केही समययता बजार सुस्तताले ग्रस्त छ । कयौं उद्यम व्यवसायी विस्थापित भएका छन् भने बजार चलायमान नहुँदा समग्र आर्थिक क्षेत्र कमजोर देखिएको छ । खासगरी कोभिड–१९ महामारीयता सेलाएको अर्थतन्त्रमा पछिल्लो समय केही आशासहित सकारात्मक संकेत गर्न खोजिरहेको छ ।
अर्थतन्त्र कसरी सुस्तायो ? सरकारबाट के सहज र असहजता भयो ? वर्तमान स्थिति कस्तो छ र अब अर्थतन्त्रले लय समात्ने संकेत गरेको हो ? लगायतका विषयमा केन्द्रित रहेर हामीले युवा उद्यमी सौरभ ज्योतीसँग कुरा गरेका छौँ ।
प्रस्तुत छ, व्यवसायिक घराना ज्योती ग्रुप अफ कम्पनीजका निर्देशकसमेत रहेका ज्योतीसँग व्यवसाय केन्द्रित कुराकानीको सम्पादित अंश–
–पछिल्ला वर्षमा खासगरी कोभिड–१९ महामारीयता आर्थिक सुस्तता देखिएको छ । यो स्थिति कसरी आयो र अहिले केही सकारात्मक संकेतहरू देखिएका छन् ?
कोभिडपछि तरलता र विदेशी मुद्रा सञ्चिति घट्यो भनेर आयात प्रतिबन्ध भयो । त्यसलगत्तै तरलता संकट भयो । त्यसमाथि युक्रेनयुद्धका कारण आर्थिक अवस्था मन्दीमा गयो । मुद्रास्फिति बढ्यो ।
अब तरलता अलि सहज भएता पनि व्यापार नै खुम्चिएको छ । बैंकमा पैसा छ बजारमा छैन । बैंकमा भएको पैसा प्रयोगमा आउन सकेन, अर्थात् हामीलाई आवश्यकता नै नभएन ।
झन्डै तीनवर्ष नै हुन थाल्यो । मोटरसाइकलको व्यापार तीन वर्षदेखि ५० प्रतिशत कम छ । गाडीको अवस्था अझै भयावह छ । धेरै कम्पनी बन्द भइसके । मुलुकभरको अवस्था हेर्ने हो भने ८० प्रतिशत कम भएको देख्छु म ।
आर्थिक मन्दीको समयमा यस्ता उतारचढाव भइरहन्छ । हामी धेरै तल पुगिसक्यौँ । त्यसैले अब माथि जान्छौँ कि भन्ने आशामा छौँ ।
–नाडा अटो शो ले पनि बजारमा केही सकारात्मक संकेत दिइरहेको छ कि !
दसैं तिहारमा, नाडा अटो शो ले पनि एउटा राहत दिन्छ कि भन्ने हो । यो चाडपर्वको अर्थात् अबको दुई महिनामा एक तिहार्य बिक्री हुने समय भएकाले केही हुन्छ कि भन्नेमा आशावादी छौँ । तर पहिलकै अवस्थामा फर्किन निकै गाह्रो देखिरहेको छु ।
किनभने मौद्रिक नीतिदेखि लिएर एक किसिमले अर्थतन्त्र जोगाउने काम सरकारकै हो । त्यो देखिएको छैन, हेरौँ समय लाग्छ कि ! नाडामा ग्राहकको भीड लागिरहेको छ, नयाँ प्रडक्ट पनि आइरहेका छन् । केही उत्साह चाहिँ छ । त्यसले आशा जगाएको छ । आर्थिक परिसूचक भने त्यति राम्रो देखिँदैन ।
ब्याजदर घट्ने क्रममा छ र अटो अरु क्षेत्रसँग पनि जोडिन्छ । बैंकिङ क्षेत्रले पनि अहिले ईभीमा प्राथमिकता दिएको छ । डाउन पेमेन्टदेखि विभिन्न कुराहरु आईसी इन्जिनमा अझै डाउन पेमेन्ट बढी दिनुपर्छ । ब्याजदर बढी छ ।
जोखिम भार बढी छ । मान्छेहरु पूरै क्यास नै दिएर किन्ने एकदमै कम हुन्छन् ।
धेरैले ईएमआईमा लिन्छन् र बैंकिङ सुविधाले पनि अलिकति त्यसमा लचकता या प्राथमिकता दिएर आईसी इन्जिनमा पनि केही विशेष सुविधा ल्याएर डाउन पेमेन्ट कम गर्ने, ब्याजदर कम गर्ने, जोखिमभार घटाउने भयो भने त्यसमा पनि झन् छिटो रिभाइभ होला जस्तो लाग्छ ।
–राष्ट्र बैंक, मौद्रिक नीति र समग्र बैंकिङ क्षेत्रबाट अटो क्षेत्रलाई गति दिन के सुधारको अपेक्षा गर्नुहुन्छ ?
ग्राहकको कन्फिडेन्स मुख्य कुरा हो । ‘फाइनान्स’ कम्पनीहरुको समस्याले गर्दा धेरै मानिसको पैसा, जग्गा जमिनलगायत सम्पत्ति डुबेको छ । त्यसले गर्दा पनि समस्या भएको हो । उनीहरुको व्यवस्थापन कसरी गर्ने ? नियमन कसले गर्ने ?
दोस्रो सेयर बजारको कुरा छ । त्यसैगरी रियल इस्टेटको कुरा छ । अहिले कित्ताकाट पनि खुलेको छ । त्यसमा किनबेच सुरु होला । घरजग्गा भनेको अर्थतन्त्रलाई चलायनमान गर्ने महत्वपूर्ण क्षेत्र हो ।
किनभने त्यसमा धेरै अरु क्षेत्र पनि जोडिन्छन् । घरजग्गाको कारोबार बढ्नासाथ ठूला इक्विपमेन्ट, यातायात, निर्माण सामग्री, म्यानपावर आवश्यक पर्छ । सबै गतिविधि जोडिन्छ अनि अर्थतन्त्र चलायमान हुन्छ ।
त्यसको प्रभाव अरु क्षेत्र र अटो क्षेत्रमा पनि पर्ने हुनाले यसलाई हामीले सकारात्मक तरिकाले लिएका छौँ । अब हामी सहि दिशातर्फ अघि बढेका छौँ कि जस्तो लाग्छ । अब केही समस्या आएन भने मलाइ लाग्छ कि हामी ‘अन दि रोड टु रिकभरी’ छौं ।
–रिकभरीको बाटौमा छौँ भन्नुभयो, सरकारले कस्ता कुरामा सहयोग गर्यो भने अझ सहज हुन्छ होला ?
हाम्रा नीति नराम्रा होइनन् कार्यान्वयनमा हामी सधैँ चुक्छौँ । किनभने मेगा प्रोजेक्ट, राष्ट्रिय गौरवका प्रोजेक्टहरुमा पनि ठेकेदारहरुले पैसा पाएका छैनन् भन्ने सुनिन्छ । त्यसरी हुँदैन । सरकारले खर्चै गरेन भने कसरी हुन्छ ? त्यसले पनि अर्थतन्त्रमा असर पार्छ ।
अर्काे कुरा भनेको नीतिगतरुपले दीर्घकालीन आश्वासन भने चाहियो । किनभने हरेक बजेटमा नीति फेर्यौँ भने त लगानी डुब्छ नि ।
एसेम्बलकै कुरा गरिरहेका छौं । एसेम्ब्ली उद्योग प्राथमिकता हो कि होइन ? बजेटमा मैले सुन्छु कि कर घटाउने भन्ने छ । एसेम्ब्ली उद्योग प्राथमिकता हो भने १० वर्षसम्म यो नीति फेरिनु हुँदैन । १० वर्षको नीति लिएर हरेक क्षेत्रमा अघि बढ्नुपर्छ ।
मैले अटो भएको हुनाले अटोको कुरा गरेँ, एसेम्बलको कुरा गरेँ, ईभीमा सुविधा कति हुन्छ । आईसीईको फेज आउट गर्ने हो कि हैन, त्यसलाई पनि निरन्तरता दिने, १० वर्षका लागि त हामीले योजना बनाउनै पर्छ ।
आजको भोलि नीति फेर्यौँ भने जहिले पनि हाम्रो विभिन्न क्षेत्रहरु छायामै पर्छ । त्यसैले ‘लङ टर्म’ नीति चाहिँ सरकार फेरिए पनि कायम हुनैपर्छ । एउटा सरकारले बनाएको नीति अर्को सरकारले तत्काल परिवर्तन गरिहाल्नु हुँदैन ।
रोडम्याप र प्राथमिकता भएको हाम्रो क्षेत्रमा यो उद्योगहरुलाई प्रोत्साहन गर्ने भनेर क्लियर नीति भयो भने चाहिँ हामी ढुक्क भएर लगानी गर्न सक्छौं । लगानी भयो भने रोजगारी सिर्जना हुन्छ । सरकारलाई कर तिर्छाैं, लगानीको वातावरण पनि हुन्छ ।
–पछिल्लो समय बजारमा ईभी र आईसीको प्रतिस्पर्धा देखिन्छ । अब, ईभीको क्वालिटी र स्ट्यान्डर्डलाई लिएर कुरा चल्न थालको छ । यो विषयलाई कसरी हेर्नु भएको छ । ईभी क्षेत्रको विकास जुन किसिमले भइरहेको छ, यसमा सरकारले नीतिगत तहमा केही गर्नुपर्नेछ कि ठिक नै छ ?
मलाइ लाग्छ, सडक सुरक्षा सबैभन्दा महत्वपूर्ण हो । बाटो सुरक्षित हुनुपर्छ । नेपालमा सबैभन्दा बढी ज्यान गुमाउने भनेको दुर्घटनाको कारणले हो । एउटा बस खस्छ ७० जना मर्छन् । हामीले फेरि बस खस्यो भन्छौं ।
एउटा हवाइ जहाज खसेर अथवा एउटा हेलिकोप्टर खसेर एकदुई जनाको ज्यान गएमा पनि ठूलो समाचार हुन्छ । तर, यहाँ सयौं मान्छे मरिरहेका छन् । त्यसमा हामी त्यति सबैमा ‘ह्युमन क्राइम’ हुँदैन । त्यसैले सडक सुरक्षा महत्त्वपूर्ण विषय हो ।
अब, आईसी इन्जिन भनेको ५०औं वर्षदेखि आइरहेको हुनाले एउटा सीओपी टाइप अप्रुभल, सेफ्टी स्ट्यान्र्डड, हरेक मोडलको हुन्छ । ईभी भनेको नयाँ अपकमिङ उद्योग हो । मलाइ लाग्छ त्यो पनि ईभी जुनसुकै आए पनि सुरक्षामा सम्झौता हुनुभएन । सुरक्षा मापदण्ड हुनुपर्छ ।
अब, नयाँ नयाँ ईभी आइरहेको हुनाले जे पनि आइरहेको होला । तर, केही गुणस्तर, केही नियम, एउटा मापदण्ड राखेर मात्रै आयात गर्न पाउने भनेर नीति आउने चाहिँ जरुरी जस्तो लाग्छ ।
ईभी हामीले ‘फ्रेन्ड्ली’ भन्छौं । हो प्रदुषण कम गर्छ । तर त्यसको पूर्वाधार विकास छ कि छैन । गाडीका लागि पेट्रोल पम्प छ, ईभीमा चार्जिङ स्टेसन चाहियो । ईभी सहरभित्र केन्द्रित हुनु भएन । मुस्ताङ, जोमसोमदेखि जनकपुरसम्म पेट्रोल पम्प जति छ त्यसरी चार्जिङ स्टेसन हुनुपर्छ । त्यो पनि निकै तीव्र गतिमा चार्ज हुने खालको ।
ब्याट्री फेर्नुपर्दा के हुन्छ ? रिसाइक्लिङ प्लान छ कि छैन ? त्यो अहिले हामीले व्यवस्था गरेनौं भने त्यो त आईसी इन्जिन भन्दा बढी खतरनाक त यो ब्याट्री हुन सक्ला । होला हामी ब्याट्री अन्त लगेर प्रयोग गरौंला । त्यसबाट पावर जेनेरेट गरौंला । तर अन्तमा हामीले रिसाइकल कसरी गर्ने हो त ? त्यसमा नीति के छ ? रिसाइक्लिङ उद्योग नै राख्यो भने त्यसमा सुविधा दिने हो कि ? समग्रमा हामीले हेर्नुपर्ने हुन्छ ।
–ईभीको तुलनामा पछिल्लो समय डिजेल–पेट्रोलका गाडीमा कति प्रदुषण न्यूनीकरण गरिएको छ ? तपाईंहरु होन्डाले केही विशेष प्लान गर्नु भएको छ कि ? ईभीतिर पनि ‘मुभ अन’ हुने केही योजना छ कि ?
पछिल्लो समय लागु भएको बीएस–६ (युरो–६ जस्तै सवारीसाधनले पालना गर्नुपर्ने प्रदुषण उत्सर्जनको) मापदण्ड एकदमै अत्याधुनिक छ । खासगरी मोटरसाइकलमा एकदमै न्युन प्रदुषण हुन्छ । यो अझै राम्रो हुँदै अघि बढिरहेको छ । यो अझै प्रभावकारी हुँदै जान्छ भन्ने मलाइ लाग्छ ।
सबै उद्योग ईभीतर्फ अग्रसर हुँदै गर्दा हाम्रो पनि होन्डा ठूलो कम्पनी हो । हामी पनि ईभीमा जान्छौं तर, आर एन्ड डीदेखि सुरक्षा र प्रडक्टमा कुनै सम्झौता नगरी । लिएर आएपछि राम्रै प्रडक्ट आउछ । त्यही भएर अलिकति समय मात्रै लागेको हो । तर, अवश्य पनि त्यो दिशामा जान्छ ।
अलिकति छुटेको भनेको हाइब्रिड हो । वातावरण बचाउन पेट्रोलपछि त हाइब्रिड हो । पछि आएर फ्युल सेल आउला, हाइड्रोजन आउला, नयाँ टेक्नोलोजी आउला । मैले हाइड्रोजन गाडी ल्याएँ, फ्युलसेल गाडी ल्याएँ भने कति कर तिर्ने ? त्यसमा नेपाल सरकारको नीति के हो ?
हाइब्रिडमा किन सुविधा दिइएन ? खास सुविधा छैन हाइब्रिडमा । हामी लामो समयदेखि लागि पर्दा पनि हामीले बुझाउन नसकेको हो कि ?
हाइब्रिडले निकै धेरै फ्युल बचाउँछ, ईभी जति सुविधा नभए पनि ईभीको १० प्रतिशत भए पनि ४०–५० प्रतिशत छुट हुनुपर्ने हो अहिले त २५ प्रतिशत भन्दा छुट छैन । यो २५ प्रतिशत मेकअप गर्न खोज्दा खर्चका कारण हाइब्रिडको प्रमोट भइरहेको छैन ।
त्यसकारण यस्ता ‘अल्टरनेटिभ क्लिन इनर्जी भेहिकल’ भनौं । ईभी क्लिन इनर्जी भेहिकल हो, हाइब्रिड सुरुवाती भयो यसलाई थप सुविधा दिनुपर्छ अहिलेकाले पुग्दैन ।
त्यसपछि ईभीमा आयो । ईभी आएपछि फ्युल सेलमा जान्छ कि सोलारमा जान्छ कि, हाइड्रोजनमा जान्छ कि त्यो सबै कुराको पनि हामीले सोच्नुछ । अब, ईभीबाट पनि नेक्स्टतिर जान धेरै कम्पनीको कुरा आइसकेको छ ।
–अन्तमा केही भन्न चाहनुहुन्छ कि ?
हामी सबै जिम्मेवार नागरिकको रुपले अगाडि बढ्नुपर्छ । अहिले विश्व जलवायु परिवर्तनको चपेटामा परिरहेको छ र नेपालमा त्यसको ठूलो असर भइरहेको छ । जिम्मेवार सरकार, जिम्मेवार नागरिक र उद्यमीका हिसाबले सबैले वातावरणको संरक्षणका लागि सही कदम समयअनुसार चाल्नुपर्छ ।
धेरै कुराहरु ढिला नगरी समयमै गरेमा सबैलाई सहज हुन्छ । सबैलाई फाइदा हुन्छ । अन्यथा स्वास्थ्यको खर्च धेरै छ । एक जना बिरामी हुँदा कति खर्च हुन्छ र एक जनामात्रै बिरामी हुनबाट जोगाउन सकियो भने धेरै खर्च जोगाउन सकिन्छ । त्यसैले प्रदुषण कम भयो भने, हेल्थकेयरको खर्च कम गर्न सक्छौं ।
तस्बिर : सुनील प्रधान