काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकाको फोहोरको समस्या घर–घरमा पुगेको छ । महानगरले दोस्रो पटक पनि कुहिने र नकुहिने फोहोर छुट्याएर घरभित्रै राख्न बुधबार फेरि उर्दी जारी गरेको छ ।
हैजा महामारीको प्रकोपकाबीच एक महिनादेखि फोहोर नउठ्दा उपत्यकावासीले कुहिने र नकुहिने फोहोरको डंगुुर चोक–चोकमा थुपारेका छन् । यसले हैजा जस्तो महामारी झनै विकराल बन्ने खतरा छ ।
महानगरका अनुसार भोलिदेखि पुनः फोहोर ढुवानी गर्ने तयारी गरिएको छ । यसका लागि फोहोर संकलन गर्ने व्यवसायीलाई घर र चोकमा थुप्रिएको फोहोर उठाइदिन महानगरले आग्रह गरेको छ ।
उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएको भन्दै साउन ३ गते सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएको थियो ।
विभागको पत्र अनुसार महानगरका मेयर बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको फोहोर व्यवस्थापन समितिको बैठकले बञ्चरेडाँडा जाने सडकमा फोहोर ढुवानी कार्य ७ दिनका लागि रोक्ने निर्णय गरेको थियो ।
तर, नुवाकोटको सिसडोल र धादिङको बञ्चरेडाँडा सडक साइटमा काम गर्ने कर्मचारीहरूले भने भोलिदेखि फोहोर उठाउन नसकिने बताएका छन् ।
भोलिदेखि फोहोर उठाउने महानगरको सार्वजनिक सूचना भएपनि सडक बनी नसकेकाले भोलिदेखि नै फोहोर ढुवानी गर्न नसकिने बञ्चरेडाँडा ल्याण्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठले बताए । “हामीले भन्न त एक साताका लागि फोहोरका ट्रकहरू नपठाउन महानगरलाई पत्राचार गरेका थियौँ । तर, वर्षाका कारण सडकको अवस्था यस्तो रहेन । सडक मर्मत हुन अझै केही दिन लाग्छ,” उनले भने ।
सहरी विभाग मन्त्रालय अन्तर्गतको आयोजनाले असार पहिलो सातामै सिसडोड सडकखण्ड पिच गर्ने गरी काम अघि सारेको थियो । श्रेष्ठ भन्छन्, “वर्षायामको समयमा पिच गर्ने कुरा हुँदैन । यो बर्खाभरीमा सडक पिच हुँदैन ।”
उनका अनुसार हाल सिसडोल सडक खण्डमा अहिले ग्राबेल बिछ्याएर मर्मत सम्भारको कार्य हुँदैछ ।
पूर्वाधार बिना नै फोहोर छुट्याउन उर्दी
महानगरले करिब दुई महिना पहिले कुहिने र नकुहिने फोहोर छुट्याउन आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको थियो । सोही सूचनाका आधारमा नागरिकसँग भएको फोहोर स्रोतमा नै वर्गीकरण गर्नुपर्ने नियम साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको थियो ।
घर, पसल, व्यवसायबाट निस्किएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न अनुरोध गरिएको थियो । भरसक कुहिने फोहोरलाई घरमै मल बनाएर प्रयोगमा ल्याउन आग्रह गरिएको थियो ।
यदि कुहिने र नकुहिने फोहोर नछुट्याएमा एक पटकमा पाँच सय रुपैयाँ जरिमाना तिराउने चेतावनी दिइएको थियो । नागरिककै कोठा–कोठामा फोहोर छुट्याउने जिम्मा दिएको महानगरले आफ्ना पूर्वाधार मर्मतसम्भारतर्फ भने चासो दिएको छैन ।
पूर्वाधार तयार नभइ निरन्तर फोहोर नउठ्दा पूर्ण रूपमा कार्यान्वयन नहुँदै यो नियम अलमलमा छ ।
वातावरण तथा कृषि विभाग टेकुका अनुसार महानगरसँग फोहोर उठाएर व्यवस्थापन गर्न पर्याप्त पूर्वाधार छैन । भएका पूर्वाधार पनि बिग्रिएका छन् ।
दाताले दिएको तीन करोड रुपैयाँ पर्ने फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट बिग्रिएर टेकुमा थन्किएको छ । सो प्लान मर्मतसम्भारबारे राष्ट्रिय आविष्कार केन्द्रले अध्ययन गरेपनि अहिलेसम्म मर्मत हुन सकेको छैन ।
प्लास्टिक प्रयोगको विकल्प के ? भन्नेबारे महानगरले नागरिकलाई ठोस निर्णय दिन सकेको छैन । आफ्नो लगानीमा झोला वितरण गर्न पनि सकेको छैन ।
महानगरको कार्यतालिका अनुसार कुहिने र नकुहिने फोहोर संकलनका लागि घर–घरमा गाडी पु¥याउन पूर्ण रूपमा नसकिएकोे वातावरण विभागकी प्रमुख सरिता राईले स्वीकारिन् । “तालिकाअनुसार तोकिएको समयमा फोहोर उठाउन सकिएको छैन । यसका पछाडि विभिन्न पूर्वाधारहरूको अभाव पर्छन्,” उनले भनिन् ।
मेयर शाहको अध्यक्षतामा गठित फोहोर व्यवस्थापन समितिको सदस्यमा उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरू प्रेम थापा, भुवन लामा, बालकृष्ण महर्जन, ईश्वरमान डंगोल, कुश ढकाल, नवराज पराजुली रहेका छन् । उक्त समितिले फोहोरमैला व्यवस्थापनका लागि कुनै पनि ठोस कदम चाल्न सकेको छैन ।
तालिकाअनुसार फोहोर उठाउन सकस
विभागका अनुसार संकलित फोहोर उठाउन क्षेत्र बाँडेर २ वटा रुट बनाइएको थियो । पहिलो रुटमा आइतबार र बुधबार, दोस्रो रुटमा सोमबार–बिहीबार कुहिने फाहोर उठाइने भनिएको थियो । त्यस्तै दुई दिन मंगलबार र शुक्रबार नकुहिने फोहोर उठाइने तालिका थियो । सो तालिकाबमोजिम तोकिएको समयमा फोहोर संकलन गर्न नसकिने उनको प्रमुख राईको भनाइ छ ।
पहिले संकलन भएको फोहोर दीर्घकालीन रूपमा व्यवस्थापन नभएकाले नयाँ फोहोरको व्यवस्थापन हुन नसकेको विभागले जनाएको छ ।
गत साउन १ गतेअघि धादिङ धुनीबेँसी नगरपालिकास्थित बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर ‘अव्यवस्थित’ तरिकाले फाल्न थालिएको थियो ।
फोहोर उठाउन कुनै पनि अवरोध नभएको दिनमा २०० देखि ३०० टिपसम्म फोहोर विसर्जनस्थलसम्म लैजान सकिन्छ । सम्भव भएसम्म भोलिबाट फोहोर उठाउने योजना महानगरको छ ।
निजी तथा गैर सरकारी व्यवसायीलाई ‘हाईसञ्चो’
केही महिना पहिले चाबहील क्षेत्रमा फोहोर उठाउने एक कम्पनीले डोजर चलाएर फोहोर धोबीखोलामा फाल्दा महानगरले उसलाई २५ हजार रुपैयाँ जरिमाना तिरायो ।
अहिले उपत्यकाको फोहोर उठाउने निजी गैरसरकारी संघ संस्थाहरूलाई हाईसञ्चो भएको छ । फोहोर उठाउने कम्पनीहरूले संकलन गरेकोे फोहोर धोबीखोला र वाग्मती नदी किनारामा थुपारेका छन् ।
विभागका अनुसार फोहोरमैला संकलन, ढुवानी र अन्तिम व्यवस्थापनमा काम गर्ने निजी तथा गैरसरकारी संघसंस्था र व्यवसायी महानगरमा दर्ता छैनन् । तिनै संघसंस्थाहरूले आफूखुसी फोहोरको शुल्क उठाउँदै आएका छन् ।
दर्ता नभएका तिनै व्यवसायीहरूले महानगरको निर्देशनको बेवास्ता गर्दै फोहोर उठाउने समयदेखि शुल्क असुल्नेसम्म आफूखुसी निर्णय लिने गरेका छन् ।
काठमाडौं महानगरभित्र मात्रै ३६ वटा कम्पनीले फोहोर संकलन गर्छन् भने, उपत्यकाका अन्य पालिकामा कति कम्पनीले फोहोर उठाउँछन् भन्ने विवरण महानगरसँग नरहेको वातावरण विभागकी प्रमुख राईले बताइन् ।
फोहोरमैला व्यवस्थापनका सम्बन्धमा फोहोरमैला व्यवस्थापन संघ, नेपाल (स्वमान) का महासचिव मित्र घिमिरे र वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहालसँग मेयर शाहको निरन्तर छलफल र भेटघाट भएपनि पूर्वाधारका विषयमा ठोस निष्कर्ष निकाल्न सकेका छैनन् ।