महाभारतमा त द्रोणाचार्यले चक्रव्यूह रचेका थिए युधीष्ठिरलाई बन्दी बनाउन । नियतिले अभिमन्युको बध गरायो । नेपालको निर्वाचनमा भने शिखण्डीहरू आफैँ अगाडि सरेर युद्धको नेतृत्व गर्न लागेका छन् । बार्बरिक कतै छन् भने तमासा हेर्दै होलान् ।
संसदीय चुनावकाे घोषणा नहुँदै सामाजिक सञ्जालमा एउटा सन्देश व्यापक भएको थियो । पूर्वप्रधानमन्त्रीहरूको तस्बिर राखेर आगामी निर्वाचनमा हराउनै पर्ने व्यक्तिहरूका रूपमा चित्रित गरिएको थियो । पछि त्यसमा थुप्रै नाम थपेर हराउनै पर्नेहरूकाे सूची निकै लामाे बनाइएको छ ।
सामाजिक सञ्जालमै ती कथित ‘वरिष्ठ’ले निर्वाचनै नलडे बेस हुन्थ्यो भन्ने भावका सन्देश पनि सम्प्रेषण गरिएका छन् । उनीहरूमध्ये कसैले यो आग्रह मान्लान् भनेर पत्याउन त के अपेक्षा गर्न पनि सकिँदैन । अहिलेसम्मको अनुभवले सत्ताको लोभ तिनमा बढी नै छ र मात्राकाे फरकमात्रै हो भ्रष्टाचार र बेथितिमा पनि ती सबैकाे संलग्नता छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नेपाली जनतामा अपेक्षा बढी नै रहेछ । नेपालकाे संविधान, २०७२ जारी भएपछि सत्तामा पुगेका खड्गप्रसाद ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवा भने जनअपेक्षाप्रति इमानदार हुन सकेनन् । यद्यपि, उनीहरू यो मुलुक आफ्नो कारणबाट मात्र चलेकाे ठान्छन् ।
ओली र दाहाल मुखररूपमै नेपालकाे एकल ‘ध्रुव’ आफू नै भएकाे दाबी सार्वजनिकरूपमै गर्छन् भने देउवा धेरै बकबक गर्दैनन् । यिनमा फरक यत्ति हो । हराउनै पर्ने सूचीमा राखिएका अरू पनि देशका लागि बोझ नै मानिएका छन् । सम्भवतः देशललाई नयाँ युगमा प्रवेश गराउन यिनलाई चुनावमा हराउनु उत्तम उपाय हो ।
त्यसो त पक्कै पनि यिनलाई हराउन सजिलो छैन । सामाजिक सञ्जालमा अभियान चलाउनेहरूले पनि यति त पक्कै बुझेकै होलान् । उनीहरू बेग्लाबेग्लै दलका नेता भएकाले राजनीतिक कार्यकर्ताहरू तिनलाई हराउनुपर्छ भन्नेमा एकमत पक्कै हुँदैनन् । नेपाली समाज राजनीतिकरूपमा बढी नै विभाजित पनि छ । यसैले राजनीतिक सिद्धान्त र समूह निरपेक्ष यस्तो अभियान चलाउन सम्भव देखिँदैन ।
यसको झल्को पनि सामाजिक सञ्जालमै देखिन थालेको छ । ‘तिनलाई हराउँदैमा सबै विकृति सकिन्छ र ?’ भन्ने प्रश्न गर्न थालिएको छ । पक्कै पनि एकै चुनावमा विकृतिका सबै वाहकलाई बढार्न सम्भव हुँदैन । प्रश्न गर्नेहरूको नियतमा शङ्का त नगरौँ तर तिनलाई चुनावमा हराउन पर्छ भन्नेहरूकाे प्रकारान्तरले तेजोबध पर्ने प्रयास भने हो ।
यस प्रश्नकाे अन्तर्यमा देउवा, ओली, दाहालप्रवृतिले चुनाव नहारून् भन्ने कामना त लुकेकाे छैन ? देउवा, दाहाल वा ओलीहरूका पक्षमा उभिने आँट नभएर त उनीहरूका विपक्षमा चल्नसक्ने अभियानको भूण हत्या गर्न तम्सेका पो हुन् कि ? यस्ता प्रश्नहरू सहजै खडा हुन्छन् तर तिनको उत्तर भने सजिलै पाइँदैन ।
विकृतिका वाहक मानिएका नेताहरू नभएर संघीय लोकतान्त्रिक गणतन्त्र नै खराब हो भन्ने साबित गर्ने खोज्ने अर्को एउटा समूह पनि सामाजिक सञ्जालमा निकै सक्रिय छ । त्यस समूहका पक्षधरहरू संघीयता, धर्मनिरपेक्षतामा आक्रमण गरेर गणतन्त्रलाई चोट पुर्याउन चाहन्छन् ।
तीमध्ये कतिपय पहिले ‘हिन्दु राज्य’ को माग गर्थे । पछि तिनीहरू ‘हिन्दु अधिराज्य’ भन्न थालेका छन् । संघीयता खर्चिलो भयो खारेज गर्नुपर्छ भन्ने तर्क दिनेहरू पनि ‘एकल’ राज्यको वकालत भने लुकेर गर्छन् । उनीहरू व्यक्तिका बदमासीका लागि व्यवस्थालाई दोष दिन्छन् र जनतालाई दिग्भ्रमित बनाउन खाेज्छन् ।
‘बदनाम अनुहार’हरूलाई हराउनुपर्छ भन्नेमध्ये धेरै व्यवस्थाका विरुद्धमा छैनन् भने तिनले हार्दैमा फरक पर्दैन भन्नेहरू चाहिँ व्यवस्थाकै विरुद्ध छन् । उनीहरूकाे लागेपुगे नेपाललाई फेरि ‘एकतन्त्रीय हिन्दु अधिराज्य’ बनाउन चाहन्छन् । ती ‘शिखण्डी’हरूलाई लाग्दो हो अनुहार लुकाइएकै छ । कसैले थाहा कसरी पाउला र?
लोकतन्त्रमा अलग्ग विचार राख्नु र जन समर्थन जुटाउन खाेज्नु अनौठो अभ्यास हुँदैन । अपराध त झन् हुँदै होइन । राष्ट्रिय प्रजातन्त्र पार्टीले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरोध गरेकै छ त । राप्रपालाई त कसैले शिखण्डी भन्दैन । तर, आफूलाई लोकतन्त्रवादी पनि भन्नुपर्ने अनि लोकतन्त्रका मर्ममा प्रहार पनि गर्नेलाई भने शिखण्डी भन्नै पर्छ ।
यही शिखण्डी समूह आफूमात्र देशभक्त भएको हुँकार गर्छ । तराई मूलका बासिन्दाको राष्ट्रभक्तिमा अविश्वास फैलाउँछ, छोरी र छोराकाे देशभक्तिमा फरक देख्छ अनि आफूलाई प्रगतिशील एवं लोकतन्त्रवादी भएको दाबी गर्छ । सामाजिक सञ्जालहरूको व्यवस्थित अध्ययन गरे देखिनेछ - संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता विरोधी नै तराईवासीविरूद्ध विष बमन गर्नेहरू हुन् ।
यी कथित ‘राष्ट्रवादी’हरू नेपाल भनेको मेची- महाकाली, हिमाल - तराई सबै हो तर नेपाली चाहिँ पहाडी मूलकाहरू मात्रै हुन् भन्ने ठान्छन् । यही हो ‘मण्डले राष्ट्रवाद’ । तराईवासी नेपाली हाेइनन् भन्नेहरू हो भने तराई नेपाल हो भन्ने पनि अधिकार र आधार हुँदैन । यो त जनता लखेटेर सत्ता जोगाउने भुटानी प्रवृत्ति पो हो ।
राष्ट्र आफूले नै धानेको र राष्ट्र भनेकै धर्म, जाति, भाषा, क्षेत्र र लिङ्ग विशेषका ठालुहरू हुन् भन्ने सोच बाेकेकाहरू सबै बिग्रेको र बिग्रनेमात्रै देखिरहेका छन् । यी आवरणमा जो भए पनि यी अनुदार परम्परावादीहरूलाई पछाडि छाडेर नेपाली समाज अगाडि बढ्नै पर्छ ।
खुसीको कुरा , सुरुङको पल्लोपट्टि उज्यालो देखिएको छ । शिक्षित युवा राजनीतिक स्पर्धामा उत्रिन थालेका छन् । उनीहरू कुनै धर्म, क्षेत्र, जाति, भाषा वा लिङ्गकाे राजनीति गर्दैछैनन् । व्यवस्था होइन अवस्था बदल्ने आह्वान गर्दैछन् । लोकतन्त्रको सुदृढीकरण हुने यसरी नै हो । लाग्छ, देश र समाजलाई यिनीहरूले आफू अभिमन्यु बनेर पनि शिखण्डीहरूको चक्रव्यूहमा पर्नबाट जोगाउनेछन् ।