जनकपुरधाम । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दलहरूले सम्भावित उमेदवारहरूको नाम सिफारिस गरिसकेका छन् । क्षेत्र, जिल्ला हुँदै प्रदेश समितिमा पुगेका सिफारिसहरू केन्द्रमा पठाउने क्रम जारी छ ।
दलहरूले गरेको सिफारिसअुनसार मधेस प्रदेशमा भने नातावाद र व्यक्तिवाद हाबी भएको देखिन्छ ।
नेकपा (माओवादी केन्द्र)ले महोत्तरीमा निर्वाचन क्षेत्र नम्बर ४ मा एकै परिवारको चारजनाको नाम विभिन्न पदमा उमेदवारको रूपमा सिफारिस गरेको छ । निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभातर्फ रज्जी हैदर र भरतप्रसाद साहको नाम सिफारिस भएको छ । सो निर्वाचन क्षेत्रको समानुपातिकतर्फ पनि रज्जी हैदर र उनको छोरी तलहत तहसिमको नाम पनि सिफारिस भएको छ ।
हैदरको भाइ महफुज आलम सोही निर्वाचन क्षेत्रको ‘ख’ बाट प्रदेशसभामा सिफारिस भएका छन् भने हैदरकी भतिजी फरहिन खातुन पनि ‘ख’ बाट सिफारिस भएकी छन् ।
हैदर यसअघिको निर्वाचनमा पनि प्रतिनिधिसभातर्फ उमेदवार बनेका थिए । उनलाई तत्कालीन संघीय समाजवादी फेरम नेपालका उमेदवार डा. सुरेन्द्र यादवले पराजित गरेका थिए ।
मन्त्रीको नाम सबै क्षेत्रबाट
आइतबार माओवादी केन्द्रका जिल्ला कमिटीले महोत्तरीको चारै निर्वाचन क्षेत्रबाट भरतप्रसाद साहको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभातर्फ सबै निर्वाचन क्षेत्रबाट उनको नाम सिफारिस भएको जिल्ला इन्चार्ज राजु खड्काले जानकारी दिए ।
तर, उनी निर्वाचन क्षेत्र १ बाट चुनावमा भाग लिन इच्छुक छन् । सो क्षेत्रमा उनको गृह घर पनि छ । यसअघि उनी निर्वाचन क्षेत्र १ को ‘ख’बाट प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । साह मधेस प्रदेश सरकारमा गृह तथा सञ्चारमन्त्री हुन् । उनी माओवादी केन्द्रका पोलि ब्युरो सदस्यसमेत छन् ।
सम्धी–सम्धिनी पनि
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई सन्त नेता भन्ने गरिन्छ । तर, उनी पटकपटक पार्टीभित्र नातावाद दृष्टिकोण राख्ने गरेको सुनिन्छ । यसपटक पनि नेता ठाकुरका सम्धी र सम्धिनी उमेदवारको रूपमा सिफारिस भएका छन् ।
दुवैजना प्रतिनिधिसभा निर्वाचनका लागि उमेदवारको रूपमा सिफारिस भएका छन् ।
गएको बुधबार जिल्ला समितिले धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ बाट ठाकुरका सम्धी उमाकान्त झाको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ भने सम्धिनी इन्दिरा झाको नाम प्रतिनिधिसभा सदस्यको लागि समानुपातिकतर्फ सिफारिस भएको छ ।
यी सिफारिस लोसपा प्रदेश समितिले केन्द्रीय समितिमा पठाइसकेको छ ।
उमाकान्त झा प्रदेश ५ का पूर्वप्रदेश प्रमुखसमेत हुन् । खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा उनी ऊर्जामन्त्रीसमेत भएका थिए । त्यसअघि उनी नेपाल सरकारका निजामती कर्मचारी थिए । तत्कालीन तामलोपा प्रवेश गरेर उनले आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए ।