वैदेशिक रोजगारका नाममा ठगिएका पीडितहरूले मानब बन्धकका रूपमा कहालीलाग्दो जीवन बिताउनु परेको समाचार अब नौलो रहेन । विडम्बना, मानवताविरुद्धको अपराधमा अपराधमा सलग्न अपराधीले भने उन्मुक्ति पाइरहेका छन् ।
पर्यटन भिसामा कम्बोडिया पुर्याइएका नेपाली युवालाई दासका रूपमा बेचिएको समाचारले वैदेशिक रोजगारीका नाममा भइरहेको नृशंस अपराध पुनः उजागर भएको छ । जसोतसो उम्केर फर्केका युवाले त्यहाँको भयावह विवरण दिएका छन् ।
चिनियाँहरूले नेपाली युवालाई कम्बोडिया पुर्याएर बन्धक बनाई बलजफ्ति ‘कल सेन्टर’मा काममा लगाई ठगीको अपराध गराएको खुलासा भएको छ । त्यसरी बन्धक बनाइएर दासजसरी काम गरेका युवाले उद्धारका लागि आग्रह गरेका छन् ।
मानव ओसारपसार र तस्करी संसारकै ठूलो व्यापारमध्ये एक मानिन्छ । हतियार र लागुपदार्थसँगै मानव तस्करी पनि रोक्न नसकिएको नृशंस अपराध हो । नेपालमा वैदेशिक रोजगारीका नाममा हुने अवैध क्रियाकलापले मानव तस्करी फस्टाएको छ ।
नेपाल सरकारले चाहेर पनि मानव तस्करीको समस्या पूर्णरूपमा समाधान गर्न सक्तैन । वैदेशिक रोजगारीलाई व्यवस्थित र राज्यको निगरानी कडा बनाएका केही नियन्त्रण भने हुनसक्छ । तर, तस्करीका लागि पठाउनेहरूले उन्मुक्ति पाउन्जेल यो समस्या रहिरहन्छ ।
कम्बोडियामा बन्धक बनाइएका युवा जसोतसो फर्कन सकेकाले अरूको पनि अवस्था सार्वजनिक भएको हो । फर्कन नसकेका वा फर्केर पनि चुप लागेकाहरूको सङ्ख्या निश्चय पनि निकै बढी हुनसक्छ ।
चितवनका एक युवाको परिवारले उनी कम्बोडियामा बन्धक बनाइएको थाहा भएपछि परिवार त्यहाँ पुर्याउने व्यक्तिविरुद्ध उजुरी गर्दा पनि कारबाही हुनसकेनछ । त्यस्तै काठमाडौंको एउटा ट्राभल एजेन्सीले अनपेक्षितरूपमा धेरै जनालाई पर्यटन भिसामा कम्बोडिया पठाएको रहेछ ।
मानव बन्धक र तस्करीका यस्ता घटनामा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान नगर्नु स्वयं सन्देहको विषय हो । पीडितहरूका अनुसार अध्यागमन कार्यालयका कर्मचारीको समेत मानव तस्करीमा मिलेमतो रहेको हुन्छ ।
सुदखोरीमा प्रहरीकै एकजना तत्कालीन उच्च अधिकारीको संलग्नता रहेजस्तै मानव तस्करीमा पनि राजनीतिक नेताहरूको संरक्षणमा प्रहरी, व्यवसायी र कर्मचारी संलग्न हुनसक्छन् । यसैले सरकारी संयन्त्रका हर्ताकर्ताहरूले मानव तस्करी भइरहँदा पनि आँखा चिम्लेको हुनसक्छ ।
परन्तु, सार्वजनिक भइसकेपछि यस्ता घटनामा सरकार तमासा हेरेर बस्न मिल्दैन । यसैले सबैभन्दा पहिले कम्बोडियामा बन्धक बनाइएका नेपालीको उद्धारका लागि सबै आवश्यक प्रयास तत्काल गरोस् । उताका अपराधी पनि सजग हुन नपाऊन् ।
चीन सरकारसँग समन्वय गरेमा नेपाली युवालाई ‘दास’ बनाउने चिनियाँ नागरिकलाई पनि कानुनी कारबाही गराउन सकिनुपर्ने हो । मानव तस्करी अन्तर्राष्ट्रिय कानुनअनुसार पनि दण्डनीय अपराध हो । चिनियाँ नागरिकहरू विदेशमा पनि प्रायः सरकारी निर्देशन र निगरानीमै हुन्छन् ।
वैदेशिक रोजगारीका लागि ‘भिजिट भिसा’मा जानु गैरकानुनीमात्र होइन अत्यन्त जोखिमपूर्ण पनि हुन्छ भन्ने व्यापक प्रचारप्रसार राज्यले गर्नु पनि जरुरी देखियो । साथै, जोखिममा पर्नेगरी पठाउने मानव तस्कर र तिनका मतियारमाथि देशभित्र कानुनी कारबाही पनि गरिनुपर्छ ।