
काठमाडौं । नेपालको संविधानले नेपालको राज्य सञ्चालन संघीय प्रणालीमा हुने व्यवस्था गरेको छ । नेपालमा एकसाथ ७६१ सरकार सञ्चालन भइरहेका छन् । संघ, प्रदेश र स्थानीय सरकारको अधिकार संविधानले नै किटान गरेको छ ।
तर, संविधानले बनाएको नयाँ संरचना प्रदेशप्रतिको आकर्षण भने घट्दो देखिन्छ ।
संविधान जारी भएपछि संघीय संचानाअनुरूप तीन तहका सरकारका लागि पहिलोपटक २०७४ सालमा निर्वाचन भएको थियो । स्थानीय तहप्रतिको आकर्षण भने एकदमै बढ्दो क्रममा छ । यसको उदाहरण गत वैशाख ३० मा भएको निर्वाचनमा प्रदेशका मन्त्रीदेखि संघीय सांसदसमेतले देखाएको आकांक्षालाई नै लिन सकिन्छ । तर, पहिलोपटक भएको प्रदेश संचनामा सुरुमा देखिएको आकर्षण कायम रहन सकेको छैन ।
०७४ सालको निर्वाचनबाट प्रदेश १, वाग्मती, लुम्बिनीमा एमालेको सरकार तथा कर्णाली र सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा सरकार बनेको थियो । मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) र तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)को सरकार बनेको थियो । कांग्रेससहित सबै प्रदेशमा प्रतिपक्षको भूमिकामा पुगेको थियो ।
त्यतिबेला नेकपा (एमाले), माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा वाम गठबन्धन बनाएर चुनावमा होमिएका थिए ।
कांग्रेसले कतै राप्रपासँग त कतै अन्य साना समूहलाई साथमा लिएर चुनावमा गएको थियो ।
त्यतिबेला वाम गठबन्धन र कांग्रेसबाट प्रभावशाली भनिने नेताहरू प्रदेशमा लडेका थिए । जसमा कांग्रेसका धेरै प्रभावशाली मानिने नेताहरू पराजित भएका थिए । सुरुमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र त्यसपछि एमाले विभाजन भएपछि कांग्रेसबाट प्रदेशसभा निर्वाचन जितेकामध्ये केही सांसदले मन्त्री बन्ने अवसर मात्र पाएन् गण्डकी र कर्णालीमा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाएको छ ।
०७४ सालमा प्रदेशसभा निर्वाचन लडेका कांग्रेसका धेरै नेता ०७९ मा आइपुग्दा प्रदेशमा लड्न तयार छैनन् । १४औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय समितिमा पुगेका नेताहरूले आगामी मंसिर ४ को निर्वाचनमा संघबाट लड्ने तयारीमा छन् । ०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचन लडेका कांग्रेसका नेताहरू आसन्न चुनावमा कहाँ लड्ने तयारीमा छन् त ?
जीवन परियार
०७४ सालमा गण्डकी प्रदेशसभा सदस्य निर्वाचन लडेका कांग्रेस नेता जीवन परियार यसपटक संघीय निर्वाचनको तयारीमा छन् । विगतमा केन्द्रीय सदस्यको हैसियतमा रहेका परियार १४औँ महाधिवशेनबाट सहमहामन्त्री भएका छन् ।
परियारको निर्वाचन क्षेत्र कास्की क्षेत्र नम्बर १ हो । २०७४ सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर–१ ‘क’ बाट प्रदेश सभा सदस्य निर्वाचन लडेका परियार देशभरबाट प्रदेशसभामा प्रत्यक्ष चुनाव लड्ने एक्लो दलित उमेदवार थिए ।
त्यतिबेला उनी वाम गठबन्धनका उमेदवार माओवादी केन्द्रका दीपक कोइरालासँग पराजित भएका थिए । कोइरालाले १८ हजार ७२७ मत ल्याउँदा परियारले १५ हजार ८१ मत ल्याएको निर्वाचन आयोगको तथ्यांकमा छ ।
पाँच वर्षपछि सहमहामन्त्री परियार प्रदेशसभामा उमेदवारी दिने मनस्थितिमा छैनन् । उनी प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कास्की निर्वाचन क्षेत्र नम्बर–१ बाट चुनाव लड्ने तयारीमा छन् । अघिल्लोपटक यो निर्वाचन क्षेत्रबाट यज्ञबहादुर थापा चुनाव लडेका थिए । उनी एमाले नेता खगराज अधिकारीसँग पराजीत भएका थिए ।
उनी यसपटक आफूले प्रतिनिधिसभाको टिकट पाउनेमा उनी विश्वस्त छन् । आफैँ टिकट बाड्ने संसदीय बोर्डमा रहने उनी पार्टीभित्र संस्थापन इतरसमूहका नेता तथा शेखर कोइरालाका विश्वासपात्र मानिन्छन् ।
“०७४ मा पनि प्रतिनिधिसभामै मेरो नाम सिफारिस भएको थियो । तर, मैले टिकट पाइनँ । यज्ञबहादुर थापा तत्कालीन अवस्थामा सांसद र मन्त्रीसमेत हुनुहुन्थ्यो । उहाँ मेरो सिनियर पनि हुनुहुन्छ, त्यसकारण मैले टिकट छाडेँ र प्रदेशमा लडेँ,” सहमहामन्त्री परियारले बाह्रखरीसँग भने, “तर, अहिले अवस्था परिवर्तन भएको छ । त्यतिबेला म केन्द्रीय सदस्य थिएँ । अहिले मेरो जिम्मेवारी र भूमिका पनि थप भएको छ । त्यसकारण म प्रतिनिधिसभा निर्वाचनका लागि स्वाभाविक उमेदवार हो ।”
पोखराको पीएन क्याम्पसबाट नेविसंघको राजनीतिमा जोडिएका परियार नेपाल दलित संघको महासचिव हुँदै पार्टीको केन्द्रीय राजनीतिमा छन् । कानुनका विद्यार्थी परियार १२औँ महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए । १४औँ महाधिवशेनबाट उनी सहमहामन्त्री भएका हुन् ।
कृष्णचन्द्र नेपाली (पोखरेल)
गण्डकीका मुख्यमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली पोखरेलको निर्वाचन क्षेत्र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा पर्छ । उनी ०७४ सालको निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्यका लागि चुनाव लडेका थिए । दुई निर्वाचन क्षेत्र भएको जिल्लामा उनी क्षेत्र नम्बर १ ‘क’ मा निर्वाचन लडे र विजयी भए ।
पोखरेलले गएको निर्वाचनमा वाम गठबन्धनको तर्फबाट नेकपा(माओवादी केन्द्र) का उमेदवार सूर्यप्रसाद न्यौपानेलाई पराजित गरेका थिए । न्यौपानेले १७ हजार ३११ मत ल्याउँदा पोखरेलले १७ हजार ६३८ मत ल्याएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक संसद् विघटन गरे । तर, सर्वोच्च अदालतले संसद् पुन:स्थापना गरेपछि सिर्जना भएको राजनीतिक घटनाक्रमले पोखरेललाई कांग्रेसका तर्फबाट पहिलो मुख्यमन्त्री बनेर इतिहास रच्ने अवसर दियो । गठबन्धनको नेतृत्व गर्दै उनी गण्डकी प्रदेश सरकारको कार्यकारी प्रमुख बन्न सफल भए ।
अब भने उनी प्रदेशमा दोहोरिन चाहँदैनन् । उनी आगामी निर्वाचनमा प्रतिनिधिसभा निर्वाचन लड्न चाहन्छन् । तर, अवस्था सहज छैन । कांग्रेस निर्वतमान महामन्त्री तथा केन्द्रीय सदस्य शशांक कोइरालाको पनि निर्वाचन क्षेत्र पनि यही हो ।
“उहाँको चाहना केन्द्रमै लड्ने हो । तर, यहाँबाट केन्द्रमा शशांक कोइराला हुनुहुन्छ । राष्ट्रियसभामा पनि यो खस आर्य क्लस्टर तत्काल खाली हुने अवस्था छैन,” मुख्यमन्त्रीका प्रेस सल्लाहाकार भरत कोइरालाले भने, “समानुपातिकमा बस्ने अवस्था भयो भने संघमा जानुहुन्छ । तर, जनस्तरबाट भने उहाँलाई प्रत्यक्ष निर्वाचित भएर प्रदेशमै भएपनि काम गर्नुपर्ने दबाब छ ।”
कोइरालाका अनुसार नेपालीले भने संघमा आउने विकल्पको खोजी गरिरहेका छन् ।
जीवनबहादु शाही
कर्णाली प्रदेशका बहालवाला मुख्यमन्त्री हुन्, जीवनबहादुर शाही । उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन् । पार्टीको १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा पराजय भोगेपछि उनी मनोनीत केन्द्रीय सदस्य भएका छन् ।
शाहीको गृहजिल्ला हुम्ला हो । एकमात्र निर्वाचन क्षेत्र भएको हुम्लामा २०७४ सालको निर्वाचनमा उनी प्रदेश निर्वाचन क्षेत्र ‘ख’बाट निर्वाचित भएका हुन् । नेकपा विभाजन र एमाले पार्टी पनि फुटेपछि कर्णाली प्रदेश कांग्रेस संसदीय दलका नेता शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।
शाहीले ०७४ को निर्वाचनमा वाम गठबन्धनको तर्फबाट माओवादीका उमेदवार विजय भण्डारीलाई पराजित गरेका थिए । शाहीले चार हजार ५१९ मत ल्याउँदा भण्डारीले तीन हजार ९९५ मत पाएका थिए ।
केन्द्रीय सरकारको मन्त्री भइसकेर पनि मुख्यमन्त्री बन्न प्रदेशबाट लडेका शाही पार्टी कमजोर भएका बेला पनि मुख्यमन्त्री भइसकेका छन् । तर, उनलाई प्रदेशमा दोहोरिने रहर छैन । उनको प्राथमिकतामा अहिले संघीय सदन छ ।
अघिल्लोपटक हुम्लाबाट स्वतन्त्र उमेदवार छक्कबहादुर लामा निर्वाचित भएका थिए । उनी अहिले माओवादी केन्द्रको केन्द्रीय सदस्य बनिसकेका छन् । कांग्रेसबाट मङ्गलबहादुर शाही लामासँग पराजित भएका थिए ।
“म २०७४ मै प्रदेश लडेर मुख्यमन्त्री भइसकेँ । मेरो चाहना अब केन्द्रमा चुनाव लड्ने रहन्छ,” शाहीले बाह्रखरीसँग भने, “तर म गठबन्धन र पार्टीनिर्णयविपरीत जान्नँ । पार्टीले प्रदेश दोहोराउनुपर्छ भन्छ भने म त्यसका लागि तयार छु ।”
प्रदीप पौडेल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले ०७४ सालमा भएको निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्यमा चुनाव लडेका थिए । गृह जिल्ला तनहुँ भएका पौडेल ०७४ को निर्वाचनमा क्षेत्र नम्बर २ को प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा चुनाव लडेका थिए । निर्वाचन आयोगको तथ्यांक अनुसार त्यतिबेला पौडेलले पाँच मतले चुनाव हारेका थिए ।
पौडेलले १६ हजार ६४१ मत ल्याउँदा वाम गठबन्धनका तर्फबाट नेकपा(माओवादी केन्द्र)की उमेदवार आशा कोइरालाले १६ हजार ६४६ मत ल्याएर निर्वाचित भएकी थिइन् । नतिजामा चित्त नबुझेर पौडेलले पुनः मत गणनाको माग गर्दै सर्वोच्चमा मुद्दासमेत हालेका थिए । तर, प्रदेशसभाको कार्यकाल सकिन केही समय लाग्दासमेत सर्वोच्चले पौडेलको मुद्दामा फैसला सुनाएको छैन ।
पाँच वर्षे अवधि पूरा गरेर देश पुनः निर्वाचनको संघारमा छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन घोषणा भएर चुनाव आउँन अब तीन महिनाभन्दा कम समय मात्र बाँकी छ । विगतको चुनावमा भएको वाम गठबन्धन भताभुङ्ग भएर अहिले कांग्रेसकै नेतृत्वमा अर्को गठबन्धन बनेको छ । गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच सिट बाडफाँटको रस्साकस्सी चलिरहेको छ ।
विगत चुनावमा प्रदेशसभा निर्वाचन लडेका कांग्रेस केन्द्रीय सदस्य पौडेल भने प्रतिनिधिसभा निर्वाचनको तयारीमा छन् । यो निर्वाचन क्षेत्रमा ०७४ मा कांग्रेस नेता शंकर भण्डारी चुनाव लडेका थिए । भण्डारी पनी केन्द्रीय सदस्य हुन् ।
त्यतिबेला भण्डारी वाम गठबन्धनको तर्फबाट नेकपा (एमाले)का उमेदवार केदार सिग्देलसँग पराजित भएका थिए । अहिले पौडेल र भण्डारीबीच टिकटका प्रतिस्पर्धा हुने देखिन्छ ।
“खासमा शंकरजीको निर्वाचन क्षेत्र–१ हो । उहाँ दुई नम्बरमा आएर लड्नुभएको मात्र हो । यो निर्वाचनमा उहाँ के गर्नुहुन्छ त्यो उहाँलाई थाहा होला,” पौडेलले बाह्रखरीसँग भने, “म तनहुँ क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने तयारी गरिरहेको छु ।”
नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भएर कांग्रेस राजनीतिमा देशव्यापी पहिचान बनाएका पौडेल पार्टीको १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका हुन् । पार्टीमा नेता कृष्णप्रसाद सिटौला निकट रहेका पौडेल १४औँ महाधिवेशनमा शेरबहादुर देउवा प्यानलको महामन्त्री लडेका थिए । तर, उनले महामन्त्रीमा पराजय बेहोर्नुपर्यो ।
गुरु बराल
०७४ सालमा भएको निर्वाचनमा गुरु बराल कास्कीबाट प्रदेशसभा सदस्यमा चुनाव लडेका थिए । उनको निर्वाचन क्षेत्र कास्की क्षेत्र नम्बर–२ ‘क’ हो । तर, बराल त्यसबेला वाम गठबन्धनका उमेदवारसँग पराजित भएका थिए ।
निर्वाचन आयोगको तथ्यांकअनुसार बराल एमालेका उमेदवार कृष्णबहादुर थापासँग पराजित भएका थिए । वाम गठबन्धनको सहयोगमा उमेदवार बनेका थापाले १५ हजार ३२९ मत ल्याउँदा बरालले आठ हजार ३२५ मत पाएर दोस्रो भएका थिए ।
यसपटक भने उनी कास्कीका दुईमध्ये एक निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी छन् । क्षेत्र नम्बर १
कांग्रेस सहमहामन्त्री जीवन परियारको भएकाले पनि बराललाई १ नम्बर क्षेत्रमा गएर टिकट पाउन सहज देखिरहेका छैनन् ।
“म प्रदेशमा लड्दिनँ । गठबन्धनले २ निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभाका लागि कांग्रेसलाई जहाँ टिकट दिन्छ म त्यहीँ लड्छु,” बरालले बाह्रखरीसँग भने ।
बराल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको राजनीति हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । उनी २०६३ सालमा देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक) निकट नेविसंघको केन्द्रीय उपाध्यक्ष भएका थिए ।
पार्टीको १३औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचन लडेपनि उनी सफल भएनन् । १४औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य भएका छन् ।
ध्रुव वाग्ले
तनहुँ निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेता हुन्, ध्रुव वाग्ले । उनी तनहुँको भानु नगरपालिकाको मेयर र संविधानसभा सदस्य भएर काम गरिसकेका नेता हुन् । तनहुँको सभापति भएर पनि काम गरिसकेका वाग्ले ०७४ चुनावमा तनहुँ क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचन लडेका थिए । उनी वाम गठबन्धनका तर्फबाट एमाले उमेदवार किरण गुरुङसँग पराजित भएका थिए । त्यसबेला गुरुङले १५ हजार ६३० मत ल्याउँदा वाग्लेले १४ हजार २१४ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।
वाग्ले हालसम्म प्रदेश लड्ने कि संघमा आउने भन्ने टुंगोमा पुगिसकेका छैनन् । तर उनको आकांक्ष संघमा नै छ । संघमा इच्छा भएपनि गठबन्धनका कारण टिकट नपाइने शंका उनमा छ । तनहुँबाट करिब आधा दर्जन केन्द्रीय सदस्य रहेको र जिल्लाभित्र प्रभावशाली नेता पनि पर्याप्त भएकाले पनि टिकटमा समस्या हुने वाग्लेको बुझाइ छ ।
क्षेत्र नम्बर–१ मा रामचन्द्र पौडेल लड्ने भनेपनि एकीकृत समाजवादीका नेता तथा सांसद किसान श्रेष्ठ पनि सोही क्षेत्रबाट प्रतिनिधित्व गर्छन् ।
“एउटा निर्वाचन क्षेत्रमा कांग्रेस लडे अर्को एकीकृत समाजवादीले पाउने होला । पहिला गठबन्धनमा कुरा टुंगिनपर्यो अनि पार्टीले निर्णय पनि गर्नुपर्यो नि !,” वाग्लेले बाह्रखरीसँग भने, “एकपटक सांसद भइसकेँ । केन्द्रमा इच्छा गर्नु कुनै अस्वाभाविक आकांक्षा होइन । तर, इच्छा गरेर मात्र हुँदैन । निर्णय पार्टीबाट मात्र होइन गठबन्धनबाट पनि हुन जरुरी छ । अहिले नै केमा लड्छु भन्ने निर्णय गरिसकेको छैन ।”
गोविन्द भट्टराई
नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदा देशभर प्रभाव विस्तार गरेका गोविन्द भट्टराई पनि ०७४ सालमा प्रदेशसभा सदस्यका लागि चुनाव लडेका थिए । तर, उनी वाम गठबन्धनका उमेदवारसँग पराजित भएका थिए ।
भट्टराईको निर्वाचन क्षेत्र तनहुँ क्षेत्र नम्बर–१ हो । जहाँबाट रामचन्द्र पौडेल र शंकर भण्डारी पनि प्रतिनिधित्व गर्छन् ।
उनी ०७४ सालमा क्षेत्र नम्बर–१ ‘क’मा प्रदेशसभा निर्वाचन लडेका थिए । भट्टराई वाम गठबन्धनका तर्फबाट एमाले उमेदवार रामबहादुर गुरुङसँग पराजित भएका थिए । गुरुङले १८ हजार २६५ मत ल्याउँदा भट्टराईले १६ हजार ८७८ मत ल्याएको निर्वाचन अयोगको तथ्यांकमा छ ।
अघिल्लोपटक प्रदेशमा पराजित भएका भट्टराई यसपटक प्रदेशसभा लड्ने मुडमा छैनन् । बाह्रखरीसँगको कुराकानीमा भट्टराईले केन्द्रमा लड्ने तयारी गरिरहेको जानकारी दिए ।
“अघिल्लोपटक प्रदेश जानु मेरो भुल भयो,” भट्टराईले भने, “समकालीन साथीहरू राष्ट्रिय राजनीतिमा हुनुहुन्छ । प्रदेशसभा लड्न अरू साथीहरूलाई बाटो खुला गर्छु । म केन्द्रमै लड्छु ।”
रामचन्द्र पौडेल पनि तनहुँ–१ बाट चुनाव लड्ने तयारीमा छन् । त्यस्तो अवस्थामा 'कसरी टिकट लिनुहुन्छ' भन्ने बाह्रखरीको प्रश्नमा भट्टराईले पौडेलले समानुपातिक बसेर आफूलाई मार्ग प्रशस्त गर्नेमा आफू विश्वस्त रहेको बताए ।
“एउटा हाम्रो आन्तरिक बैठकमा मैले रामचन्द्र दाइलाई समानुपातिक बस्न अनुरोध गरेको छु,” भट्टराईले भने, “उहाँ समानुपातिक बस्नुहुन्छ भन्ने आश छ ।”
भट्टराई नेविसंघको राजनीतिबाट कांग्रेसमा उदाएका हुन् । नेविसंघको सातौँ महाधिवेशनबाट ०५३ सालमा उनी नेविसंघको सभापति बनेका थिए । पार्टीको १२औँ महाधिवेशनदेखि केन्द्रीय सदस्य बनेका उनी १३औँ र १४औँ महाधिवेशनबाट पनि केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
राजीव कोइराला
१४औँ महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका राजीव कोइराला नेपाली कांग्रेसका तर्फबाट प्रदेश–१मा सांसद छन् । प्रदेश नम्बर–१ मा पार्टीको संसदीय दलका नेतासमेत रहेका कोइराला यसअघि कांग्रेस सुनसरीको नेतृत्वमा थिए । कोइरालाको निर्वाचन क्षेत्र सुनसरी–२ हो । ०७४ सालमा सुनसरी क्षेत्रनम्बर–२ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका उनले वाम गठबन्धनका तर्फबाट लडेका एमाले उमेदवार रामप्रसाद महतोलाई पराजित गरेका थिए ।
कोइरालाले १७ हजार ८९२ मत ल्याएर निर्वाचित हुँदा वाम गठबन्धनका महतोले १६ हजार ४७५ मत पाएका थिए ।
२०७४ को निर्वाचनमा प्रदेश सभा लडेपनि मंसिर ४ मा हुने निर्वाचनमा भने उनी प्रतिनिधिसभा लड्ने तयारीमा छन् ।
“प्रदेशमा नेताहरूको आकांक्षा बढेको छ । हामीले प्रदेशको सुरुवाती सांसद भएर प्रदेश संरचनालाई संस्थागत गराएका छौँ,” कोइरालाले बाह्रखरीसँग भने, “अब अन्य नयाँ साथीहरूलाई अवसर दिनुपर्छ । त्यसकारण म प्रदेश छाडेर यसपटक केन्द्रमा लड्ने तयारीमा छु । अब पार्टीले के निर्णय गर्छ हेरौँ ।”
विद्यार्थी राजनीतिबाट उदाएका कोइराला पार्टीभित्र शेखर कोइरालाका विश्वासपात्र हुन् । उनी दुई कार्यकाल सुनसरी जिल्ला सभापति बनेर १४औँ महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्य बनेका हुन् ।
प्रदीपकुमार सुनुवार
केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवार पनि प्रदेशसभा निर्वाचन लडिसकेका छन् । सुनुवारको गृह जिल्ला ओखलढुंगा हो । एकमात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा सुनुवार प्रदेश सभा ‘ख’ मा लडठेका थिए ।
ओखलढुंगा कांग्रेस केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य रामहरि खतिवडाको पनि गृह जिल्ला हो । ०७० सालमा संविधानसभा सदस्य जितेका खतिवडा ०७४ सालमा प्रतिनिधिसभा सदस्यमा पारजित भएका थिए । अहिले सुनुवार र खतिवडाबीच टिकट लिन प्रतिस्पर्धा छ । ०७० सम्म संविधानसभा सदस्य लडेका कांग्रेस नेता बालकृष्ण दाहालले उनीहरू दुवैलाई टिकटमा चुनौती दिइरहेका छन् ।
दुई कार्यकाल जिल्ला सभापति चलाएका सुनुवार पछिल्लोपटक उनै बालकृष्ण दाहाललाई हराएर सभापति बनेका थिए । अहिले सुनुवार दाहाललाई मिलाए मात्र चुनाव जितिने भन्दै दाहाललाई प्रदेशसभामा चुनाव लड्न आग्रह गरिरहेका छन् । तर, दाहालले भने आफू संघीय चुनाव मात्र लड्ने भन्दै प्रदेशसभामा विगतमा चुनाव लडेको केन्द्रीय सदस्य सुनुवार उतै लडेर टिम व्यवस्थापन गरे ओखलढुंगाको चुनाव एक्लै जित्न सकिने तर्क गरिरहेका छन् ।
०७४ मा प्रतिनिधिसभामा खतिवडा र प्रदेशसभामा सुनुवार दुवै पराजित भएका थिए । प्रदेशमा सुनुवार माओवादी केन्द्रका उमेदवार मोहनकुमार खड्कासँग पराजित भएका थिए । खड्काले १५ हजार ४८५ मत ल्याउँदा सुनुवारले १३ हजार ७११ मात्र मत पाएको निर्वाचन आयोगको तथ्यांकमा छ ।
प्रदेश सभा लडिसकेका सुनुवार मंसिरमा हुने निर्वाचनमा भने प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने तयारीमा रहेको बताउँछन् ।
“म प्रदेशमा समानुपातिक पनि बस्दिनँ, प्रत्यक्ष पनि लड्दिनँ । म संघमा लड्ने हो । किनभने जातीय र भौगोलिक क्लस्टर नमिलाउँदा पार्टीलाई असर पर्छ । म उपयुक्त उमेदवार हो,” बाह्रखरीसँग उनले भने, “रामहरिजी दुईपटक लडिसक्नुभएको छ । म उहाँभन्दा सिनियर पनि हो । अब मलाई पालो दिनुपर्छ । जिल्ला सभापति हुँदा मैले उहाँलाई सहयोग गरेकै हो । उहाँ प्रदेश लडेर मुख्यमन्त्री बन्दा पनि राम्रो हुन्छ ।”
दुई कार्यकाल जिल्ला सभापति बनेका सुनुवार पार्टीको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका हुन् । उनी पार्टीभित्र संस्थापन समूह निकट मानिन्छन् ।
दिनेश कोइराला
कांग्रेसको संस्थापनइतर समूहका नेता हुन्, दिनेश कोइराला । गृह जिल्ला चितवन रहेको उनी विगत चुनावमा प्रदेशसभा निर्वाचन लडेका थिए । अहिले उनी चितवन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा रहेको बताउँछन् ।
यही निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यसअघिको निर्वाचन जितेका हुन् ।
विगतमा वाम गठबन्धनबाट निर्वाचित भएपनि दाहाल अहिले कांग्रेसँगै गठबन्धनमा छन् । त्यसैले कोइरालालाई यहाँ संघको टिकट लिन सहज छैन । तर, उनी यसलाई स्वीकार गर्न तयार छैनन् ।
“कांग्रेसले पटक–पटक यो निर्वाचन क्षेत्र छाड्यो । तर, अब छाड्दैन भन्ने मलाई विश्वास छ । म केन्द्रीय सदस्य पनि भएकाले यहाँ लड्नु स्वभाविक हो । एकव्यक्ति एकपटक भन्ने सिद्धान्तबमोजिम म प्रदेश लडिसकेँ । अब केन्द्र लड्छु,” कोइरालाले बाह्रखरीसँग भने, “उहाँ चितवन भन्दा अघि अनेक निर्वाचन क्षेत्रबाटै जित्नुभएको हो । योपटक यहाँबाट नलड्न पनि सक्नुहुन्छ । उहाँको बारेमा मलाई थाहा भएन । म आफ्नो तयारी गरिरहेको छु ।”
०७४ मा उनी प्रदेशमा लडेपनि सफल हुन सकेकन् । वाम गठबन्धनबाट उमेदवार बनेका एमाले नेता कृष्णप्रसाद भुर्तेलसँग उनी पराजित भएका थिए । भुर्तेलले २४ हजार ७८५ मत ल्याउँदा कोइरालाले २३ हजार ४५ मत ल्याएर पराजित भएका थिए ।