बीबीसी । ससाना कामहरुलाई पछिका लागि भनेर साँचेर राख्दा पछि त्यही काम सबैभन्दा ठूलो अवरोधमा परिणत हुन्छ । तर थाहा हुँदाहुँदै पनि हामीले किन त्यस्तो गरिरहेका हुन्छौँ ?
आफूलाई मन नपर्ने सहकर्मीलाई इमेल पठाउनुपर्ने काम होस् या कुनै साधारण पेपरवर्क अथवा कुनै फारम भर्नुपर्ने, सरसफाइ गर्नुपर्ने, आफ्ना हाकिमसँग छोटो कुरा गर्नुपर्नेलगायतका काम हामी केही कारणवश पछिका लागि भनेर छाड्न सक्छौँ ।
यस्ता काम पाँच मिनेटमा सकिने भए पनि साँचेर राख्दा पछि उत्पन्न हुने झन्झट पश्चात् मात्र हामीले आफूलाई प्रश्न गरिरहेका हुन्छौँ, मैले किन चैँ यो अहिलेसम्म गरिनँ ?’ यसपछि पनि हामीले दिक्क मानेर सोच्दैगर्दा समय खेर फालिरहेका हुन्छौँ जबकी काम जहाँको त्यहीँ अवस्थामा अधुरो छ । यसरी सानो काम पनि पछि गएर ठूलो, अफ्ठ्यारो बन्न पुग्छ । अनि त्यसमा हामीले पर्याप्त समय दिन पाउदैनौँ या आवश्यकता भन्दा धेरै समय बर्बाद गर्न पुग्छौँ ।
यसरी साना कामहरुले हाम्रो मस्तिष्कमा धेरै ठाउँ ओगट्छ । जबकी त्यो कामलाई हामीले सजिलै घटाउन सक्थ्यौँ ।
त्यसैले यसका लागि पहिले त हामीले के बुझ्न जरुरी हुनेछ भने, हामीले कसरी त्यसलाई यति ठूलो हुन दियौँ ? यसरी हामीले कामलाई कुन रुपमा अपनाउछौँ भन्ने कुरामा ध्यान राख्न सक्यौँ भने नै यो बानीलाई परास्त गर्न सक्नेछौँ ।
इङ्ल्यान्डस्थित ‘युनिभर्सिटी अफ सेफिल्ड’ की साइकोलोजी प्रोफेसर फुसिया साइरोइसका अनुसार गर्नु हुँदैन, गलत हो भन्ने थाहा हुँदाहुँदै पनि मानिसहरुले तत्काल गर्नुपर्ने काममा ढिलो गर्ने, अल्छी गर्ने गरिरहेका हुन्छन् ।
उनी भन्छिन्, “यहाँ विभिन्न थरीका मान्छे हुन्छन् जसमा कसैले त्यसरी पछिका लागि काम राख्नु यो कुराका लागि राम्रो हुन्छ, त्यो फाइदा गराउँछ भन्ने विश्वास गर्छन् तर यसको परिभाषाअनुसार काम साँच्नु र अल्छी गर्नु कुनै पनि हिसाबले हाम्रो लागि राम्रो होइन ।”
वास्तवमा पछिका लागि काम साँच्ने बानी परेका मानिसहरुमा स्ट्रेसको स्तर उच्च हुने गर्दछ भने अपर्याप्त निद्रा लगायतले जागिरमा तिनको प्रस्तुति पनि खराब बन्न पुग्छ । मानसिक स्वास्थ्यका हिसाबले अल्छिपना र काम साँच्ने बानीलाई डिप्रेसन र एन्जाइटीसँग समेत जोडिने गरिन्छ । साथै यसका कारणले हाम्रो सम्बन्ध बिग्रने खतरा पनि उत्तिकै हुन्छ किनकि समयमा काम नसिध्याउँदा हामीले आफ्ना वचन र प्रतिबद्धता पूरा गर्न सक्दैनौँ ।
यसरी ठुल्ठुलो काममा केहीबेर ढिलाइ गर्नु स्वाभाविक हो । तर साना काम, केही मिनेटमै सकिने कामलाई हामीले किन साँचेर राख्छौँ ? साइरोइसका अनुसार त्यस्ता कामहरु हामीले बिर्सिएर होइन, थाहा पाएरै पन्छिन खोजिरहेका हुन्छौँ । त्यसले हामीमा लगातार डर, चिन्ता, असुरक्षा, शंका, क्षमताविहीन भावना सिर्जना गरिरहेको भए पनि हामीले जानीजानी त्यस्तो गरिरहन्छौँ ।
साइरोइसका अनुसार मानिसहरुले ससाना काम पछिलाई साँच्नु पछाडिको कारण कमजोर समय व्यवस्थापन भएको विश्वास गर्दछन् तर वास्तवमा यो हाम्रो मुडका कारण हुने उनले बताइन् ।
उनी भन्छिन्, “त्यसरी साना काम बाँकी राख्नेहरु आफ्नो सबैभन्दा ठूला आलोचक हुन्छन् र आफ्नो त्यही बानीबारे अधिक चिन्ता गर्दागर्दै पनि ढिला गर्न छाड्दैनन् ।”
सो चिन्ता तिनीहरुको दिमागमा बसिरहने हुँदा यसबाट मस्तिष्क नराम्ररी प्रभावित हुने गर्दछ र समस्याको समाधान गर्ने हाम्रो क्षमतामा कमी ल्याउँछ ।
यसपछि उनीहरु सोच्न थाल्छन् : मलाई के भइरहेको छ ? मैले किन यति सानो काम पनि गर्न सकिरहेको छैन ? यसरी काम बिग्रदै जाँदा उनीहरुमा नकारात्मक भाव बढ्दै जान्छ र समस्यालाई तार्किक रुपमा हेर्ने क्षमतामा निरन्तर बाधा पुग्दछ ।
साइरोइस भन्छिन्, “एक समय यो सानो कुरा थियो जसबारे हामी केही अनिश्चित मात्र थियौँ तर अब यो एकदम ठूलो मुद्दामा परिणत भइ हामीमा डर त्रास अनि चिन्ता फैलाइउँदछ । एउटा सानो ढुङ्गा अचानक पहाड बन्न पुग्छ र हामीलाई राक्षस जसरी सताउँछ ।”
त्यस्तै साना कामबाट पन्छिन खोज्नुको अर्को सम्भावित कारण भनेको कडा समय सिमाको अभाव पनि हो । जस्तै कि हामीले यसलाई अरु कामहरुका बीचमा एकैछिनमा निप्टाउनेछौँ भनेर साँच्ने गर्दछौँ र लगातार त्यसलाई बेवास्ता गरिरहँदा अन्त्यमा हतारिएर गर्नुपर्दा त्यही काम ठूलो बन्न जान्छ र धेरै समय लाग्छ ।
यसको समाधान के हो त ?
तत्काल गर्न अल्छि लाग्ने साना कामहरु सिध्याउन आफूलाई कसरी प्रेरित गर्ने त ? कार्लेटन युनिभर्सिटीका साइकोलोजी प्रोफेसर टिमोथी पाइसिलका अनुसार सबैभन्दा प्रभावकारी तरिका भनेको काम गर्नु अगाडि नसोचि तुरुन्तै थालिहाल्नु हो । किन गर्न मन छैन भनेर सोच्नु अगाडि नै काम गर्नतर्फ लाग्नुले सबै ठीक हुने उनी बताउँछन् ।
उनले थप भनेका छन्, “अर्कोपटक, यदि तपाईँको पूरै शरीर, मन मस्तिस्कले कुनै काम ‘गर्न मन छैन’ भनेर चिच्याइरहेको छ भने त्यस समय आफूले आफूलाई प्रश्न गर्ने गर्नु, यदि मैले यो काम गरेँ भने सबैभन्दा पहिले कहाँबाट सुरु गर्नुपर्छ होला ? यसरी आगामी कदमबारे पहिले सोच्नुले नकारात्मक भावनाबाट हाम्रो ध्यान हटाएर काम गर्नतर्फ केन्द्रित गराउनेछ । ”
‘अमेरिकन प्रडक्टिभिटी कन्सल्टेन्ट’ डेभिड एलेनले यसलाई ‘दुई मिनेट रुल’ को नाम पनि दिएका छन् जसमा उनका अनुसार, कुनैपनि काम दुई मिनेट या सो भन्दा कम समयमा सकिने किसिमको छ भने त्यसलाई पछिका लागि राख्नुले बेकार बढी समय खर्च गराउनेछ । त्यसैले यस्ता काम तत्कालै गरिहाल्नुपर्छ ।
पाइसिलले आफ्ना युनिभर्सिटीका विद्यार्थीहरुमा गरेको एक रिसर्चमा के देखिएको थियो भने पहिले गाह्रो र जटिल लागेपनि काम सुरु गरेपछि त्यो कठिन लाग्नेछैन । र पछि गर्नुको तुलनामा पहिले नै सम्पन्न गर्दा एकदम कम तनावपूर्ण हुन्छ । त्यसैले यसबाट के प्रमाणित हुन्छ भने वास्तवमा हामीलाई अल्छि लाग्नु या गाह्रो लाग्नु पछाडिको कारण हाम्रो काम होइन । हाम्रो आन्तरिक भावनाले त्यसलाई कठिन बनाइदिने उनले बताए ।
पाइसिलका अनुसार भावनात्मक प्रतिक्रिया कम गर्नतर्फ जोड दिनुले हामीलाई ससाना कामहरु व्यवस्थित गर्न मद्दत गर्नेछ । सानो कुरा साँचेर राख्दा पछि त्यही हाम्रो दिमागमा ठूलो बन्न पुग्छ अनि हामीले त्यसमा आवश्यक भन्दा बढी ऊर्जा खर्च गरि प्रतिक्रिया दिने गर्दछौँ । जस्तै सो काम सम्झना साथै हामीमा नकारात्मक भाव पलाउँछ र आफैँमा तनावग्रस्त बन्न पुगिन्छ ।
त्यस्तै अर्को उपाय भनेको चाहिँ उक्त सानो कामलाई हाम्रो साधारण दैनिकीमा अँटाउन प्रयास गर्ने । पाइसिलले उदाहरण दिँदै भने, मलाई बिहान खाने ओट्स पकाउन सधैँ १५ मिनेट लाग्ने गर्दछ र त्यही समयमा मैले मेरो घर भ्याकुम गरि सफा गर्न सक्छु । यसो गर्नाले समय बर्बाद भएको महसुस हुँदैन र नकारात्मक भावबाट पनि टाढा रहन सकिन्छ ।
पाइसिल र सिरोइस दुवैका अनुसार यसमा सबैभन्दा महत्वपूर्ण भनेको आफूमाथि धेरै हावी नहुनु, आफूलाई सबै कुराका लागि दोषी ठान्ने अनि स्ट्रेस लिने नगर्नु पनि हो ।
बीबीसीबाट