काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आसन्न निर्वाचनमा प्युठानबाट प्रतिस्पर्धा गर्ने चाहना व्यक्त गरेका छन् । उनी नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्न हँसिया हतौडा लिएर उमेदवार बन्न तयार भएका छन् ।
राष्ट्रियसभा सदस्य समेत रहेका गौतम त्यहाँबाट राजीनामा दिएर माओवादीको चुनाव चिह्न लिई प्रतिनिधिसभाका निम्ति प्रतिस्पर्धा गर्न राजी भएका हुन् ।
सत्ता गठबन्धनले भागबन्डाको टुंगो लगाए पनि आफूलाई प्युठान सजिलो हुने गौतमको भनाइ रहेको एक नेताले बताए । “भागबन्डा त गठबन्धनमा हुने हो, तर उहाँको चाहना प्युठानबाट चुनाव लड्ने हो,” उनीनिकट एक नेताले बाह्रखरीसित भने ।
गौतम ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया–१ बाट पराजित भएका थिए । अहिले त्यो क्षेत्र छाड्न उनी तयार भएका हुन् । बर्दियाअघि उनले प्युठान–१ बाट प्रतिस्पर्धा गरेका थिए ।
गौतमको उक्त पार्टीले आसन्न निर्वाचनमा प्रदेशसभातर्फ दुई सिट आफूले पाउनुपर्ने माग गरेको छ ।