ताइपेई । ताइवानले चीनले उत्तर कोरियाको नक्कल गर्दै आफ्नो वरपरको जलीय क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरिरहेको आरोप लगाएको छ । ताइवानका अनुसार चीनले ताइवानको उत्तर–पूर्वी र दक्षिण–पश्चिमी समुद्री तटमा ११ वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिसकेको छ ।
अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले बुधबार ताइवान भ्रमण गरेपछि चीनले सैनिक अभ्यास गर्ने क्रममा यसरी क्षेप्यास्त्र प्रहार गरेको हो । चीनको निकटतम मित्र राष्ट्र उत्तर कोरियालाई पछिल्ला केही महिनादेखि लगातार क्षेप्यास्त्र प्रहार गरी सो क्षेत्रमा तनाव चर्काएको आरोप लगाइएको छ ।
चीनले ताइवानलाई स्वतन्त्र मुलुकको मान्यता दिएको छैन । अमेरिकाले पनि ताइवानलाई औपचारिक मान्यता नदिए पनि त्यससँग बलियो सम्बन्ध राख्दै आएको छ । साथै अमेरिकाले ताइवानलाई आत्मरक्षाका लागि अत्याधुनिक हातहतियार पनि बिक्री गर्दै आएको छ । पेलोसीको ताइवान भ्रमणले तनाव चर्केको हो । चीनले अमेरिकाले गैर जिम्मेवारपूर्ण व्यवहार गरेको आरोप लगाएको छ ।
ताइवानको रक्षा मन्त्रालयले आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय बनाइसकेको र परिस्थितिको अनुगमन गरिरहेको र आफ्नो वेवसाइट ह्याक गरिएको जनाएको छ । चीनले सुरु गरेको प्रत्यक्ष प्रक्षेपण अभ्यास आइतबार सकिने भएको छ ।
चीनको सैनिक अभ्यास र क्षेप्यास्त्र प्रहार विश्वकै सबैभन्दा व्यस्त जलीय क्षेत्रमा भइरहेकाले त्यहाँबाट अन्य जहाजहरूको यात्रा र ताइवानबाट आउने र जाने विमानको उडानहरू अवरुद्ध भइरहेको छ ।
वैकल्पिक मार्गका लागि ताइवानले जापान र फिलिपिन्ससँग वार्ता गरिरहेको छ ।
बीबीसीबाट ।