काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान लिने क्रम अकस्मात् रूपमा रोकिएको छ ।
बुधबारदेखि बैठकमा लगातार सुनुवाइ गरेर पाँच दिनमा बयान सकाउने तयारी थियो । त्यसपछि आवश्यक अध्ययन–अनुसन्धानसहित प्रतिवेदन बुझाउने भनिएको थियो ।
तर, बिहीबारको बैठकमा जम्मा दुईवटा प्रश्न सोधेर यही भदौ १९ गते ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।
नेपाली कांग्रेसका सचेतक समेत रहेका समिति सदस्य मीन विश्वकर्माका अनुसार पूर्वतयारीअनुसार नै यस्तो गरिएको हो । उनका अनुसार नेकपा (एमाले)का नेताहरु विष्णु पौडेल र कृष्णभक्त पोखरेले उपत्यकाबाहिर जाने कार्यक्रम थियो । त्यसैले आजको सुनुवाइ दिउँसो १ बजेसम्म मात्र गर्ने समझदारी थियो ।
“उहाँहरू भ्यालीबाहिर जाने भएकाले आज १ बजेसम्म मात्र सुनुवाइ हुने समझदारी नै थियो,” विश्वकर्माले बाह्रखरीसँग भने, “भोलि संसद् बैठक भयो । पर्सि शनिबार भयो । एक दिन हामीलाई अध्ययन गर्ने समय पनि होस् भनेर १९ गतेका लागि राखिएको हो ।”
गएको फागुन १ गते जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएसँगै उनको पद निलम्बनमा परेको छ ।