काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले धार्मिक तथा सांस्कृतिक समुदायलाई जातका आधारमा भेदभाव नगरिने बताएका छन् । आज नेपाल खड्गी सेवा समितिको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन । महानगरको सभा कक्षमा समितिका अध्यक्ष अन्जिता खड्गीले मेयर शाहलाई ६ बुँदे ज्ञापन पत्र बुझाएकी थिइन् ।
“भाषा, संस्कृति, सम्पदा बचाउने नीतिअन्तर्गत हामी काम गरिरहेका छौँ । म आफैँ पनि विभिन्न बाजा बजाउँछु । बाजागाजा, कला र कलाकार बचाउँन मेरो प्रयास सधैँ रहनेछ,” उनले भने, “जात्रा, पर्व तथा सामाजिक गतिविधिका लागि दिइने अनुदानका लागि प्रणाली बनाउँछौँ । जुन प्रणालीलाई व्यक्ति परिवर्तनले फरक नपरोस् ।”
उपमेयर सुनिता डंगोलले नेवार समुदायभित्रको सांस्कृतिक विविधता काठमाडौंको सौन्दर्य र पहिचान रहेको बताइन् । “यसलाई जोगाउन महानगरले सबै गुठीलाई समान व्यवाहार गर्छ । सामाजिक सद्भाव बचाउन सबै पक्षबाट सहयोगको अपेक्षा छ,” उनले भनिन् ।
गतवर्ष विविध कारणले गुठीहरुले प्राप्त गर्न नसकेको सहयोग महानगरले आर्थिक वर्ष २०७९/०८० मा उपलब्ध गराइने महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले बताए ।
वर्षौंदेखि समुदायले चलाउँदै आएका गुठीगहना, जात्रा तथा पर्व बचाउन महानगर सहयोग थप्दै जानुपर्ने समितिका संरक्षक मनोज नेवाः खड्गीको भनाइ थियो । “नेवार समुदाय आपसमा मिलेर बसेका छन् । जात्रा पर्वका कामहरु आपसमा बाँडिएका हुन्छन् । महानगरले सबैलाई समान सहयोग गर्यो भने मात्र परम्परा धानिन्छ । नत्र परम्पराका अङ्गहरु छुट्दै जान्छन् । त्यो अवस्थालाई महानगरले बचाउनु पर्छ,” उनले भने ।