काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अबको पाँच वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने संकेत गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण कार्यक्रममा अध्यक्ष नेपालले ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरेपनि परिस्थितिले नदिएको र ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने बताए ।
सक्रिय राजनीतिमा अब धेरै समय बस्न मन नरहेको उल्लेख गर्दै यस पटकको चुनावमा प्रतिष्पर्धामा गएर जित्नैपर्नै दबाब रहेको बताए ।
"अब यो राजनीतिबाट पाँच वर्षपछि बिदाइ हुनुपर्ला जस्तो लागिरहेको छ । धेरै बस्न पनि जरुरी छैन । ७० वर्षमा नै बिदा हुने भनेको हो तर राजनीतिक परिस्थितिले छोड्न नै दिएको छैन । यसपटकको चुनावमा त लड्नैपर्छ । जित्नैपर्छ । राजनीतिलाई एउटा मोडमा पुर्याउनैपर्छ," उनले भने ।
अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा पाँच दलीय गठबन्धन गरेरै प्रतिष्पर्धा गर्ने पनि बताए ।