भारत (नयाँ दिल्ली) । भारतको प्रमुख विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले बुधबारदेखि मुलुकभर ‘लङ्ग मार्च’को सुरु गरेका छन् ।
भारतलाई एकताबद्ध गर्ने सन्देश लिएर उनले १२ वटा राज्यमा लामो पदयात्राको थालनी गरेका हुन् ।
‘युनाइट इन्डिया’ सन्देश बोकेको यस यात्रामा राहुल गान्धीलाई कांग्रेस पार्टीका एक सयजना भन्दा बढी सदस्यले साथ दिइरहेका छन् ।
पाँच महिना लामो यस यात्रामा ३ हजार ५ सय ७० किमी दुरीको पदयात्रा सम्पन्न हुने बताइएको छ । यस अवधिमा गान्धीले दिउँसो मानिसहरूसँग भेटघाट गर्ने र राति खुला आकाशमुनि बनाइएका अस्थायी शिविरमा सुत्ने कार्यक्रम रहेको छ ।
यस पदयात्रालाई एउटा वेबसाइटमा लाइभस्ट्रिम गरिने छ भने यसको सन्देश प्रवाहका लागि गीतहरू बजाइनेछन् ।
भारत जोडो यात्रा (युनाइट इन्डिया मार्च) सत्तारुढ भारतीय जनता पार्टीका प्रधानमन्त्री नरेन्द्र मोदीमाथि लक्षित राजनीतिक अभियान हो ।
कांग्रेसका वरिष्ठ नेता शशि थरुरले भनेका छन्, “हामी धेरै तरिकाले संविधानमा रक्षित भारतको ढाँचालाई प्रतिरक्षा गर्न अस्तित्वको संघर्षमा व्यस्त रहेका छौँ । यस लामो पदयात्राको सन्देश हामी भारतलाई जोड्न र सत्तारूढ पार्र्टीले प्रायः दिँदै गरेका धर्म, जात र भाषाको आधारमा भारतलाई विभाजित हुनबाट रोक्न सक्ने पार्टी हौँ भन्ने हो ।”
सन् १९३० मा तत्कालीन ब्रिटिस सरकारको विरोधमा महात्मा गान्धीले गुजरातको पश्चिमी किनारमा गरेको ३ सय ८० किलोमिटर लामो पदयात्रा भारतको अहिलेसम्मकै सबैभन्दा ऐतिहासिक पदयात्रा मानिन्छ ।
यसैगरी सन् १९८३ मा जनता पार्टीका अध्यक्ष चन्द्र शेखरले छ महिना लामो भारतभरिको पदयात्रामा सहभागिता जनाएका थिए ।
बीबीसीबाट ।