site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

बर्खा, चाडबाड र जात्रालगायतका कारण सावधानी अपनाउन चुके यसै पनि जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । त्यसमाथि यही बेला कोभिडको नयाँ प्रकार फेरि फैलन थालेको छ ।

कोभिड-१९ का बारेमा त सर्वसाधारणसमेत जानकार भइसकेका छन् । संसारलाई नै कक्रक्क पारेको पारेको यस महामारीले जनस्वास्थ्यका साथै विश्व अर्थतन्त्रमा समेत गम्भीर असर पारेको छ ।

नेपाली समाजले यसभन्दा पहिले देशव्यापी महामारी वा प्राकृतिक विपत्ति भोगेको थिएन । यसैले आरम्भमा यसको व्यवस्थापनमा सरकार अलमलमा पर्‍यो भने जनता बढि तर्सिए । 

जनस्वास्थ्यमा सामग्री खरिदमा महामारीको सङ्कटमा पनि भ्रष्टाचार र कमिसन निर्णायक भयो । स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार र भारतसँग किनेको खोप कमिसनका कारण रोकिएको कटु वास्तविकता जनताले भोगे ।

सरकार बदलिएसँगै कोभिडको खोप अभियानले तीव्रता लियो । नेपाल अहिले  कोभिडविरुद्ध खोप दिने मुलुकहरूमा सन्तोषजनक स्थानमा नै छ । बालबालिकालाई दोस्रो मात्रा खोप दिन पनि सुरु भएको छ ।

खोप हराएको, खेर फालिएकोजस्ता घटना पनि सार्वजनिक भएका छन् र तिनलाई गम्भीरतापूर्वक लिनुपर्छ । तर, अहिले प्राथमिकता भने बढ्दो सङ्क्रमण सकेसम्म चाँडै रोक्नलाई नै दिनुपर्छ ।

सङ्क्रमण नियन्त्रणमा व्यक्तिगत सावधानी निर्णायक हुने जानकारी अब सबैले पाइसकेका छन् । यसैले ज्यान जोगाउन सबै सावधान हुनेछन् भन्ने अपेक्षा गर्नु अनुचित हुँदैन । साथै, २ वर्षपछि मन फुकाएर चाडबाड मनाउने मौका पाइएको यथार्थ पनि बिर्सन सकिँदैन ।

जनस्वास्थ्यविद्हरूले कोभिड-१९ केही समय रहिरहने र विभिन्न रूपमा प्रकट भइरहने अनुमान गरेका छन् । यसैले यसको उपचार र निरोध दुवैमा सरकारले ध्यान दिइरहनुपर्ने देखिन्छ ।

कतिपय मुलुकहरूले खोपको अतिरिक्त मात्रा पनि थप दिइरहेका छन् । नेपालमा पनि भण्डारमा रहेको खोप बूढापाका र कमजोरहरूलाई दिने अभियान निरन्तर राख्नु उचित हुनेछ ।

अहिलेसम्म राज्यले नै खोपको खर्च बेहोरेको छ । खोपको लाभ लागतको विश्लेषण गर्दा पक्कै पनि राज्यलाई नोक्सान परेको छैन । तर, जनस्वास्थ्यका अरू प्राथमिकता पनि छन् ।

राज्यले कोभिडको अतिरिक्त खोपको खर्च अब बेहोर्न नसक्ने हो भने निजी क्षेत्रलाई अरू इन्फ्लुएन्जाको खोपजस्तै आयात गर्न दिए हुन्छ । सरकारले गुणस्तर र मूल्यको निगरानी तथा नियमन गरोस् । गरिबहरूका लागि स्थानीय तहहरूले किनेर दिने व्यवस्था मिलाउन सक्छन् ।

महामारी फैलन सक्ने जोखिम उच्च छ भने देश र जनताले अर्को बन्दाबन्दी धान्न सक्ने अवस्था छैन । यसैले सरकार र जनता दुवै सजग होऊन् । महामारीसँग खेलाँची नगरौँ !  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro