site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म मरेँ पनि पानीफोटो निर्देशन गर्नू, निर्देशकमा मेरै नाम राखिदिनू
SkywellSkywell

काठमाडौं । बेला–बेलामा भेट हुने हजुरआमाको सधैँ एउटै गुनासो हुन्थ्यो, ‘मेरो हराएको छोरो आजसम्म फर्किएन ।’ 

हरेक वर्ष हजुरआमाका हातमा औँला थप भाँच्दै जाँदा छोरो हराएको साल थपिँदै जान्थ्यो । ‘मेरो छोरो कहाँ के गर्दै होला, कस्तो अवस्थामा छ होला, कतै कसैको परिबन्दमा परेर पो घर फर्किन सकेन कि !’ 

सधैँ उस्तै रोदन खगेन्द्रले थाहा पाउने उमेरदेखि नै सुन्दै आएका थिए । 

KFC Island Ad
NIC Asia

हजुरआमाको बिलौना र आमामा देखिने भाइको न्यास्रो खगेन्द्रले पनि अनुभूत गर्न थालेका थिए । उनले कहिल्यै नदेखे पनि ‘मामा भइदिएको भए’ भन्ने सोच्न थालेका थिए । “मामा फर्किएर आइदिए मेरा दुईजना मामा थिए, तीनजना हुने थिए भन्ने अहिले पनि लाग्छ,” खगेन्द्र वियोगको कथा सुनाउँछन्, “मैले कहिल्यै नदेखेको मान्छेको त अभाव महसुस गर्न थालेको थिएँ भने आफैँले जन्माएर १६ वर्षसँगै बसेको छोरो हराउँदा हजुरआमालाई कति चोट परेको होला, त्यो म महसुस गर्न सक्छु ।”

खगेन्द्रका मामा १६ वर्षको उमेरमा बेपत्ता भएका आजसम्म मरे/बाँचेको ठेगान छैन । कहाँ गए र के भयो सुइँकोसम्म छैन ।

Royal Enfield Island Ad

कथाको उद्गम क्षण 
खगेन्द्र बीबीसीमा काम गरिरहेका थिए । रिसर्च डिपार्टमा काम गर्ने साथी शशांक पौडेल तत्कालीन माओवादी र सरकारबीच जनयुद्धका क्रममा आफन्त मारिएका र बेपत्ताका परिवारका सदस्यसँग गरिएका अन्तर्वार्ता अंग्रेजीमा ट्रास्काइभ गर्थे । उनले एक दिन खगेन्द्रलाई भने, ‘खगेन्द्र, बेपत्ता परिवारका सदस्यको अन्तर्वार्ता सुनेर म कैयौँपटक भक्कानिएको छु । तिमी पनि सुन, तिमीले त केही लेख्न सक्छौ यार,’ खगेन्द्र १५ वर्ष अगाडि फर्किए । 

केही भएरै त शशांकले सुन्न सुझायो होला । खगे्रन्द्रले भने– देऊ न त । सुन्न थाले ।

साँच्चै ! कति दर्द र दुःख झेलेका थिए मृतक र बेपत्ता परिवारका आफन्तले, उनले सुने । “मैले उनीहरूको दुःख झन् धेरै महसुस गरेँ । किनभने, मामा हराउँदा हजुरआमाको आँखामा मैले छटपटी देखेको छु,” खगेन्द्र सुनाउँछन्, “५०औँ वर्ष बितिसक्दा त मेरो हजुरआमाले आफ्नो छोरो बिर्सिन सक्नुभएको छैन भने भर्खर हराएको आफन्तको आलो घाउ कसरी आजै पुरिन्थ्यो र ! मैले हजुरआमासँग रिलेट गरेकाले पनि ती अन्तर्वार्ता सुनेर मैले कैयौँपटक आँखाभरि आँसु जमाएँ ।”

जब खगेन्द्रले ती पात्रको दुःखलाई ९४ वर्षीया हजुरआमासँग रिलेट गरे, त्यसपछि लेख्न थाले नाटक । नाटक मञ्चन नै गर्नुपर्छ भन्ने भएपछि उनलाई लाग्यो– म स्वयंले पनि द्वन्द्वपीडितलाई भेट्नुपर्छ । र, उनीहरूका विरह र वेदनाका कुरा नजिकबाट अनुभूत गर्नुपर्छ ।

त्यसैले उनले द्वन्द्वमा आफन्त गुमाएका परिवारका सदस्यलाई भेटे । उनीहरूसँग दुःखसुखका कुरा गरे । यसले उनलाई विषयवस्तुको गहिराइमा पुगेर बुझ्न र लेख्न थप फराकिलो बनायो ।

छातीमा टाउको राखेर रुने ती पुरुष
नाटक मञ्चन भयो । मञ्चनको एक दिन एकजना आफ्नै उमेर हाराहारी लाग्ने मान्छे उनीसँग आइपुगे र खगेन्द्रको छातीमा टाउको राखेर डाँको छोडेर रोए ।

उमेरले परिपक्व भएको मर्द रोएको देखेर उनले लख त काटेका थिए, तर ढुक्क हुनलाई खगेन्द्रले गह्रुँगो मन बनाएर सोधे– के भयो तपाईंलाई ? 

ती व्यक्तिले भने– मेरो व्यक्तिगत भोगाइ तपाईंले देखाउनुभयो । त्यसैले मैले मलाई रोक्नै सकिनँ ।

द्वन्द्वले उनका दाइ र दिदीलाई बेपत्ता बनाएको रहेछ । नाटकले उनको बिछोडको घाउ आलो बनाइदिएको थियो ।

कसैको आँखाको डिल आँसुले छिचोलेको खगेन्द्रले आफ्नै आँखाले देखे । ‘यस्ता सयौँ व्यक्ति होलान्, जो दिनरात यसरी नै रोइरहेका छन्, आफन्तको वियोगमा,’ खगेन्द्रले मनोलग गरे, ‘त्यस्ता व्यक्तिलाई मैले थप रुवाएर थप पीडा त दिइरहेको छैन ?’

‘यो द्वन्द्व भन्ने चिज ठिक होइन रहेछ । कति मान्छे यसैगरी दिनरात रोइरहेका होलान् । यो द्वन्द्वले कतिलाई कहिल्यै नदुख्ने चोट दिएर गयो । त्यसैले विग्रह र बिछोड लिएर आउने यस्तो द्वन्द्व अब कहिल्यै हुनु हुँदैन,’ उनको निष्कर्ष रह्यो ।

‘म त सीमित दर्शकमा खुम्चिएको छु, यो सन्देश देशभरका मान्छेमाझ पुर्‍याउन पाए ?’ लोभ्भिए खगेन्द्र । तर, उपाय थिएन ।

त्यो अठोट
समयले कोल्टो फेर्‍यो । कहिले लेखक त कहिले कलाकार भएर खगेन्द्र चलचित्रको सेतो पर्दामा उत्रिए । त्यसपछि उनको मगजमा त्यही कथाले बुर्र्कुसी मार्‍यो । ‘यदि, कुनै दिन मैले चलचित्र निर्देशन गरेँ भने सबैभन्दा पहिला त्यही कथा भन्छु, जुन मैले नाटक पानीफोटोमा भनेको थिएँ,’ उनले मनमनै अठोट गरे ।

‘बधशाला’, ‘टुल्के’, ‘पशुपतिप्रसाद’, ‘धनपति’, ‘जयभोले’लगायत चलचित्र गरेपछि खगेन्द्रलाई लाग्यो– अब मैले एउटा कथा आफैँ भन्नुपर्छ । र, निर्विकल्प उनले निर्णय लिए, त्यही कथा भन्छु– जुन मैले संकल्प गरेको थिएँ ।

कसरी ? 
पहाडभन्दा अग्लो संकल्प त खगेन्द्रले गरे, तर आजसम्म न कहिल्यै सिनेमा निर्देशन गरेको हार्डकोर अनुभव थियो न त एडी एभर नै काम गरेका थिए । भलै, उनले सिनेमाको काम गर्दा त्यसको मेकिङको प्रोसेस देखेका थिए । नाटक निर्देशन गरिसकेकाले त्यससँग केही कुरा मिल्थ्यो ।

तर, उनले सुरुमै एउटा अर्को संकल्प गरे– म यो फिल्म यसरी बनाउँछु ।

कसरी ?

सुरु गरेपछि सानो कुरामा पनि कन्फ्युजन नहोस् । त्यसपछि उनले कोर टिम खडा गरे, जसलाई उनले विश्वास गरेका थिए । जसले उनको सपनामा कैंची नचलाऊन्, मात्रै होस्टेमा हैँसे गरून् । आइडियामा इँटा थपिदिऊन् ।

स्क्रिप्ट राइटिङदेखि रिलिजसम्म टिमको नेतृत्त्व आफैँले गर्नुपर्ने भएपछि उनले रिसर्च सुरु गरे । म्युजिक र ब्याकग्राउन्ड स्कोर सिनेमा खिच्ने ठाउँमै पुगेर रिसर्च गराए । भदौमा छायांकन गर्नु थियो । चैतमा लोकेसनमा पुगेर जुन घर र ठाउँमा छायांकन गर्ने हो, त्यहाँको प्रबन्ध मिलाए ।

“मैले त्यहाँ गएर रुख छाँटेको छु । बाटो बनाउने ठाउँमा बनाएको छु । सानो आँगनलाई ठूलो बनाएको छु,” खगेन्द्र नोस्टाल्जिक हुन्छन्, “हामीलाई ठूलो आँगन चाहिने भएकाले त्यही बेला बनाउँदा छायांकनकै लागि बनाएजस्तो देखिन्छ भनेर पहिलै नै सिमेन्ट लगाएर बनायौँ । ताकि, भदौमा जाँदा पहिलादेखि नै यस्तै होस् भन्ने देखियोस् । र, नभत्कियोस् पनि ।”

पहाडभन्दा अग्लो सपना रिलिजको एकैदिन गर्लम्म नढलोस् भन्ने उनको चाह थियो । चाह राखेरै मात्र कहाँ पूरा हुन्थ्यो र ! त्यसका लागि जगैबाट काम दर्बिलो बनाउँदै जानुपर्ने थियो । त्यसैले उनलाई चाहिएको थियो, स्टोरी बोर्ड । स्केचमा तयार पारिएको स्टोरी बोर्ड बनाउने ? अँह, यो त आफैँले आफैँलाई गरेको ठगी ठहरिन सक्छ । त्यसैले उनले निर्णय गरे– हामी लोकेसनमै गएर त्यही लेन्सले डमी क्यारेक्टर खिचेर स्टोरी बोर्ड बनाउँछौँ । बनाए पनि ।

“मैले यो किन गरेँ भनेँ, म पहिलोपटक सिनेमा निर्देशन गर्दै थिएँ । त्यसमा पनि म आफैँ कलाकारको रोलमा पनि थिएँ । सेटमा म एक्टर भएर काम गर्दा पनि मेरो सिनेमेटोग्राफरदेखि, एडी, आर्ट डिरेक्टर, कस्ट्युम डिजाइनर कसैलाई पनि एक पोइन्टमा पनि द्विविधा नहोस्,” उनी अगाडि स्पष्ट पार्दै भन्छन्, “सिन नम्बर ५० भन्दा त्यसका क–कसको रिक्वायरमेन्ट के हो सबैलाई थाहा होस् र तत्काल काम होस् भन्ने हेतुले मैले यो स्टोरी बोर्ड बनाएको थिएँ ।” स्टोरी बोर्डमा सर्ट ट्रयाकबाट जान्छ कि कहाँबाट जान्छ भन्नेसम्मको एक÷एक लेखिएको बताउने खगेन्द्र स्टोरी बोर्डका केही तस्बिर र नमुना आफूले पुस्तकमा पनि समावेश गरेको सुनाउँछन् । 

स्टोरी बोर्ड बनाउन १२ जनाको टिमलाई १५ देखि २० दिन लाग्ने देखियो । यो भनेको सुटिङको आधा समय थियो । सिनेमाको झन्डै १५ प्रतिशत बजेट थपिनु थियो । त्यसैले उनले लगानी घटाउन डमी सेट बनाए । मेन–मेन सिनको डमी सिन बनाए । मिनिएचर सेट बनाए । त्यस एडी, आर्ट डिरेक्टरसहित बसेर यहाँबाट यसरी–यसरी यो–यो कलाकार यसरी आउँछन् भनेर नोट गरे । रियल सेट स्याङ्जा, बर्दिया, रोल्पामा थियो । काठमाडौंमा मिनिएचर सेट बनाएर ११ दिनमा स्टोरी बोर्ड बनाएर डिजाइन बनाए ।

म मरे पनि...
“जब स्टोरी बोर्ड सकियो, त्यसपछि म एडीलगायत टिमका साथीहरूलाई भन्थेँ– अब यो फिल्म म मरे पनि बन्छ । र, म मरेँ भने पनि यो फिल्म बनाउनू,” खगेन्द्र भन्छन्, “मान्छेको जीवन हो, कुन बेला कहाँ घुत्रुक्क हुन्छ ठेगान हुँदैन । त्यसैले यदि म मरेँ भने पनि यो फिल्म बनाउनू र निर्देशकमा मेरै नाम राखिदिनू ।”

...अनि छायांकन
त्यसपछि बल्ल खगेन्द्रको युनिट छायांकनमा निस्कियो । स्याङ्जा, रोल्पा, बर्दियालगायत ठाउँमा छायांकन थियो । छायांकन थियो भदौमा । पानी यति धरै पर्‍यो, खगेन्द्रलाई गाउँले भन्थे, ‘नाम नै पानीफोटो छ । त किन पर्दैन थियो त पानी ।’ भलै, स्टोरी बोर्डमा फिल्म तयार भएकाले जति बेला पानी बिदा हुन्थ्यो, उनीहरू त्यही बेला खिच्थे ।

“वालिङदेखि निकै माथि थियो सुटिङ । छिनमै पानी पर्थ्यो । जुका लाग्थ्यो । दिक्कै बनाउने हिलो र पानी थियो,” खगेन्द्र अनुगृहीत सुनिए, “तर, सटेको कसैले अलकिति पनि निदार नखुम्च्याई काम गरे । कामप्रति यति धेरै लगाव देखेर मलाई लाग्थ्यो, मेरा साथीहरू युद्ध लड्दै छन् । जारी युद्ध जित्ने लक्ष्यमा उनीहरू कति पनि विचलित नभई लागिरहेका छन् ।”

रोल्पामा...
फराकिलो क्यानभासले रोल्पा माग्यो । खगेन्द्र उतै डोरिए । घर्ती गाउँको परिवेशले लोभ्यायो । वडाध्यक्षसँग प्रोडक्सन म्यानेजरले छायांकनको अनुमति मागे ।

‘युद्धको बारेमा नराम्रो कुरा छ भने हामी सुटिङ गर्न दिँदैनौँ । माओवादी जनयुद्धबारे राम्रो कुरा छ भने ठिक छ, गर्नुुस्,’ वडाध्यक्षले भने ।

खगेन्द्र कसैको फेवरमा सिनेमा बनाइरहेका थिएनन् । कुनै पार्टीको एजेन्डा बोक्ने र कसैलाई गाली गर्ने उनको नियत थिएन । उनको उद्देश्य नै तटस्थ रहनु थियो । त्यसैले उनलाई लाग्यो– फिल्म छायांकन त थालौँला, तर यो सोच राख्ने मान्छेसँग भोलि कुरा नमिल्न सक्छ । हामीले कुरा बुझाउन सकेनौँ भने दुःख हामीले नै पाउने हो । त्यसैले लोकेसन अर्कै खोजौँ । 

त्यसपछि खगेन्द्र सोजिए होलेरी र आसपासका क्षेत्र । जहाँ उनले वडाध्यक्षसहित कवि दीप दर्पणलाई भेटे । जसबाट अनपेक्षित सहयोग पाए ।

हजुरआमा
हजुरआमाले हराएको मामाको कुरा नगरेको भए सायद द्वन्द्वपीडितका ती अन्तर्वार्ताले यति धेरै उनलाई छुन्थ्यो/छुन्थेन थाहा छैन । तर, ‘पानीफोटो’मा परोक्ष रूपमा हजुरआमा जोडिइन् । तर पनि बुढ्यौली उमेरका कारण खगेन्द्रले हजुरआमालाई पानीफोटो नाटक देखाउन सकेनन् ।

“नाटक त मैले हजुरआमालाई चाहेर पनि देखाउन सकिनँ । तर, फिल्म भने घर गएका बेला ल्यापटपमै मात्रै भए पनि देखाउनेछु,” खगेन्द्रले कुराको बिट मारे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  ०७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro