किभ । युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्की अमेरिका पुगेकी छन् । थुप्रै उच्च स्तरीय भेटवार्ता र अमेरिकी कंग्रेसलाई सम्बोधन गर्न उनी अमेरिका पुगेकी हुन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चार महिनाअघि भिडियो कन्फ्रेन्समार्फत अमेरिकी कंग्रेसलाई सम्बोधन गरेर थप सैन्य हातहतियार सहयोगका लागि आह्वान गरेका थिए ।
ओलेनाले सोमबार अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनसँग भेटवार्ता गरेकी थिइन् । राष्ट्रपति भवन ह्वाइट हाउसकाअनुसार उनले आफ्ना समकक्षी जिल बाइडेनसँग पनि वार्ता गर्नेछिन् ।
उनको बुधबार क्यापिटल हिलमा अमेरिकी विधायकहरूसमक्ष आफ्नो मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।
यसअघि गत मे महिनामा डा. जिल बाइडेनले युक्रेनको आकस्मिक भ्रमण गरेकी थिइन् । युक्रेनी प्रथम महिला युक्रेन सरकारको कुनै औपचारिक पदमा रहेकी छैनन् । रुसले युक्रेनमा आक्रमण गरेको झण्डै पाँच महिना पुगिसकेको अवस्थामा किभ अमेरिकाबाट थप राजनीतिक र सैनिक सहयोग खोजिरहेको छ ।
यसअघि नै अमेरिकी कंग्रेसले युक्रेनलाई झण्डै ४० अर्ब अमेरिकी डलर सहयोग गर्ने निर्णय गरिसकेको छ । सो रकम आगामी सेप्टेम्बरको उत्तरार्ध सम्ममा पूरा किस्ता उपलब्ध गराइसक्नेछ । सोमबार नै उनले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी निकायका अध्यक्ष सामन्था पावरसंग पनि भेटवार्ता गरेकी थिइन् ।
यस निकायले युक्रेनी सरकारलाई सहयोग गर्न र रुसी युद्धको कारण विश्वमा देखिएको खाद्यान्नको चरम अभावविरुद्ध लड्न तथा मानवीय उद्धार सहयोगका लागि अर्बौं डलर दिइसकेको छ ।
बीबीसीबाट ।