site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
प्रदीप दाइले छाडेर गएको 'दीप' बोक्ने अभिभारा हामीमा आएको छ
फाइल तस्बिर ।

नेपाली कांग्रेसका पुराना नेता तथा सांसद प्रदीप गिरिले शनिबार राति संसार छाडे । समाजवादी चिन्तकको छवि बनाएका गिरि गान्धीवादी भएपनि मार्क्सवादसँगै धार्मिक र पौराणिक विषयवस्तुका राम्रो अध्येता पनि हुन् । गिरि सधैँ युवा पुस्ता र रूपान्तरण पक्षका उभिए । अल्पमतको सधैँ पक्षधर बने । उनी पटकपटक सांसद बने । तर, मन्त्री वा कुनै लाभ मिल्ने सार्वजनिक पदमा कहिल्यै बसेनन् । उनै गिरिबारे कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग बाह्रखरीकर्मी रोमन आचार्यले संक्षिप्त सवालजवाफ गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश : 

प्रदीप गिरिसँगको संगत कहिलेबाट भयो ? कसरी नजिक हुनुभयो ? 
उहाँको प्रत्यक्षसँग लोकतन्त्र पुनुर्स्थापनापछि भएको हो । तर, उहाँलाई अप्रत्यक्ष रूपमा भने त्यसअघि नै चिनेको हो । जब म ४३–४५ सालसम्म मेची क्याम्पस भद्रपुरको नेविसंघ सभापति थिएँ, त्यसबेला देखिनै उहाँको विषयमा सुनेको हो । प्रदीप गिरि एकदमै विद्धान नेता हुनुहुन्छ भनेको सुनेको हो । त्यसबेला अहिले जस्तो सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन थिएन । नेपला टेलिभिजन पनि २०४२ सालबाट सुरुवात भएको थियो । हाम्रो गाउँघर र समुदायमा त्यसको पहुँच पनि थिएन । त्यो जमानामा पनि हामीले प्रदीप गिरि भनेको महान् विद्धान अरे भनेर हामीले सुनेका थियौँ । ममा उहाँको प्रभाव त्यसबेलाबाटै थियो । २०४६ पछाडि उहाँसँग प्रत्यक्ष रूपमा जोडिन पुगियो । २०४८ सालमा नेविसंघको केन्द्रीय समितिमा आइसकेपछि झन् नजिकबाट संगत गर्न पाएँ । त्यसपछि उहाँले निरन्तर प्रोत्साहन गर्नुभयो । उहाँसँगै एउटै मञ्चमा बोल्ने अवसर पनि पाइयो । 

पार्टीमा तपाईंहरूजस्ता युवालाई अगाडि बढाउन उहाँले केही भूमिका खेल्नुभयो ? 
१४औँ महाधिवेशन हुनु दुई अढाइ वर्ष पहिले उहाँले एकपटक ट्रेड युनियनको कांग्रेसको कार्यक्रममा गगन, विश्वले पार्टी अघि बढाउनुपर्छ भनेर बोल्नुभएको हो । त्यो बेला विश्वप्रकाश शर्मा महामन्त्री बन्ने तयारी गरेकै थिएन । त्यो उहाँले बोलेको कुरा चाहिँ मलाई आशिर्वाद नै भएको हो । त्यो उहाँको दूर्दशिता हो । उहाँले मिहेनत गरेर पढ, बुझ मानिसका कुरा सुन उनीहरूलाई रेस्पोन्स गर जिम्मेवार बन भनेर सैद्धान्तिक रूपमा परिस्कृत बन्न प्रेरणा दिइरहनुहुन्थ्यो । हामीप्रति उहाँको यी युवकहरूले हल बाँधिएर देश र पार्टीका लागि काम गर्छन् भन्ने विश्वास थियो । उहाँ हाम्रा लागि ज्ञानको विश्वविद्यालयजस्तो हुनुहन्थ्यो ।

१४औँ महाधिवेशनअघि उहासँग के–के विषयमा तपाईंले कुरा गर्ने अवसर पाउनुभयो ? 
महाधिवेशनभन्दा लगभग वर्ष दिनअघि अम्बे अर्पाटमेन्टमा उहाँलाई भेट्न म पुगेको थिएँ । जहाँ उहाँ बस्नुहुन्थ्यो । उहाँले मलाई विश्वप्रकाशजी तपाईंलाई एउटा ‘स्टकोट’ ल्याइदिएको छु, यो लिनुहोस् भनेर दिनुभयो । मैले त्यो अहिले सुरक्षित रूपमा ह्याङ्गरमा झुण्डाएर राखेको छु । यो प्रेमले दिएको उपहार मसँग जीवनपर्यान्त रहने छ । उहाँले नेपाली राजनीतिको आरोह अवरोह अप्ठयारो सजिलोलगायतका विषयमा लामो कुराकानी गर्नुभएको थियो ।

भौगोलिक जटिलतालाई समस्याको रूपमा भन्दा विशेषताको रूपमा मान्ने कुरा उहाँले गर्नुभएको थियो । कांग्रेसको पुरानो शैली र युवा पुस्तामा भएको हतारोको विषय सविस्तार भन्नुभएको थियो । युवा पुस्तामा भएको तेजलाई संयम र परिपक्वताको साथ लगेमात्र नेपालको उज्यालो भविष्य छ भनेर भन्नुभएको थियो । उहाँले त्यसबेला पहेलो पात झर्दैछन् हरियो पातहरू पलाउँदैछन् भनेर भन्नुभएको थियो । हामी धेरै युवाहरूप्रति लक्षित गरेर भन्नुभएको थियो । उहाँसँग पार्टीको केन्द्रीय समिति बैठकमा पनि छलफल भएको थियो । उहाँले झापा गएर मेरो क्षेत्रमा भएका कार्यक्रममा भाग लिनुभयो । धुलाबारीमा रहेको मेरै घरमा गएर पनि उहाँले एक घरमा खाना खानुभएको छ । उहाँसँग पारिवारिक र व्यक्तिगत स्नेहको सम्बन्ध थियो । लाहानबाट  ल्याएको आँप लैजान आऊ भन्नुहुन्थ्यो । कहिले आँप कहिले पुस्तकलगायतका आत्मियता आदानप्रदान भइरहन्थ्यो । 

Global Ime bank

अहिलेका तपाईंहरूजस्ता युवाबाट उहाँलाई खास विश्वास के रहेछ ? 
समग्रतमा रूपान्तर अवश्यम्भावी छ । परिवर्तन अवश्यम्भावी छ । परिवर्तन त अनिवार्य छ । यसरी त समाज बस्दैन । नयाँ नयाँ कुरामा गइरहन्छ । 

यिनीहरूले कन्ट्रक्टिभ ढंगले गर्न सक्छन् र गर्नुपर्छ भन्ने कुरा । सक्नेछौ तिमीहरूले र गर्नुपर्छ भन्नुहुन्थ्यो । मलाई याद छ त्यही अम्बेमा जाँदा बीपीले भनेको कुरा उत्साहित हो त तिमीले गर्न सक्छौ भन्नुभएको थियो । बीपीले आँटेको कुरा गर्न सक्छौ भन्नुभयो तर तिमीहरूले गर्ने के हो त ? क्रियटिभ कुरा हो । क्रियटिभ कुरा हो । अर्काेले जे गर्छ त्यही गरेर के फरक भयो त ? त्यसभित्रको पृथकता हुनुपर्छ भन्नुहुन्थ्यो । 

जीवनको अन्तिम अन्तिममा आउँदा कांग्रेस पार्टीप्रतिको उहाँको धारण कस्तो पाउनुभयो ? 
पार्टी भनेको नयाँ बन्नुपर्छ भन्नुहुन्थ्यो । उहाँले पार्टीभित्र बढी ध्यान दिने कुरा दुईवटा थिए । एउटा कांग्रेसको लचकताको कुरा । कांग्रेस जस्तोसुकै राजनीतिक परिस्थितिमा पनि आफू सानो भएर, लचक भएर सबै पार्टीलाई समेटेर जान्छ भन्ने उहाँको कुरा थियो । अर्को कांग्रेसको सिद्धान्त जे हो त्यो चाहिँ अहिलेको विश्व व्यवस्थाको केन्द्र हो । लचक हुँदा पनि केन्द्रलाई असर नपर्नेगरी गर्न सक्छ । त्यही कांग्रेसभित्रबाट नयाँ कांग्रेसको खोजी र राज्यको रूपान्तरण हुन्छ भन्नेमा उहाँ विश्वस्त हुनुहुन्थ्यो । 

त्यसमा पनि दुईवटा कुरा हुनुपर्छ भन्ने थियो । कांग्रेस प्रजातन्त्रप्रति अटुट रहनुपर्छ र समाजको बदलिएको अवस्थाप्रति सम्बोधन गरेर जान कांग्रेस उदार हुनुपर्छ भन्नेमा उहाँले जोड दिनुभयो । अरू सबैलाई पछि लगाउने घरमूली कांग्रेस हो । 

नेपाली राजनीतिले उहाँबाट सम्झने कुराहरू केके हुन् ?
एउटा ज्ञानको विश्वविद्यालय आजबाट सदाका लागि बन्द भयो । उहाँ ज्ञानको एउटा ठुलो डिपार्टमेन्टल स्टोर हुनुहुन्थ्यो । अब हामीले साना साना पसलबाट उहाँको ज्ञान लिनुपर्ने भएपछि उहाँलाई हामी मिस गर्छौं । प्रदीप गएपनि दीप छाडेर जानुभएको छ । त्यो दीपलाई जलाएर निरन्तर अघि बढ्ने संकल्प हामीले गर्नुपर्छ । हामीलाई प्रदीप दाइले छाडेर गएको दीपलाई हामीले बोकेर जाने संकल्प गर्नुपर्छ । त्यो नै साँचो श्रद्धाञ्जली हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  २२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu