काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन दिने उमेदवारको नाम सार्वजनिक गरेको छ । आज एक सूचना जारी गर्दै बोर्डले अध्यक्षमा दरखास्त दिनेमध्ये छनोट भएका उमेदवारको नाम सार्वजनिक गरेको हो ।
मन्त्रालयका अनुसार अरुण कुमार प्रधान, दीपक श्रेष्ठ, नरेश कुमार पौड्याल, निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रृष्ठ, सुशील कुमार पोखरेल र सुष्मा कार्कीले उमेदवारी दिएका छन् ।
छनोट भएका उमेदवारको व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि केही समयपछि खबर गरिने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।
असार ५ गते मन्त्रालयले दरखास्त आह्वान गरेको थियो । तत्कालीन अध्यक्ष दयाराम दाहालको कार्यकाल सकिएपछि आवेदन आह्वान गरिएको थियो । बोर्डको अध्यक्षको कार्याकाल दुई वर्षको हुन्छ ।