काठमाडौं । नेपाल बार एसोसिएसनले सवारीसाधनको नम्बरप्लेटमा नेपाली भाषा अनिवार्य गर्नुुपर्ने माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै नम्बरप्लेटमा देवनागरी लिपि नै अनिवार्य गर्नुपर्ने माग गरिएको हो ।
विज्ञप्तिमा संवैधानिक व्यवस्था प्रतिकूल हुने गरी अरू भाषा नेपालको सरकारी कामकाजको भाषाका रूपमा सरकारी कार्यालय÷निकायले प्रयोग गर्न नहुने जनाइएको छ ।
नेपालको संविधानको धारा ७ मा ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने’ उल्लेख छ ।
“सवारीसाधनको नम्बरप्लेटमा अंग्रेजी भाषाको प्रयोग गरिनु संवैधानिक व्यवस्थाको भावना र मर्म प्रतिकूल छ । जुनसुकै तर्क वा आधार र कारणमा पनि संविधानले आत्मसात् गरेको भाषालाई प्रतिस्थापन गर्ने गरी प्रत्यक्ष वा परोक्ष रूपमा कुनै पनि कार्य गर्न मिल्दैन,” विज्ञप्तिमा भनिएको छ ।