गाजा । इजरायलसँग मिलेमतो गरेको अभियोगमा गाजा क्षेत्रमा दुईजना प्यालेस्टिनी पुरुषलाई मृत्युदण्ड दिइएको छ ।
हमास सरकारको आन्तरिक मामिला मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ती पुरुषलाई मृत्युदण्ड दिएको जानकारी दिएको हो ।
उनीहरूको उमेरमात्र खुलाइएको छ । उनीहरूले इजरायललाई गोप्य सूचना दिने गरेका कारण प्यालेस्टिनीहरूको ज्यान गएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उनीहरूसँगै हत्याको आरोपमा दोषी ठहराइएका अरु तीनजना पुरुषलाई पनि मृत्युदण्ड दिइएको छ । गाजा क्षेत्रमा शासन चलाउँदै आएको इस्लामिक लडाकु समूह हमासद्वारा यसरी मृत्युदण्ड दिने कार्यलाई मानव अधिकारवादी समूहहरूले पहिले देखिनै कडा आलोचना गर्दै आएका छन् ।
सन् २००७ मा गाजा क्षेत्र नियन्त्रण लिएयता हमासले कम्तीमा २७ जनालाई मृत्युदण्ड दिइसकेको छ । यसअघि पछिल्लो पटक सन् २०१७ को अप्रिलमा मृत्युदण्ड दिइएको थियो ।
इजरायलका लागि जासुसी गरेको आरोप लगाइएका यी दुई प्यालेस्टिनीलाई २००९ र २०१५ मा पक्राउ गरिएको थियो ।
बीबीसीबाट ।