शुक्रबारको दिन थियो । आमा सुधीरा, छोरी विद्रोही र छोरो गन्तव्यले साँझ सबेरै खाना खाए । गन्तव्यका पिता कमरेड भवसागर सधैँ राति बाह्र बजेपछि मात्र घर आउने हुँदा उनलाई कुरिरहनुको प्रयोजन थिएन ।
गन्तव्य बाह्रको परीक्षा दिएर बसेको थियो । उसका प्रायः सबै साथीहरू शुक्रबारका दिन ‘विकेन्ड’ मनाउन कहिले ककनी, कहिले धुलिखेल त कहिले गोदावरी जान्थे । तर, ऊ भने घरमै आमा र बहिनीलाई कथा सुनाएर बस्थ्यो ।
‘आज मलाई असल र पितृभक्त पुत्र कस्तो हुन्छ भन्ने कथा सुन्ने मन छ छोरा !’ आमाले सधैँ यसैगरी विषय छानेर कथा सुन्ने इच्छा गर्ने र छोराले सुनाउने गरेको करिब बाह्र साता बित्यो । ती बाह्र हप्तामा उसले दशओटा जति आफैले रचेका र करिब त्यत्ति नै ऐतिहासिक र पौराणिक कथा सुनाएको थियो ।
गन्तव्यले कथा सुनाउन सुरु गर्यो । “धेरै पहिलेको कुरा हो । एकादेशमा एकजना वाजश्रवश भन्ने बाहुन बस्दथे । वाजश्रवश विद्यावान्, धनवान्, गुणी र चतुर थिए । उनको करिब सात–आठ वर्षको नचिकेता नाम गरेको पुत्र थियो । शिक्षा नै जीवनको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो भन्ने सिद्धान्तलाई अंगीकार गर्दै आएको परिवारमा जन्मेको हुँदा नचिकेताले शिक्षालाई संस्कारको रूपमा प्राप्त गरेको थियो ।
ऊ मातापिताको आज्ञाकारी र अनुशासित पुत्र थियो । उसको घरमा प्रायः बौद्धिक र प्राज्ञिक बहसहरू भइरहन्थे । बालक नचिकेताको कुरा सुन्ने धैर्य र विश्लेषण गर्ने क्षमता देखेर पिता वाजश्रवश निकै प्रसन्न थिए ।
एक दिन वाजश्रवशले विश्वजित यज्ञ गर्ने अठोट गरे । नचिकेताले सोधेको थियो, ‘हे पिता, विश्वजित यज्ञ भनेको के हो ?’
पिताले भनेका थिए, ‘विश्वजित यज्ञ भनेको आफ्नो स्वामित्वमा रहेका हरेक कुरालाई दान गर्ने अनुष्ठान हो । यस्तो यज्ञ गर्ने साहस विरलैले मात्र गर्दछन् ।’
जिज्ञासु बालकले फेरि सोध्यो, ‘यो यज्ञ गर्नुको उद्देश्य के हो ? यो यज्ञ गरेर प्राप्त हुने फाइदा के हो ?’
बाबु पुत्रको प्रश्न गर्ने शैली र उत्सुकता देखेर साह्रै खुसी भए । उनले छोरालाई काखमा राखेर बडो स्नेहपूर्वक भनेका थिए, ‘यो यज्ञ गर्नुको उद्देश्य महान् त्याग हो, एक अनुपम उत्सर्ग । आफूसँग भएका सारा चिजहरू दान गरेर आफू सांसारिक पदार्थ र प्रपञ्चबाट मुक्त भई वैराग्य प्राप्त गर्नु यसको उद्देश्य हो । यो यज्ञ गर्नेले यस लोकमा यश र परलोकमा परम पद प्राप्त गर्दछ ।’
यज्ञ सुरु भयो । टाढा–टाढाबाट दान लिन इच्छुक ब्राह्मण र गरिबगुरुवाहरू आउन थाले । धनधान्यले सम्पन्न वाजश्रवशले आगन्तुकहरूलाई दान दिन सुरु गरे ।
बालक नचिकेताले पिताका हरेक गतिविधिहरूको सूक्ष्म अवलोकन गरिरहेको थियो ।
गोठमा प्रशस्त गाईहरू थिए । ऊ के देख्दछ भने पिताले त मोटाघाटा, दुधालु र भविष्यमा गर्भवती हुने सुनिश्चित भएका गाईहरू छुट्टै राख्न लगाएर अन्तिम बेत बियाइसकेका, दाँत झरेका र दुब्लाएर फुकीढल गाईहरू पो दान गरिरहेका छन् ।
‘त्यसपछि के भयो ?’ आमासँगै बसेर कथा सुनिरहेकी सोह्रवर्षे छोरी विद्रोहीले जिज्ञासा प्रकट गरी ।
‘वाजश्रवशको गोठमा एकसे एक नवयौवना कोरली र लैना गाई छन् भन्ने सुनेर दान प्राप्तिको अभिलाषाले दूर देशबाट आएका मानिसहरूको मनमा ठूलो दिलासा र उत्कण्ठा थियो ।
दान थाप्न इच्छुक बाबुको पछि लागेर आएका केटाहरूको मन पनि उमंगले ओतप्रोत थियो– अब हाम्रो घरमा पनि एउटा दुहुनु गाई हुनेछ, अब हाम्रो आँगनमा पनि एउटा सुन्दर बाछो नाच्नेछ ।
अब पोषणको अभावमा कृशकाय भएकी हजुरआमाले अमृतसमान गाईको दूधले घाँटी भिजाउन पाउनेछिन् । कुपोषित आमाका सुकेका लाम्टा चुस्न अभिशप्त बहिनी पनि गाईको दूग्धपान गरेर मोटीघाटी हुनेछ ।
फेरि त्यो गाई ब्याउनेछ, हाम्रो घरमा गोधनको वृद्धि हुनेछ । हामी पनि समाजका हुनेखाने र इज्जतदार परिवारको दर्जा प्राप्त गर्न सफल हुनेछौँ । अनि, हाम्रा पिता पनि सांसारिक सुखबाट तृप्त भएर दानी वाजश्रवशले जस्तै आफ्नो स्वामित्वमा रहेका हरेक कुरा दान गर्नेछन् ।
परन्तु, केटाहरू के देख्छन् भने वाजश्रवश त उनीहरूका पितालाई बेत पसिसकेका, लखतरान र मरन्च्याँसे वृद्ध गाईहरू दान गरिरहेका छन् । उनीहरूको सपना त चकनाचुर भयो नै, त्यसमाथि राम्रोसँग पाइला चाल्न नसक्ने लुला खुट्टा भएका गाईहरूलाई धकेल्दै र घचेट्दै लैजानुपर्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने भयो ।
बालकहरू बूढी र जीर्ण गाईहरूलाई पछाडिबाट घचेटिरहेका थिए । गाईहरू भने आफूले सारा जीवन गुजारेको प्यारो आँगनबाट बाहिर जानै मन गरिरहेका थिएनन् । दान पाउने गरिब बाहुनका आँखा रसिला भए । वाजश्रवशजस्तो नामुद मानिससँग प्रतिवाद गर्ने हिम्मत थिएन ।
उता, जीवनभरि दूध दिएर वाजश्रवशलाई ऐश्वर्यवान् बनाएका गौमाताहरूका आँखाबाट समेत आँसुका बलिन्द्र धारा बगिरहेका थिए ।
बाबुको त्यो निन्दनीय कार्य देखेर नचिकेता अत्यन्तै दुःखी भयो । आफ्नै थातवासमा मर्न उत्सुक ती निरीह गाईहरू, दुहुनु गाई दानमा पाइएला भन्ने उत्कट भावनाले टाढा टाढाबाट आएका ती अकिञ्चन बाहुन र दानकामी अन्य गरिबहरू, मनमा अनेक सुखद कल्पना गरेर उत्फुल्ल हुँदै बाबुको अनुगमन गर्दै आएका ती निर्दोष बालकहरू र निकै दानवीर भएको अभिनय गर्दै माथ ठाडो पारेर अभिमान गर्ने लोलुप पितालाई देखेर ऊ साह्रै निराश भयो ।
नचिकेता विस्तारै बाबु बसिरहेको आसनको नजिकै गयो । अत्यन्त पुत्रमोहले ग्रसित भई आफ्नो प्रतिज्ञा बिर्सेका पिता वाजश्रवशले छोरालाई काखमा राखे । उनको हृदय पुत्रस्नेहले द्रवीभूत भयो । आशक्तिको असीमित प्रभावले आफ्नो अठोट भुल्न पुगेका उनले पुत्रको तालु सुँघेर सुखानुभूति गरे ।
किन्तु, पुत्रलाई त्यो असीम पितृस्नेहको कुनै प्रभाव परेन । घृणा गर्नु त आफ्नै पिता हुन्, स्नेह गर्नु त त्यो दुर्जनता ! नचिकेताले दान गरिसकेका तर आँगन छाडेर जान नमानिरहेका टिठलाग्दा गाईहरू र मौन बसेर अश्रुपात गरिरहेका ब्राह्मणहरूतर्फ देखाउँदै सोधेको थियो, ‘हे पिता, यो म के देख्दै छु ? यिनै गाईहरूको दूध खाएर म हुर्केको हो कि होइन ? यिनै गोधनको आडमा तपाईंको प्रतिष्ठा कायम भएको हो कि होइन ? आज यिनै गाईहरू कमजोर र अनुत्पादक भए भनेर खेदेर पठाउन लाग्नुभयो ।
हेर्नुहोस् त, ती दरिद्र ब्राह्मणहरू कसरी रोइरहेका छन् । ती गोमाताहरूको आँखाबाट बगिरहेको आँसुलाई हेर्नुहोस् त प्यारो पिता । अनि, ती निर्दोष बालकहरूमा तपाईंले प्रहार गरेको कुठारबाट लागेको मानसिक चोट देख्न सक्नुहुन्छ ? अनि, ती गोठभरि रहेका नवयौवना कोरली र अन्य दुधालु गाईहरू दान गर्नु पर्दैन ?’
पुत्रको कुरा सुनेपछि पिताले भने, ‘ती नवयौवना र दुधालु लैना गाईहरू तेरा लागि साँचेर राखेको हो मैले । मलाई तेरो भविष्यको चिन्ता छ । आफ्नो सन्तानको भविष्य सुनौलो बनाउनु प्रत्येक पिताको कर्तव्य हो ।’
पिताको तर्कले नचिकेताको चित्तलाई शान्त पार्न सकेन । उसले फेरि सोध्यो, ‘विश्वजित यज्ञमा आफ्नो स्वामित्वभित्रका सबै कुरा दान गर्नुपर्छ भन्ने कुरा मैले तपाईंबाटै थाहा पाएको हुँ । पुत्र भएको नाताले म पनि तपाईंको स्वामित्वमा छु र दान हुने वस्तुमा पर्छु । जब म नै दान भएर जाँदै छु भने ती मेरा लागि भनेर राखेका गाईको के प्रयोजन ? बरु भन्नुहोस्, मलाई दान गरेर कसलाई दिने विचार गर्नुभएको छ ?’
पिताले स्नेहपूर्वक भने, ‘तेरो यस्ता कुरा सोच्ने र सोध्ने बेला भएकै छैन । म प्यारो पुत्रलाई दान गरेर पठाउने छैन ।’ उनी अज्ञानी बालकको कुरा के सुन्नु भनेर आफ्नो काममा लागे ।
नचिकेताको मनमा तुफान उठिरहेको थियो– आज यो के गर्दै छन् मेरा पिता ? यो तरिकाले त यिनको यो लोकमा अपयश फैलिने मात्र होइन, परलोक समेत बरबाद हुने भयो । जब दान गर्नु थिएन त विश्वजित यज्ञको अनुष्ठान गर्नुको के अर्थ ?
ऊ फेरि पिताको नजिक गएर उभियो । ‘हे पिता, मलाई कसलाई दान दिएर पठाउनुहुन्छ ?’
पिताले नसुनेको बहाना गरेको देखेर नचिकेताले फेरि सोध्यो, ‘मलाई कसलाई दान दिने विचार छ ? म जहाँ पठाए पनि जान तयार छु ।’
छोराले अविरल त्यही प्रश्न गर्न थालेपछि वाजश्रवशलाई साह्रै रिस उठ्यो । क्रोधको उन्मादमा सहसा उनको मुखबाट निस्क्यो, ‘म तँलाई मृत्युकहाँ दान दिएर पठाउँछु ।’”
“अहो, कस्तो मन छुने र हृदय रुने कथा ! ती वाजश्रवश ब्राह्मण त हाम्रो बाबा कमरेड भवसागरजस्तै रहेछन् दादा,” विद्रोहीले बीचैमा भनेकी थिई ।
आमा सुधिरा, “के भन्छे यो ? आफ्नो बाबालाई त्यस्तो फटाहा वाजश्रवशसँग तुलना गर्ने हो ? तेरो यो लुलो हात बनाउन कति खर्च भयो थाहा छ ?”
विद्रोही, “मेरो अपांगता मैले रोजेर लिएको होइन आमा । अर्को कुरा, मेरो जन्म पनि मैले रोजेर भएको होइन । मेरो काबुभन्दा बाहिरको र संयोगले भएको घटनामा मेरो जिम्मेवारी छैन । यो अपांगताले म आफै दुःखी छु । आज खर्चको कुरा गरेर मेरो कहिल्यै सन्चो नहुने घाउमा खुर्सानी दलिदिने काम गर्नुभयो । बाबाले त बारम्बार ‘यो लुलीको स्याहार गर्दै जिन्दगी जाने भयो’ भनिरहनुहुन्छ । आज तपाईं पनि त्यसको मतियार हुनुभयो । छोरा र छोरीमा फरक व्यवहार गर्ने मातापिता पनि साम्यवादी रे ! म अब सानी र अबुझ छैन आमा । हात लुलो भए तापनि मेरो हृदय लुलो छैन । मेरो छाती मेरा पिता कमरेड भवसागरको भन्दा दरो छ । सर्वहारा भनेको के हो थाहा छ ?”
सुधीरा, “सर्वहारा भनेको सबैथोक खोसिएको, सबैथोक गुमाएको, शोषण, वञ्चना र उत्पीडनमा परेको जुनसुकै व्यक्ति हो ।”
विद्रोही, “साम्यवाद भनेको के हो ?”
सुधीरा, “सबै बराबर हुने अवस्था । त्यहाँ कोही पनि शोषित हुँदैन । गरिबी, शोषण र उत्पीडनबाट मुक्ति नै साम्यवाद हो ।”
विद्रोही, “हाम्रो परिवार पनि सर्वहारा हो ?”
सुधीरा, “केही वर्षअघिसम्म हामी पनि सर्वहारा थियौँ ।”
विद्रोही, “हामीले मुक्ति पायौँ होइन त आमा ? हाम्रो बाबाले सर्वहारालाई शोषण, पीडन र वञ्चनाबाट मुक्ति दिनुभयो । होइन त ?”
गन्तव्य, “हामीले यस्ता कुरामा आमासँग बहस गर्न हुँदैन विद्रोही । आमाले सर्वहारा, क्रान्ति, साम्यवाद र मुक्तिजस्ता कुराबारे पाल्तु सुगालेजस्तै मात्र भन्न सक्नुहुन्छ । एकजनाले सुगा पालेको थियो । उसले त्यो सुगालाई ‘सीताराम, रामराम र कुरीकुरी’ यति तीन शब्द मात्र सिकाएको थियो । सुगाले कोही पाहुना आउँदा सीताराम भन्थ्यो र बिदा भएर जाने बेलामा रामराम । उसले बालबालिका देख्नेबित्तिकै कुरीकुरी भनेर जिस्क्याउँथ्यो । मानिसहरू त्यो सुगालाई बडो विद्वान्जस्तो मानेर प्रशंसा गर्थे । यहाँ धेरै कम्युनिस्ट नेताहरूले सर्वहारा, शोषण, उत्पीडन, सामन्ती, विस्तारवाद, साम्यवाद र मुक्तिजस्ता शब्द मात्र जानेका छन् । त्यति शब्द भन्न जानेबापत वामपन्थी विचारकको बिल्ला भिरेका पनि धेरै छन् यहाँ । त्यस्ता धेरैजना देश हाँक्ने ठूलाठूला पदमा पुगिसके । आज मैले आफूलाई त्यही सुगाले कुरीकुरी भनेर जिस्क्याउने गरेको किशोरजस्तै महसुस गरिरहेको छु ।”
विद्रोही, “किन नि दादा ?”
गन्तव्य, “हेर विद्रोही, आमा हाम्रो बाबाले पिँजरामा थुनेर राखेको सुगाजस्तै हो । बाबाले जे भन्नुभयो, आमाले त्यसैलाई सत्य ठान्नुभयो । त्यसैले त आमाको नाम सुधीरा हो । कम्युनिस्ट विचार राख्ने व्यक्तिहरू सत्तामा नपुग्दासम्म सही अर्थमा विद्रोही हुन्छन् । उनीहरूलाई के गरौँ र कसो गरौँ भन्ने हुटहुटी हुन्छ । हाम्रो बाबा पनि कुनै समयमा वास्तविक कम्युनिस्ट हुनुहुन्थ्यो । त्यही उन्मादमा बाबाले मेरो नाम गन्तव्य र तिम्रो विद्रोही राख्नुभयो । एउटा कुरा तिमीले बुझ्न सकिनौ विद्रोही । वास्तवमा बाबाले तिमीलाई निकै माया गर्नुहुन्छ । किन्तु, उहाँमा पैसाको अभिमान सवार भएको छ । भित्री मनमा कतै लुकेर बसेको अहंकार तिम्रो उपचारमा खर्च भएको रकमको रूपमा प्रकट भएको मात्र हो । हाम्रो बाबाले कमाएको धन परिश्रमको आम्दानी होइन विद्रोही । उहाँले आफ्नो विद्रोहकालमा जनतासँग गरेको कबुल बिर्सनुभयो । उहाँले आफूलाई उचालेर माथिसम्म पुर्याउने जनतालाई धोका दिनुभयो । जनतालाई जे दिऊँला भनेर कबुल गर्नुभएको थियो, त्यो सबै आफैसँग राख्नुभयो । उहाँले पनि वाजश्रवश ब्राह्मणले जस्तै प्रतिज्ञा भुल्नुभयो । उहाँ पनि आफ्नै सन्तानलाई धनी र विलासी बनाउने ध्याउन्नमा प्रवृत्त हुनुभयो । हाम्रो बाबा नातावाद, कृपावाद, मित्रवाद, गुटवाद, भौतिक सुखवाद र सर्वोपरि कुरा पुत्रमोहमा डुब्नुभयो । हाम्रो बाबाको गन्तव्य बदलियो ।”
सुधीरा, “कथा भन्दाभन्दै कहाँ–कहाँ पुग्छ यो । त्यसपछि के भयो ? के वाजश्रवशले वास्तवमै पुत्र नचिकेतालाई मृत्युलाई दान दिएर पठाए ?”
गन्तव्य, “यी बीचबीचमा घुसेका कुरा पनि त्यही कथाकै अंश हुन् आमा । पिताको कुरा सुनेर नचिकेता आश्चर्यचकित भयो । परन्तु, पिता भनेका पिता हुन् । ऊ पिताको वचन खेर जान दिने पक्षमा थिएन । क्रोधको आवेगमा बोल्नै नहुने शब्द बोल्न पुगेका वाजश्रवशलाई अत्यन्तै पश्चात्ताप भयो । उनले बालक पुत्रसँग क्षमा मागे । परन्तु, नचिकेता आफ्नो पिताको प्रतिष्ठामा थप हानि हुन दिने पक्षमा थिएन । ऊ बारम्बार प्रतिज्ञा गर्दै र त्यसबाट विमुख हुँदै जाने लबस्तरो पिताको पुत्र भन्ने परिचय बोकेर जिउन चाहँदैनथ्यो । ऊ सरासर यमलोक पुगेर मृत्युका देवता यमराज बस्ने भवनको द्वारमा खडा भयो । यमराज घरमा थिएनन् । उनी तीन दिनका लागि कतै गएका थिए ।
यम भवनका द्वारपालहरूले नचिकेतालाई फिर्ता पठाउने प्रयास गरे, किन्तु उसले मानेन । केही सीप नलागेर उनीहरूले नाचिकेतालाई खानेकुरा र पानी दिए । तर, नचिकेताले ऊ यमराजकहाँ दान भएर आएको र यमराज नै उसका स्वामी भएको हुँदा स्वामीको आदेश नहुँदासम्म कतै नजाने र पानी पनि नपिउने प्रतिज्ञा गरेर त्यहीँ द्वारमा सत्याग्रह गरेर बस्यो ।
तीन दिनपछि घर फर्केर आएका यमराज बालक नचिकेताको कुरा सुनेर अत्यन्त प्रभावित भए । यमराजले भने, ‘हे बालक, तिमीले तीन अहोरात्रसम्म पानी पनि नखाई मेरो प्रतीक्षा गरेर बसेको थाहा पाउँदा म अत्यन्त प्रभावित भएको छु । म तिमीलाई तीन वरदान दिन्छु । जे माग्ने इच्छा छ माग ।’ ...।”
आज अचम्म भयो । कमरेड भवसागर दशै बजे घर आइपुगे । अब उनको जीवनको परम लक्ष्य छोरो गन्तव्यलाई नेपालकै सबैभन्दा प्रख्यात डाक्टर बनाउने थियो । उनले भने, “अब त तेरो रिजल्ट प्रकाशन हुने बेला पनि हुन लागिसक्यो । म कामको आतुरीले गर्दा दिनभरि घरमा बस्न पाउँदिनँ । अहिलेसम्म के–के पढिस् ?”
गन्तव्य, “यो तीन महिनामा मैले धेरै अध्ययन गरेँ बाबा । मैले उपनिषद् पढेँ । प्राचीन वैदिक, ग्रीक र रोमन सभ्यता पढेँ । कार्ल मार्क्सको पुँजी र कम्युनिस्ट घोषणापत्र पढेँ । विश्वप्रसिद्ध केही साहित्यिक कृति पढेँ । फ्रान्स, अमेरिका, रुस र चीनको क्रान्ति पढेँ । तर, आज भने मैले केही पढिनँ ! आज म ढुंगा हान्ने कार्यक्रममा गएँ बाबा ।”
छोराको कुरा सुनेर कमरेड भवसागर हतप्रभ भए । “तँलाई कसले ढुंगा हान्न पठायो ?”
गन्तव्य, “तपाईंले ।”
कमरेड भवसागरले छोराको गालामा एक थप्पड हाने । गन्तव्य गाला मुसार्दै मुस्कुरायो । “हो बाबा तपाईंले ! आज तपाईंको पार्टीले आह्वान गरेको ढुंगा हान्ने कार्यक्रम थियो । हो कि होइन ? त्यहाँ जुम्ला, दार्चुला, सल्यान, कपिलवस्तु, झापा, सिन्धुली र ताप्लेजुङसम्मका किशोरकिशोरी तपाईंहरूको आह्वानलाई सिरोपर गरेर ढुंगा हान्न आएका थिए । दुनियाँका छोराछोरी मेरो पिताको आह्वानलाई सम्मान गरेर आएको कार्यक्रममा म नै नजानु पिताको अपमान हो भन्ने ठानेर म पनि गएँ ।”
कमरेड भवसागर, “त्यो त राजनीतिको एउटा अंग पो हो । हेर् छोरा, आफ्नो सन्तानको भविष्य बिगार्न को चाहन्छ ? मेरा अन्य कमरेडहरू पनि आफ्ना सन्तानको भविष्य सपार्नेतर्फ नै लागेका छन् । अरू पार्टीका नेताले पनि कसैले भारतीय दूतावास, कसैले चिनियाँ दूतावास, कसैले अमेरिका, कसैले बेलायत रिझाएर र कसैले नेपालकै नामुद कलेजलाई थर्काएर आफ्ना सन्तान पढाएका छन् ।”
गन्तव्य, “ल अब तपाईंको भाषणको अडियो सुन्नुहोस् बाबा ।”
अडियो बज्न थाल्यो, ‘उपस्थित आदरणीय जनसमुदायहरू, तपाईंका सन्ततिहरू हाम्रो भविष्यका सपना हुन् । सामन्तवादले लागु गरेको शिक्षा पद्धति बेरोजगार उत्पादन गर्ने कारखाना हो । त्यस्तो शिक्षा दिएर केही फाइदा छैन...।’
कमरेड भवसागर, “यो राजनीति हो । राजनीतिमा यस्तो सबै चल्छ । तँलाई यी सबै लफडामा लाग्न कसले सिकायो हँ ? म जे गर्दै छु सबै तेरो भविष्यको लागि गर्दै छु ।”
गन्तव्य, “शान्ति बाबा शान्ति ! म ढुंगा हान्न गएको थिइनँ । मैले त तपाईंको प्रवृत्तिको कुरा मात्र गरेको हुँ । म ढुंगा बर्साएर सार्वजनिक सम्पत्तिको सर्वनाश गर्ने प्रवृत्तिको विरोधी हुँ । परन्तु हेर्नुहोला, यहाँ एउटा विद्रोह हुनेछ र त्यो तपाईंहरूको विरुद्धमा हुनेछ । जब त्यो विद्रोह सफल हुनेछ, हामी कुलांगार र देशद्रोही बाबुका सन्तानका रूपमा कहलिनेछौँ । आज सदाभन्दा छिटो घर आउनुभएको छ र शुक्रबार पनि हो । बरु, नचितेकेताको कथा सुन्नुहोस् ।”
कमरेड भवसागर, “को हो त्यो ?”
गन्तव्य, “यमराजको वचन सुनेर नचिकेता अत्यन्तै प्रसन्न भयो । उसले पहिलो वरदान पितृपरितोष माग्यो । ‘मेरा पिता मसँग सदासर्वदा प्रसन्न रहून्, क्रोधहीन होऊन् र मलाई पूर्ववत् माया गरून् ।’ नचिकेताको कुरा सुनेर यमराज आश्चर्यचकित भए । उनले भने, ‘तिमी आफूलाई मृत्युलोक पठाउने पिताको परितोष माग्दै छौ ?’
नचिकेता, ‘म त्यही माग्दै छु प्रभु । हो, मलाई मेरो पिताको प्रवृत्ति मन परेन । परन्तु, उनी मेरा पिता हुन् । विद्रोह गर्नु त कसरी गर्नु ? मेरा पिता कमसल छन् भनेर कसलाई कसरी सुनाउनु ? बाबुको प्रवृत्ति गलत छ भन्दै कहाँ जाने ? यस्तो विकल्पहीन नाता जो बदल्न सकिन्न । यस्तो वेदना जो बाँड्न सकिन्न । यस्तो आँसु जो चुहाउन सकिन्न । यस्तो घृणा जो व्यक्त गर्न सकिन्न । रगतको यस्तो नाता जो साट्न मिल्दैन । यस्तो भाग्य जो फेर्न मिल्दैन । सड्न थालेको यस्तो अन्न जसलाई बिस्कुन बनाएर घाममा सुकाउन मिल्दैन । विधिको यस्तो विधान जसको अर्को विकल्प छैन ।
यमराजले नचिकेतालाई अविरल हेरिरहे । उनलाई गलत कुरामा प्रवृत्त भएको बाबुको सज्जन छोराको अवस्था कस्तो हुन्छ भन्ने महसुस भयो । उनले बालकको शिरमा हात राखेर भने, ‘तथास्तु ।’
फेरि नचिकेताले भन्यो, ‘हे प्रभु, स्वर्गलोकमा भय, रोग, वृद्धावस्था, दुःख, मृत्यु र शोक हुँदैन रे ! मेरो पृथ्वीलाई पनि त्यस्तै बनाइदिनुहोस् ।’
बालकको लोककल्याणकारी सोच देखेर यमराज निकै खुसी भए । उनले नचिकेतालाई स्वर्गमा जस्तै सुख दिने साधन अग्निविज्ञानको वरदान दिए, ‘तर, मर्त्यलोक कर्मभूमि भएको हुँदा स्वर्गमा झैँ बसीबसी खान मिल्दैन । मनुष्यले कर्म गर्नुपर्छ ।’”
कमरेड भवसागर, “मलाई तेरो भविष्यको चिन्ता लाग्न थाल्यो छोरा । तेरो भविष्य बरबाद हुने भयो । मेरो सपना बरबाद हुने भयो ।”
गन्तव्य, “तपाईंको सपना के हो बाबा ?”
कमरेड भवसागर, “तँलाई विदेशको सबैभन्दा राम्रो विश्वविद्यालयमा पढाएर विश्वप्रसिद्ध डाक्टर बनाउने ।”
गन्तव्य, “बाबा मलाई तपाईंको असाध्यै माया लाग्छ । म चाहन्छु कि मैले मेरो पिताको नाम लिँदा छाती गर्वले फुलोस् । यो दोहोरो चरित्रको जीवनले शान्तिसँग बाँच्न दिँदैन बाबा ! सार्वजनिक रूपमा एउटा सपना बाँड्नुहुन्छ, पारिवारिक जीवनमा अर्कै । यस्तो पाखण्ड गर्दा असहज लाग्दैन बाबा ? मलाई कुनै विश्वप्रसिद्ध डाक्टर बन्नु छैन । तपाईंले मेरो नाम गन्तव्य र बहिनीको नाम विद्रोही राख्नुभयो । त्यस बेला तपाईंको गन्तव्य समाजवाद थियो । तपाईं भन्नुहुन्थ्यो, ‘त्यो प्राप्त गर्न विद्रोह गर्नुपर्छ ।’ तपाईंले आफ्नो गन्तव्य बिर्सनुभयो बाबा ।”
छोराको कुरा सुनेर कमरेड भवसागर मर्माहत भए । उनले भनेका थिए, “मेरो पार्टी र अन्य सबै पार्टीका सिनियरहरूले श्रीमती, छोराछोरी, मावली, ससुराली र मित्रका सन्तानलाई समेत उँभो लगाउने प्रतिस्पर्धा गरिरहेका छन् । बाहिर लडेको देखिए तापनि एकान्तमा भेट हुँदा उनीहरू भन्ने गर्छन्, ‘अब देशको लागि केही गर्न नसकिने भयो । देशको लागि केही गर्न नसक्ने भएपछि कमसेकम सन्तान र कुटुम्बको भलो गर्नुपर्छ । मैले कतै पढेको थिएँ, ‘गरिब भएर जन्मनु खराब कुरा होइन, तर गरिब रहेरै मर्नु खराब हो । म गरिब घरमा जन्मेँ र गरिबीमै हुर्केँ । तेरो सौभाग्यले आज यति राम्रो घरमा बस्न पाएको छस् । के खाऊँ के लाऊँ भन्ने समस्या छैन । अरू सबै नेताका छोराछोरी खुसीले गद्गद छन् । तँ भने मेरै खोइरो खन्छस् ।”
गन्तव्यले बाबुको विवश अनुहारमा हेर्यो । त्यहाँ कुनै कमरेडी तेज र प्रताप थिएन । त्यहाँ कुनै आभा, ओज र चमक थिएन । दोहोरो चरित्रको दास भएको मुहार प्रभाहीन र कान्तिहीन देखिन्थ्यो ।
उसले भनेको थियो, “बाबाले भनेको कुरा ठिकै होला । परन्तु, जसरी वाजश्रवश ब्राह्मणले पुत्रमोहको पासोमा परेर आफ्नो प्रतिज्ञा र गन्तव्य बिर्सेका थिए, त्यसैगरी तपाईंले पनि आफ्नो कर्तव्य बिर्सनुभयो । अब म संगठन गर्छु बाबा ! यस्तो संगठन जसले वास्तविक विद्रोह गरेर राष्ट्रको गन्तव्य तय गर्नेछ ।”
छोराका प्रत्येक शब्दहरू तीखा वाण बनेर कमरेडको हृदयमा धसिए । प्रत्येक लान्छनाहरूले धारिलो कुठार बनेर छातीमा हानिरहे । उनलाई साह्रै दिग्दार लाग्यो । रिसको झोकमा उनले भनेका थिए, “कमरेड महानिशा र झञ्झावातका छोराहरूले पनि विद्रोहको धम्की दिएका थिए । तर, अहिले अमेरिका पुगेर मोज गरिरहेका छन् । तँलाई मैले कमाएको भात लागेको हो । ठूलो घरमा बस्न पाएको छस् । महँगा किताब किनेर पढ्न पाएको छस् । मेरो अगाडि फुर्ती लाउनु पर्दैन ।”
गन्तव्यले भन्यो, “तपाईं मेरो पिता हुनुहुन्छ । जस्तोसुकै भए तापनि पिता पूज्य नै हुन्छ । उपनिषद्मा ‘अमृतस्य पुत्राः’ भनिएको छ । पिता पुत्रको रूपमा जन्म लिएर अमर बन्दछ । परन्तु, म मेरो इच्छाले तपाईंको घरमा जन्मेको होइन बाबा । मेरो जन्म मेरो काबुभन्दा बाहिरको घटना हो । जुन कुरामा मेरो भूमिका नै थिएन, त्यस कुरामा न त प्रफुल्ल हुनुको तुक छ न त दुःखी हुनुको नै । एउटा राजाको छोरा भएर जन्मनु गुण होइन, संयोग हो । एउटा दरिद्रको घरमा जन्मनु पनि कुनै दुर्गुण नभई संयोग मात्र हो । तथापि, जन्मले धेरै मात्रामा भाग्य या दुर्भाग्यको मार्ग तय गर्दछ । हो, मलाई खाने लाउने सुविधा छ । राम्रो घरमा बस्छु । तर, यो देशका मजस्ता कति किशोरकिशोरीहरू यस्तो घरमा बस्छन् ? मलाई सुविधासम्पन्न घरमा बस्न पाएकोमा कुनै गर्व छैन बाबा । जहाँसम्म किताब पढ्ने कुरा छ, तपाईं पढ्दै नपढीकन नेता हुनुभयो । त्यसको क्षतिपूर्ति म पढेर गर्दै छु ।”
गन्तव्यले राजनीतिक नेताका छोरानातिहरूलाई भेटेर आफ्नो कुरा राख्यो । उसले सबैलाई भनेको थियो, “अब हामीले घरबाटै विद्रोह गर्नुपर्छ ।” केटाहरूले उसको समर्थन गरे ।
“अब एउटा संगठन गर्नुपर्छ । हामीले यस्तो सन्देश दिनुपर्छ कि अब नेपालको कुनै पनि उच्चपदस्थ व्यक्तिको सन्तानले सदाचार पालन नगर्ने मातापिताको तिरस्कार गर्नेछ ।” केटाहरूले निरन्तर मिटिङ गर्न थाले ।
कमरेड भवसागर र गन्तव्यको बोलचाल बन्द भएको एक महिना पुगिसकेको थियो, तापनि पिताले पुत्रको प्रत्येक गतिविधिको सूक्ष्म अवलोकन गरिरहेका थिए ।
एक दिन विद्रोह गर्न तम्सिएका नवयुवकहरूका पिताहरूको बहुदलीय गोप्य बैठक बस्यो । त्यहाँ आपसमा विरोध गर्दै हिँड्ने सबै प्रमुख नेताहरूको उपस्थिति थियो । उनीहरूले सर्वसम्मतिबाट एउटा निर्णय गरे ।
उता, युवकहरूको भेटघाट पनि निरन्तर चलिरह्यो । उनीहरूको समूह बृहत् हुँदै गयो । ‘बडो राम्रो काममा लाग्नुभएछ’ भन्दै अपरिचित युवायुवतीहरू पनि बैठकमा आउन थाले । त्यहाँ विद्रोहका कुरा हुन्थे । गन्तव्यका कुरा हुन्थे । त्यही तातो बहसबीच युवतीहरूले चिसो बियर सर्भ गर्न थाले ।
दुई–चार दिनसम्म त गन्तव्यलगायत केही युवकले बियर पिउनमा चाख दिएनन् । किन्तु, युवतीहरूको हाउभाउ, कटाक्ष र सुमधुर मुस्कानले सबैलाई मोहित बनायो । इन्द्रले पठाएकी मेनकालाई देख्दा जसरी ऋषि विश्वामित्र कामुक बनेका थिए, त्यस्तै हालत भयो विद्रोहीहरूको ।
बैठकहरू बसिरहे । छलफल भइरहे । योजना बनिरहे । अनि, बोतलहरू आइरहे । सिगरेटहरू सल्किरहे । प्रेमोन्मादहरू भइरहे । बैठकीय जीवन मनमोहक र रमणीय बनिरह्यो ।
एउटा यस्तो नशा, जसले गन्तव्यको मार्ग मोडिएको पत्तै नपाउने बनाइदियो । ती विश्वामित्र त तपस्याको बीचमा विचलित भएका थिए, परन्तु यी विश्वामित्रहरू त तपस्या गर्न वनमा नपुग्दै बाटोमै विचलित भए ।
ऊ विश्वामित्रलाई विचलित पार्ने एकजना मात्र इन्द्र थियो, किन्तु यी विश्वामित्रलाई विचलित पार्ने इन्द्रहरूको संख्या ठूलो । गन्तव्य टन्न बियर खाएर साँझ अबेर घर पुग्न थाल्यो । बाबुछोरा लगभग सँगै घर पुग्थे । कमरेड भवसागर मदमस्त छोरालाई देखेर दंग पर्थे ।
एक दिनको कुरा हो । त्यो दिन विशेष रमाइलो भयो । खानपान र प्रेमालापको अन्त्यमा युवतीहरूले सबैलाई सावधान गराए । उन्मत्त अवस्थामै बैठक बस्यो । एकजना युवती उठेर बडो गम्भीर स्वरमा भनिन्, “साथीहरू, हामीसँग भएको सबै पैसा सकियो । अब हुने बैठकमा तपाईंहरूले नै खर्च गर्नुपर्छ ।”
प्रस्ताव सर्वसम्मतिले पारित भयो । गन्तव्य राति अबेर घर पुग्यो । बहिनी विद्रोही उसलाई कुरेर बसिरहेकी थिई । आमा सुधीराले कथा सुन्न नपाएको दश हप्ता पुगेछ । मदोन्मत्त गन्तव्य केही नबोली सोफामा बसिरह्यो । बहिनी विद्रोही दाजुतर्फ हेर्दै अविरल रोइरही । ऊ केही पनि बोलिन । बोल्ने प्रयोजन समाप्त भएको थियो ।
केही समयपछि कमरेड पनि आइपुगे । पितापुत्रको बोलचाल फुकेको थिएन, तापनि उनी छोराको सामुन्नेमा गएर बसे । अकस्मात् गन्तव्यको मुखबाट निस्क्यो, “अभिवादन ड्याड !”
कमरेड भवसागर छोरालाई अंगालो हालेर रोए । गन्तव्यले बाबुको आँसु पुछिदियो । उसले भनेको थियो, “म ठूलो भूलमा थिएँ ड्याड ! मलाई माफ गर्नुहोस् । अब मैले सबै कुरा बुझेँ । बरु, एउटा कुरा गर्नु थियो ।”
कमरेड भवसागर आज गद्गद थिए । उनलाई थाहा थियो, प्रिय पुत्र के माग्दै छ । उनले भने, “भन् छोरा, तेरो हरेक इच्छा पूरा गर्न कमरेड भवसागर सक्षम र तत्पर छ ।”
गन्तव्यले भनेको थियो, “ड्याड, मलाई मिटिङ खर्च चाहिन्छ ।”
कमरेड भवसागरको हर्षको सीमा थिएन । उनले भनेका थिए, “क्याबात छोरा ! आउने चुनावमा तँ मेयर बन्नुपर्छ ।”
विद्रोहीले चुपचाप कमरेड भवसागर र कमरेड गन्तव्यको ‘समाजवाद’ सुनिरही । त्यो रात उसलाई फिटिक्कै निद्रा लागेन । विद्रोहीले रुँदै रातभरि लगाएर एउटा सुन्दर कथा लेखी । कथाको शीर्षक थियो, ‘जितेको शुद्धोदन र हारेको सिद्धार्थ’ ।
विद्रोही गन्तव्यको नशा उत्रेको समय छोपेर यो कथा सुनाउने प्रतीक्षा गरिरहेकी छे ।