काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । बिहीबार ललितपुरमा आयोजित एमाले जिल्ला स्तरीय प्रशिक्षण भेलामा बोल्दै पौडेलले आगामी निर्वाचनमा देशभर एमालेले चुनाव जित्ने र ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन् ।
एमाले सबैभन्दा बलियो राष्ट्रिय शक्ति भएकाले सबै दल मिलेर गठबन्धन बनाएको उनको भनाइ छ । पौडेलले एमालेभित्रको अन्तरविरोधलाई हटाएर संगठनलाई बलियो बनाएर अघि बढ्नुपर्ने धारणा राखे ।
आगामी निर्वाचनमा राज्यशक्तिको दुरुपयोग हुनसक्ने भन्दै उनले जनताको शक्तिको अगाडि राज्यशक्तिको दुरुपयोग बलियो हुन नसक्ने तर्क गरे ।
मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा तीन महिनाको अवधिमा पार्टीको विचारलाई जनतामाझ लानुपर्ने उनले बताए ।
उनले एमालेलाई संसद्को ठुलो पार्टी बनाउनका लागि तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।