काठमाडौं । नेपाली कांग्रेसले चुनावी तालमेलमा असहमति भए केन्द्रीय समितिको बैठकमा राख्न नेताहरूलाई निर्देशन दिएको छ । आज सञ्चारकर्मीसँको कुराकानीमा कांग्रेस प्रवक्ता प्रकाशशरण महतले गठबन्धनबारे बाहिर फरक मत राख्दा मतदाताहरू द्विविधामा पर्ने भएकाले पार्टीका बैठकमा राख्न निर्देशन दिएका हुन् ।
उनले गठबन्धन पार्टीकै सहमति र निर्णयबाट भएको स्पष्ट पारे ।
प्रवक्ता महतले गठबन्धनमा राम्रो परिणाम ल्याउनेगरी भागबन्डा हुनुपर्ने पनि बताए । "धेरै ठाउँमा उमेदवारी दिने भन्दा पनि धेरै सिट जित्ने कुरा महत्त्वपूर्ण हो, गठबन्धका पार्टीहरूले रियालिस्टिक धरातलमा उभिनु पर्दछ । यो भावनात्मक कुरा मात्र होइन रणनीतिक कुरा पनि हो । हामीले पनि यति नै नभई हुँदैन भन्ने कुरा हुँदैन । अन्य दलले पनि ग्राउन्ड रियालिटी हेरेर सिट माग राख्नुपर्छ । अस्वाभाविक भाग खोज्ने र लिने अवस्था गर्दा भोट पाउन सजिलो रहँदैन," उनले भने ।
उनले अन्य दललाई पनि गठबन्धनमा ल्याउनेबारे पनि छलफल भइरहेको जानकारी दिए । "बाबुराम र वामदेवजीको कुरा पनि गठबन्धनमै सहमति भएको छ । आवश्यकताका अनुसार बाँडफाटको निर्णय हुन्छ । त्यस्तै लोसपाले पनि इच्छा देखाएका छ । तर, यहि हुन्छ भन्ने टुङ्गो छैन," उनले भने ।
डडेल्धुरासहितका जिल्लामा गठबन्धन हुने नहुनेबारे जिल्लाका नेताहरूमा भर पर्ने महतको भनाइ छ । "त्यो कुरा सभापति देउवाको कुरा होइन तर कुनै ठाउँमा जित्ने बलियो छ भने हामीले गुमाउनु हुँदैन भन्ने कुरा पनि ठिक हो," उनले भने ।
एमालेले गठबन्धनलाई लिएर उठाइरेहको प्रसंगमा प्रवक्ता महतले माओवादी केन्द्रसँग आफूहरूबीच स्वाभाविक गठबन्धन भएको बताए । 'माओवादी र कांग्रेसको विचार अलग हुँदा किन गठबन्धन' भन्ने एमाले नेताहरूको प्रश्नमा उनले एमाले र माओवादीबीच गठबन्धन हुँदा स्वभाविक हुने कांग्रेससँग हुँदा कसरी अलोकतान्त्रिक हुने भन्दै प्रतिप्रश्न गरे ।
साथै उनले एमाले अध्यक्ष केपी शर्मा ओली गठबन्धन भत्काउने प्रयासमा लागेको पनि आरोप लगाए । “कांग्रेसले गठबन्धन नगरोस्, एमालेसँग हुन्छ भन्दै ओलीजी लागि राख्नुभएको छ," उनले भने ।