काठमाडौं । बेन स्टोक्सको अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ल्यान्ड मंगलबार राति सहज नतिजा निकाल्न असफल रह्यो । रसी भान डेर डुसानले शतक बनाएपछि दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई ६२ रनले पराजित गर्यो ।
टेष्ट क्रिकेट टिमका कप्तान स्टोक्सले गत सोमबार एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । तर, उनको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको विदाई सुखद हुन सकेन । उनी पाँच रन बनाउँदा एइडेन मारक्रमको बलमा एलबीडब्यू आउट भएका थिए ।
भान डेर डुसानले १३४ रन बनाएपछि चेस्टर–ले–स्ट्रिटको रिभरसाईड क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३३३ रन बनाएको थियो । ३३४ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ४६.५ ओभरमा सबै विकेट गुमाएर २७१ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका भान डेर डुसानले ११७ बलमा १० चौकासहित १३४ रन बनाए । उनले दोस्रो विकेटका लागि ओपनर जानेमन मालनसँग १०९ रनको साझेदारी गरे । त्यस्तै तेस्रो विकेटका लागि एइडेन मारक्रमसँग १५१ रनको साझेदारी गरे । मालनले ५७ रन बनाए भने मारक्रमले ७७ रन जोडे । हेनरिच क्लासेनले १२ रन बनाए । डेबिड मिल्नर २४ रनमा अविजित रहे ।
इङ्ल्यान्डका लियम लिभिङस्टोनले दुई विकेट लिए । साम कुरान, मोइन अली र ब्रोडन क्रासले एक/एक विकेट लिए ।
३३४ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डका लागि जो रुटले ८६, जोनी बेयरिष्टोले ६३, जसोन रोयले ४३, कुरानले १८, क्रासले १४, कप्तान जो रुटले १२ र लिभिङस्टोनले १० रन बनाए ।
दक्षिण अफ्रिकाका एनरिच नोट्जेले ४ विकेट लिँदा तब्राज शाम्सी र मारक्रमले समान दुई विकेट लिए । लुङ्गी एनगिडी र केशब महाराजको नाममा एक/एक विकेट रह्यो ।
इङ्ल्यान्ड भ्रमणमा रहेको दक्षिण अफ्रिकाले तीन एकदिवसीय अन्तर्राष्ट्रिय र तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ ।