काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी, गठबन्धन दलहरुबीच सिट बाँडफाँटलगायत विषयमा केन्द्रित रहेको बताइएको छ ।
गठबन्धन दलहरूको सिट बाँडफाँट कार्यदल गठन भइसकेको सन्दर्भमा सिट बाँडफाँटमा पार्टीको आधिकारिक धारणालगायत विषयमा कांग्रेसले छलफललाई तिव्र पारेको छ । यसअघि पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग पनि कांग्रेसले छलफल गरेको थियो ।
न्यूनतम १०० सिट राखेर मात्रै निर्वाचनमा गठबन्धन गर्न पदाधिकारी तथा पूर्वपदाधिकारीहरूले सुझाएका थिए । सभापति शेरबहादुर देउवाले भने गठबन्धन जोगाइरहन केही लचिलो हुनुपर्ने अवस्था रहेको बताएका थिए ।