काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीमा फसेको रकम हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले १० वर्षपछि फिर्ता पाउने भएका छन् ।
आयोजना ठेकेदार चाइना रेल्वेका लागि चाइना कन्स्ट्रक्सन बैंकले यी दुई बैंकलाई काउन्टर ग्यारेन्टी दिएको थियो । यी दुई बैंकबाट आयोजनाका लागि डेढ अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी गरेका थिए । हालसम्म उक्त रकम फिर्ता हुन सकेको थिएन ।
चीनको हेनान प्रदेशको उच्च अदालतले नेपाली बैंकलाई काउन्टर ग्यारेन्टीबापतको रकम फिर्ता गर्न आदेश दिएसँगै यी दुई बैंकको फसेको रकम फिर्ता हुने भएको बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवण मास्केले जानकारी दिए ।
यो फैसलासँगै काउन्टर ग्यारेन्टीबापत मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको अमेरिकन डलर ६६ लाख २५ हजार १० र युरो १४ लाख ११ हजार ४५३ बापतको रकम बैंक अफ काठमाण्डू लिमिटेडले फिर्ता पाउने भएको छ भने हिमालयन बैंकले ६६ लाख डलर ग्यारेन्टी रकम फिर्ता पाउने छ ।