काठमाडौं । सप्तकोसी नदीको एउटा भँगालो बस्तीमा पस्दा उदयपुरको वेलका नगरपालिकाका करिब १५ सय घरपरिवार प्रभावित भएका छन् ।
बुधबार वेलकाको डुम्रीबोटबाट तटबन्ध फुटाउँदै भँगालो बस्तीमा पस्दा नगरपालिकाका १, २, ३, ८ र ९ नम्बर वडाका स्थानीय प्रभावित भएका हुन् । हालसम्म मानवीय क्षति भएको छैन । धान, मकैलगायत खेतीबालीमा क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
बाढीबाट प्रभावित करिब एक हजार घरपरिवारको उद्धार गरी सुरक्षित स्थलमा सारिएको छ । प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईका अनुसार प्रभावित क्षेत्रका केही स्थानीयले भने घर छाड्न मानेका छैनन् ।
घर नछाड्दा मानवीय क्षति हुनसक्ने भएकाले जिल्ला तथा स्थानीय प्रशासनले सबै नागरिकलाई सुरक्षित स्थलतर्फ जान अनुरोध गरेको छ ।
बाढी प्रभावितलाई सुरक्षित स्थानमा सार्नेसँगै स्थानीय साधनस्रोत प्रयोग गरेर तटबन्ध कस्ने काम पनि भइरहेको प्राधिकरणले जनाएको छ ।
बुधबार बिहान ४ बजेबाट सप्तकोसीको एउटा भँगालो वेलका नगरपालिकाको डुम्रीबोटबाट तटबन्ध फुटाउँदै सिसौली टप्पु चिलिया बस्तीतर्फ पस्न सुुरु गरेको थियो ।
उद्धार गरिएका नागरिकको आवश्यक व्यवस्थापनका लागि टेन्ट तथा अरू बन्दोबस्तीका सामान पठाउने क्रम जारी छ ।
यस्तै, सप्तरीका सप्तकोसी र कञ्चनरूप नगरपालिकाका प्रभावित हुन सक्ने वडाका बासिन्दालाई सतर्क गराइएको छ ।