site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सर्वाेत्तम सिमेन्ट सेयर प्रकरण : घुस दिनेलाई किन उन्मुक्ति ?

काठमाडौं । गतवर्ष सर्वोत्तम सिमेन्टले पब्लिक सेयर जारी गर्ने कुरा उठेपछि आन्तरिक खरिददारी सम्बन्धमा भएको भ्रष्टाचारको ठूलो समाचार मिडियामा सार्वजनिक भयो । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना तथा स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका नातेदारले अवैधानिक तवरले सर्वोत्तम सिमेन्टको प्रमोटर सेयर किनेको कारणले ति दुवैले आफ्नो पद गुमाए । तर, यी सबै घटनाका सुत्रधार सर्वोत्तम सिमेन्ट पानी माथिको ओभानो बन्यो । 

यस विषयमा छानबिनका लागि बनेको संसदीय समितिले ढुंगानासहित आरोपित व्यक्तिमाथि छानबिन गर्न मन्त्रालयलाई निर्देशन दिएको थियो । साउदले राजीनामा दिए भने ढुंगानालाई मन्त्रालयको छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा बर्खास्त गरियो । तर सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपानेलाई कुनै कारवाही भएन ।

अहिले सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट ६० लाख सेयरको आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा असार २८ गते निवेदन दिए पछि यो विषय पुनः विवादमा तानिएको छ । 

Dabur Nepal
NIC Asia

सेयर विज्ञ रविन्द्र भट्टराई भन्छन्, “नेप्सेका तत्कालीन जीएम र धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष तथा तिनका परिवारलाई सेयर जारी गर्ने तयारी गर्दै गर्दा कम्पनीले सेयर बिक्री गर्नुले नियामक निकायलाई प्रभावित पारेर बजारमा आफ्नो अनुकूलको प्रिमियम मूल्य स्वीकृत गराउने प्रयास गरेको प्रष्ट देखिन्छ । जुन आफैंमा सेयरबजारभित्रको गैरकानुनी काम हो । यसकारण सर्वोत्तम सिमेन्ट र त्यसका पदाधिकारी कारबाहीको दायरामा आउनुपर्छ । धितोपत्र बोर्डले पहिले कम्पनीलाई कारबाही गर्नुपर्छ । कारबाही नगरी सेयर जारी गर्ने प्रक्रिया अघि बढ्न स्वीकृति दिनुले बजारको पारदर्शिता र नियामकले नियमन गर्ने कुराको पनि विश्वसनीयतामा प्रश्न खडा भएको छ ।”

उनका अनुसार धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष र नेप्सेका तत्कालीन सीईओ जति दोषी छन् त्यति नै दोषी सर्वोत्तम सिमेन्टका सञ्चालक पनि छन् ।

सर्वोत्तम सिमेन्टले सेयर जारी गर्नका लागि बुक बिल्डिङ विधि अपनाएको छ । यसका लागि उसले आफ्नो कम्पनीको प्रिमियम मूल्य प्रति सेयर रु. ७५० तोक्नका लागि नियामक निकायका वरिष्ठ व्यक्तिलाई प्रभावमा पारेर र तिनका आफन्तलाई सस्तोमा प्रमोटर सेयर बेचेको प्रमाणित भैसक्दा पनि सर्वोत्तम सिमेन्टमाथि किन कारबाही भएन भन्ने प्रश्न धितोपत्र बोर्डभित्रै उठेको एक वरिष्ठ कर्मचारीले बताए ।

कानुन व्यवसायीले पनि घुस दिने व्यक्तिलाई कारबाही नगर्दा नेपालमा यस्ता घटना बढ्दै गएको बताएका छन् ।

वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल पनि नेपालमा घुस दिनेलाई या प्रभावमा पार्नेलाई कारबाही नगर्दा गलत कामले प्रश्रय पाइरहेको बताउँछन् ।

“पृथ्वीनारायण शाहले पनि घुस लिने र दिने बराबर दोषी हुन् भनेका थिए,” अर्यालले बाह्रखरीसँग कुरा गर्दै भने, “नेपालमा दिनेलाई कारबाही गर्ने निकाय नै अघि सरेको पाइँदैन । तर कारबाही हुनैपर्छ । घुस दिनेले नदिए पाउने कुरा हुँदैन । कठालो समातेर कसैले घुस लिँदैन, त्यसैले कारबाही दुवै पक्षलाई हुनुपर्छ ।”

उनले कतिपय व्यापारीक घरानाले आफ्नो व्यापार प्रवद्र्धनका लागि बदनीयतपूर्ण काम गर्ने गरेको बताउँदै तिनलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

“विजनेस प्रमोसन नराम्रो कुरा होइन तर बदनीयतपूर्ण गरिएको काम घुस हो । बदनीयत हुन्छ र देखिन्छ भने जतिसुकै ठूलो भए पनि दोषीलाई बिना कारवाही छाडिनुले कानुनी शासनको उपहास हुन्छ,” उनले भने ।

नेपाल धितोपत्र बोर्डका पदाधिकारीले बोर्डबाट अनुमतिप्राप्त धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्था तथा कारोबारमा आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत तथा पारिवारिक फाइदा हुने क्रियाकलापमा संलग्न हुन पाइँदैन ।

बोर्डका एक अधिकारी भन्छन्,“घुस खाने जति जिम्मेवार छन्, त्यतिनै दिने पनि हुनुपर्ने होइन?” घुस लिने पदाधिकारीलाई सामान्यतः कारबाही हुने गरेको भए पनि घुस दिनेहरूलाई कानुनले चिन्दैन । यसले पनि घुस दिनेहरू थप प्रोत्साहित भएका छन् । 

बोर्डकै अधिकारीको भनाइ मान्ने हो भने उक्त सेयर अध्यक्ष न्यौपानेले काम गरिदिएबापत दिएको हो या खरिद गरेको हो ? भन्ने कुरा थप अनुसन्धानको विषय हो । खरिदनै गरेको भए पनि यसबाट ठूलो फाइदा लिने गलत मनसाय  स्पष्ट भएकाले यस कार्यमा संलग्न सबैले उचित दण्ड भोग्नुपर्ने उनको भनाई छ । 

बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्दा कम्पनीले नाफा कमाएको आधारमा मूल्य निर्धारण हुने गर्छ । त्यसका लागि कम्पनीले पनि पहिले नै चलखेल गरेको हुन्छ । 

“सर्वोत्तम सिमेन्टका अध्यक्ष न्यौपाने त्यही चलखेल गरिरहने एक पात्र हुन्,” बोर्ड स्रोतले भन्यो, “बोर्ड र नेप्सेबाट काम लिएबापत ति सेयर न्यौपानेले नियामक अधिकृतलाई दिएको पुरस्कार हो ।”

जुनसुकै कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दै आएका छन् । तर, बुक बिल्डिङमार्फत् आईपीओ निष्कासन गर्ने कम्पनीको हकमा यस्तो हुँदैन । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने कम्पनीको मूल्य धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त योग्य संस्थागत लगानीकर्ताहरूले कम्पनीको पर्फर्मेन्स अध्ययन गरेर तोक्ने गर्छन् ।

यसले गर्दा कम्पनीको सेयरको अंकित मूल्य बढी हुन जान्छ । अंकित मूल्य बढी देखाउन नै न्यौपानेले चलखेल गरेको स्रोत बताउँछ ।

“अहिले न्यौपानेले जे चलखेल गरेर बुक बिल्डिङको प्रक्रिया अघि बढाएका छन्, त्यसले भोलि सर्वसाधारणको पैसा र हितमा सम्झौता हुनसक्छ, त्यसैले अहिले यो प्रश्न उठेको छ,” बोर्ड स्रोत भन्छ ।

सर्वोत्तम सिमेन्टले सर्वसाधारणमा सेयर जारी गर्छु भनेपछि नै कम्पनी बोर्डको निगरानीमा हुनुपर्नेमा बोर्डकै पदाधिकारीलाई प्रलोभनमा पार्ने काम अध्यक्ष विष्णु न्यौपानेले गरेका छन् ।

एक सेयर विज्ञले बाह्रखरीसँगको कुराकानीमा भने, “सर्वोत्तम सिमेन्टका गतिविधिबाट त्रसित हुन प्रशस्त ठाउँ छ ।” 

दोस्रो बजारमा पनि यस्ता कम्पनीको सेयर मूल्य बढ्ने भएकाले केही लाख लगानी गरेकाले दोस्रो बजारमा करोडौं लिन सक्छ । 

बुक बिल्डिङ विधिमार्फत् धितोपत्र बजारमा कम्पनी सूचीकृत गराउन सर्वोत्तम सिमेन्टका अध्यक्ष न्यौपानेले नियामक निकायका पदाधिकारीलाई सेयर हिस्सा पहिल्यै बाँडेको बोर्डकै वरिष्ठ अधिकारी बताउँछन् ।

बोर्डका तत्कालीन अध्यक्षले आफ्नो नैतिकताभन्दा बाहिर गएर छोरीको नाममा सेयर खरिद गर्दाको सजाय निलम्बनबाट नै पाएको धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता ज्योति दाहाल बताउँछन् । 

सर्वोत्तम सिमेन्टमा संलग्न रहेका न्यौपानेको छड, स्पिनिङ मिल्स, इलेक्ट्रोनिक्स जस्ता ठूला उद्योगमा धेरै लगानी रहेको र ति कम्पनीहरूले पनि सरकारी नीतिमा अनधिकृत रुपमा प्रभाव पारेर अनैतिक लाभ लिएको समाचार विगतमा पनि आएका छन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro