किभ । युक्रेनको दक्षिणी माइकोलाइभ सहरमा रुसी क्षेप्यास्त्र आक्रमणमा युक्रेनकै सबैभन्दा धनी व्यापारीमध्ये एकको मृत्यु भएको छ ।
युक्रेनी सञ्चार माध्यमका अनुसार ७४ वर्षीय ओलेक्सिए भादातर्स्की र उनकी पत्नी राइसाको शनिबार राति उनीहरूको घरमा क्षेप्यास्त्र खस्दा ज्यान गएको हो ।
भादातर्स्की अन्न निर्यात गर्ने निवुलोन समूहका मालिक थिए । उनी ‘युक्रेनका वीर’ उपाधिबाट सम्मानित व्यक्ति थिए ।
माइकोलाइभका मेयर ओलेक्सान्दर सेनेकभिचले यो सम्भवत रुसी फौजबाट भएको अहिले सम्मकै सबैभन्दा ठूलो आक्रमण भएको बताएका छन् ।
आक्रमणमा एउटा होटेल, एउटा स्पोर्ट्स कम्प्लेक्स, दुईवटा विद्यालय र एउटा सेवा केन्द्र लगायत अन्य थुप्रै घर क्षतिग्रस्त भएका छन् ।
युक्रेनको प्रमुख बन्दरगाह ओदेसा जाने मुख्य मार्गमा रहेको माइकोलाइभमा रुसबाट बारम्बार हमला भइरहेको छ ।
यस क्षेत्रका युक्रेनी नेता भाइताली किमले टेलिग्रामलाई बताएका छन्, “भादातर्स्कीले माइकोलाइभ क्षेत्र र युक्रेनलाई धेरै योगदान दिएका छन् । कृषि, पानी जहाज बनाउने उद्योग र यस क्षेत्रको विकासका लागि उनको योगदान अमूल्य रहेको छ ।”
बीबीसीबाट ।