काठमाडौं । विरोधका बाबजुद उच्च अमेरिकी अधिकारी ताइवान पुगेपछि चीनले अमेरिकालाई गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । आफ्नो कडा विरोधकाबीच अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीनले कूटनीतिक विरोध गरेको हो ।
चीनका लागि अमेरिकी राजदूत निकोलस बर्नसँगको कुराकानीमा चिनियाँ सहायक विदेशमन्त्री सी फेङले भ्रमणको कडा निन्दा गरेको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
“पछिल्लो अमेरिकी कदम अत्यन्तै भत्सर्नायोग्य छ । यसबाट अमेरिकाले अत्यन्तै खराब परिस्थितिको सामना गर्नुपर्नेछ,” उनले भनेका छन् ।
गएराति पेलोसी ताइवान पुगेकी थिइन् । उनी २५ वर्षपछि ताइवान भ्रमण गर्ने पहिलो उच्च अमेरिकी अधिकारी हुन् ।