किभ । रुससँग भएको ऐतिहासिक सम्झौता अनुरूप अन्न बोकेको पहिलो पानी जहाजले युक्रेनको एउटा बन्दरगाह छोडेको छ ।
टर्की र युक्रेनका अधिकारीहरूका अनुसार सो जहाज स्थानीय समयअनुसार सोमबार बिहान सबेरै ओडेसाको दक्षिणी बन्दरगाहबाट छुटेको हो ।
रुसले गत फेब्रुअरीदेखि नै युक्रेनी बन्दरगाहरू बन्द गरिराखेको थियो । तर केही समयअघि मात्र जहाज पुनः सञ्चालन गर्ने विषयमा दुई पक्षबीच सम्झौता भएको हो ।
अब विश्वको खाद्यान्न समस्या सहज हुने र खाद्यान्नको मूल्य घट्ने आशा गरिएको छ ।
टर्कीले सियरा लियोनको राष्ट्रिय ध्वजावाहक ‘राजोनी’ नामक जहाज लेवनानको ट्रिपोली बन्दरगाहमा रोकिने जनाएको छ । साथै, आगामी साताहरूमा थप जहाज सञ्चालनमा ल्याइने बताइएको छ ।
सम्झौता अनुरूप टर्कीको इस्तानवुलमा संयुक्त समन्वय केन्द्र स्थापना गरिएको छ । करिब २६ हजार टन मकै बोकेको राजोनी मंगलबार टर्कीको जल क्षेत्रमा आइपुग्ने अनुमान गरिएको छ ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले रोजोनीले बन्दरगाह छोडेकोमा स्वागत गर्दै सम्झौता कार्यान्वयनका लागि टर्कीले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।
बीबीसीबाट ।