काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सम्झौता भएको छ ।
आज एक कार्यक्रमकाबीच कुमारी क्यापिटल लिमिटेडका तर्फबाट पुष्प शर्मा र अभियान लघुवित्तको तर्फबाट रोशन कुमार अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै अब धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरधनीहरूको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरू कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाण्डौंमार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ वटै प्रदेशका २१ जिल्लामा रहेको ६० वटा शाखा मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
राष्ट्रिय स्तरको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई सेयर जारी गरे पश्चात चुक्ता पुँजी २५ करोड रुपैयाँ पुर्याएको छ ।