काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने महानगरको अभियान सकारात्मक रहेको बताएकी छन् । उनले आज सामाजिक सञ्जालमा एक अपिल सार्वजनिक गर्दै यस्तो बताएकी हुन् ।
सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना तथा निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङको प्रयोजन देखाएर अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना हटाउने महानगरको निर्णयअनुसार नै काम भइरहेको डंगोलले बताएकी छन् ।
“त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरपालिकाको हो । म काठमाडौँ महानगरपालिकाको उपमेयरको हैसियतमा छु,” डंगोलले लेखेकी छन्, “त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कुरामा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु ।”
उपमेयर डंगोलले काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आफ्नो एजेण्डाप्रति सजग र सचेत रहेको पनि स्मरण गराएकी छन् ।