काठमाडौं । उदीयमान बक्सर खेलाडी सुष्मा तामाङलाई शिरिष गुरुङ फाउन्डेसनले सहयोग गर्ने भएको छ । आइतबार एक कार्यक्रमबीच सुष्मा र फाउन्डेसनबीच एक वर्षका लागि सम्झौता भएको छ ।
सम्झौता पत्रमा फाउन्डेसनका तर्फबाट कोषाध्यक्ष सपना गुरुङ र खेलाडी सुष्मा तामाङले हस्ताक्षर गरेका छन् । शिरिष गुरुङ फाउन्डेसन ५ वर्षअघि पौडी खेलाडी शिरिष गुरुङको नाममा स्थापना गरिएको संस्था हो ।
‘खेलाडीका लागि खेलाडी’ नारा दिइएको फाउन्डेसन खेलाडीहरूलाई हौसला र प्रेरणा प्रदान गर्न सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको हो ।
सम्झौताअनुसार फाउन्डेसनले सुष्मालाई प्रतियोगितामा सहभागी हुँदा आवश्यक खेलपोशाक उपलब्ध गराउनेछ । उक्त पोशाकमा फाउन्डेसनले तेस्रो पक्षाक लोगो भएको पोशाकसमेत उपलब्ध गराउन सक्नेछ ।
त्यस्तै प्रशिक्षण तथा प्रतियोगिताको दौरान घाइते भएको अवश्थामा अन्य तेस्रो पक्ष वा अस्पतालसँग सम्झौता गरी उपचारको व्यवस्था गर्नेछ ।
साथै खेलाडीको हौसला प्रदान गर्नका लागि मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउनेछ । त्यस्तै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा आवश्यक खेल सामग्री उपलब्ध गराउनेछ । सुष्माले प्रतियोगितामा सहभागी हुँदा निर्दिष्ट पोशाक मात्र (राष्ट्रिय खेलकुद र अन्तराष्ट्रिय प्रतियोगितामाबाहेक) प्रयोग गर्नुपर्नेछ । फाउन्डेसनले खेलाडीले उत्कृष्ट प्रदर्शन गरेमा विशेष पुरस्कारको समेत व्यवस्था गर्नेछ । खेलाडीले खेलकुदको मर्यादा तथा अनुशासनको पालना गर्नुपर्नेछ । अन्यथा सम्झौता भंग हुने छ । दुई पक्षबीच आपसी समझदारीमा सम्झौता थप लम्बाउन सकिनेछ ।
सम्झौतापछि सुष्माले यस्तो खालको सहयोगले खेलाडीहरूको मनोबल बढ्नुका साथै खेलको स्तर वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
यसअघि फाउन्डेसनले यसअघि साग स्वर्ण पदक जित्न सफल उसुकी खेलाडी निमा तामाङलाई पनि सहयोग गरेको थियो ।