काठमाडौं । बोरुसिया मोन्चेनग्लाडबचका गोलकिपर यान सोमरले १९ बचाउ गरेपछि जर्मन बुन्डेसलिगाको साविक विजेता बायर्न म्युनिख १–१ को बराबरीमा रोकिएको छ । १९ बचाउ गरेसँगै सोमर बुन्डेसलिगामा कीर्तिमान बनाउन सफल भए ।
पाहुना टोली मोन्चेनग्लाडबचले ४३औँ मिनेटमा मार्कुस थोरामको गोलबाट अग्रता लिएको थियो । त्यसअघि, सडियो मानेले गरेको गोललाई भिडियो सहायक रेफ्री (भीएआर)ले अफसाइड घोषित गरिदिएको थियो ।
खेल सकिन सात मिनेट बाँकी हुँदा जमाल मुसिएलाको पासमा लेरोए सानेले गरेको गोलसँगै बायर्न एक अंक जोड्न सफल भयो ।
इन्ज्युरी समयमा बेन्जामिन पाभार्डले प्रयासलाई सोमरले विफल तुल्याइदिएका थिए । एकै खेलमा त्यो सोमरको १९औँ बचाउ थियो । यसअघि, बुन्डेसलिगामा ह्यामबर्गका गोलकिपर एलेक्जेन्डर शोलोले बायर्न म्युनिखविरुद्ध नै १४ बचाउ गरेका थिए ।
जारी लिगमा बायर्न र मोन्चेनग्लाडबच दुवै अपराजित छन् । बायर्न चार खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा छ । मोन्चेनग्लाडबच आठ अंकका साथ छैटौँ स्थानमा छ ।