पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले मंगलबारदेखि क्षेत्रगत रूपमा उमेदवार सिफारिस सुरु गरेको छ ।
मंगलबार प्रतिनिधि सभाको क्षेत्र नं. १ र प्रदेशतर्फ ‘क’ र ‘ख’ का उमेदवार सिफारिस गरेको राप्रपाले बुधबार क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा उमेदवार सिफारिस गरेको छ ।
बुधबार राप्रपाले कास्की २ ‘ख’ मा युवानेता अरुण गिरीलाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ । गिरी राप्रपा कास्कीका प्रवक्ता समेत हुन् । उनी प्रतिनिधि सभाको लागि पनि सिफारिस भएका छन् ।
पार्टीले बुधबार कास्की क्षेत्र नम्बर २ बाट मंसिर ४ गते हुन लागेको आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ १५ जनाको नाम सिफारिस गरेको हो ।
कास्की क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ प्रतिनिधि सभाका लागि राप्रपाका केन्द्रीय उपाध्यक्ष समेत रहेका हेमजंग गुरुङ, कास्की जिल्ला प्रवक्ता अरुण गिरी र जिल्ला सहसचिव सुवर्णराज पन्त सिफारिस भएका छन् । केन्द्रीय उपाध्यक्ष गुरुङको नाम क्षेत्र नम्बर १ बाट समेत सिफारिस भएको छ ।
त्यस्तै, प्रत्यक्षतर्फ प्रदेश ‘क’ मा राप्रपाका प्रदेश अध्यक्ष समेत रहेका पञ्चराम गुरुङ, जिल्ला उपाध्यक्ष ईश्वरी चापागाई र जिल्ला सचिव भानु भण्डारी क्षितिजको नाम सिफारिस भएको छ । प्रदेश ‘ख’ तर्फ भने कास्की जिल्ला प्रवक्ता अरुण गिरीको नाम एकल सिफारिस भएको छ ।
समानुपातिकतर्फ प्रतिनिधि सभामा रोमबहादुर भण्डारी, विष्णुकुमारी गुरुङ, जयलाल पुन, शंकर खराल, हरिप्रसाद बराल र पार्वता पौडेलको नाम सिफारिस भएको प्रवक्ता गिरीले जानकारी दिए ।
प्रदेशतर्फ समानुपातिकमा शिवप्रसाद चालिसे, मदन परियार, चित्रबहादुर भण्डारी, सिता खड्का, मादाप्रसाद जैसी, विष्णु खड्का कार्की, सूर्य पुन, रञ्जना सेन पौडेल र शंकर खरालको नाम सिफारिस भएको छ ।
यस्तै, मंगलबार राप्रपाले कास्की १ का उमेदवार सिफारिस गरेको थियो ।
प्रतिनिधि सभा १ मा केन्द्रिय उपाध्यक्ष हेमजंग गुरुङले आकांक्षा देखाएका छन् । प्रतिनिधि सभामा आकांक्षा राख्नेमा गुरुङसहित देवहादुर गुरुङ, बाबुराम थापा, कृष्णप्रसाद रेग्मी र शालिकराम घिमिरे छन् । राप्रपा केन्द्रीय उपाध्यक्ष समेत रहेका हेमजंग लमजुंग स्थायी घर भएका नेता भएपनि कास्की १ बाट सिफारिस भएका हुन् ।
प्रदेश क मा सन्तोष घिमिरे, प्रकाश सापकोटा, हरिबहादुर घर्ती क्षेत्री, हरिप्रसाद धमला र रमेशराज पौडेलको नाम सिफारिस भएको छ । प्रदेश ख मा सूर्यबहादुर गुरुङ, सन्दीप कुँवर र सचिन थापाको नाम सिफारिस भएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।
आगामी मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको लागि राप्रपाले प्रत्यक्षमा १३ र समानुपातिकमा १० जनाको नाम सिफारिस गरेको हो ।
प्रतिनिधि सभा समानुपातिकतर्फ भीमसेन गुरुङ र बलराम तिवारीको नाम सिफारिस भएको छ । प्रदेशतर्फ भने राप्रपाका कास्की जिल्ला अध्यक्ष समेत रहेका नारायण गुरुङ, सहिद क्षेत्रबहादुर केसीकी पत्नी सुनिता केसी, विष्णुप्रसाद पोखरेल, नारायणप्रसाद सुवेदी, झविन्द्रराज आचार्य, अमृतबहादुर कार्की, गीता गुरुङ र लिलामोहन कुइँकेलको नाम सिफारिस भएको हो ।