काठमाडौं । निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिएर सहजीकरण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सन्देश पठाएको बताएका छन् ।
उनले संसदीय समितिमा यस्तो बयान दिएका हुन् ।
“राजीनामा दिने हो भने सहजीकरण गर्छौँ, फिर्ता लिन्छौँ । एक डेढ महिना काम गर्न दिन्छौँ, त्यसपछि दीपक कार्कीलाई दिऔँ भनेर सन्देश पठाउनुभएको थियो,” उनले भने ।
सांसदहरुको आग्रहपछि उनले कांग्रेसकी नेतृ डिना उपाध्याय सन्देश लिएर आफ्नो घरमा आएको बताए ।
“कांग्रेसकी डिना उपाध्याय आउनुभएको थियो,” उनले भने, “प्रचण्ड र शेरबहादुरजीसँग सल्लाह गरेर आएको हो । महाभियोग फिर्ता लिन्छौँ मिलाएर राजीनामा दिनुस् भन्नुभयो मेरो घरमै आएर भन्नुभएको छ तर मैले मानिन ।”
उनले आफ्नो महाभियोग पारित हुने अवस्थै नरहेको बताए ।
उनले आफ्नो निलम्बन पनि गैरकानुनी भएको बताए । न्यायापालिकालाई ध्वस्त गर्नका लागि गरिएका क्रियाकलापमात्रै भएको उनको भनाई थियो । उनले आफ्नो महाभियोग नै गैरकानुनी भएको दाबी गरे ।