोबार कम गर्न थालेकाले कारोबार रकममा कमी आएको कतिपयको बुझाइ छ । कतिपयले दसैँ खर्च जोहो गर्दा पनि बजारमा प्रत्यक्ष असर परेको देखिन्छ ।
आज नेप्से परिसूचक गत कारोबार दिनको तुलनामा ०.७० प्रतिशत घटेर १९१२.७४ विन्दुमा रोकिएको छ । यसैगरी बजार लयमा नर्फिकिए १८५० विन्दुसम्म झर्ने पनि विश्लेषको भनाइ छ । पछिल्लो समय बैंकमा लगानीयोग्य रकमको अभावले पनि बजारलाई प्रत्यक्ष प्रभाव पारेको सेयर विश्लेक बताउँछन् ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । म्युच्अल फण्ड समूहको परिसूचक ०.१२ प्रतिशत वृद्धि भएको छ । सर्वाधिक परिसूचक घट्नेमा ‘अन्य’ समूह रहेको छ । यो समूहको परिसूचक १.७ प्रतिशत घटेको छ ।
आज सर्वाधिक सेयर मूल्य घट्नेमा ‘१०.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट डिभेञ्चर २०८२’ को मूल्य ९.५८ प्रतिशत घटेको छ । यो धितोपत्रको मूल्य प्रतिकित्ता ९५९ रुपैयाँ कायम भएको छ । सर्वाधिक रकमको सेयर कारोबार नबिल बैंकको भएको छ । यो बैंकको ४ करोड ७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको हो ।