युक्रेन । युक्रेनी एयरलाइन्सको एन्टोनोभ कार्गो विमान उत्तरी ग्रिसको काभाला सहर नजिकै दुर्घटनाग्रस्त भएको छ । आइतबार स्थानीय बासिन्दाले दुर्घटनापछि दुई घण्टासम्म आगोको मुस्लो देखेको र विस्फोटको आवाज सुनेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।
ग्रिक नागरिक उड्डयन अधिकारीहरूका अनुसार विमान सर्बियाबाट जोर्डनतर्फ जाँदै थियो । एन—१२ सोभियत–निर्मित टर्बोप्रप विमान कार्गोवाहक मेरिडियनद्धारा सञ्चालित थियो ।
ग्रिक मिडियाले विमानमा आठजना सवार रहेको र त्यसमा १२ टन खतरनाक सामग्री (धेरैजसो विस्फोटक पदार्थ) रहेको बताएका छन् । तर स्थानीय अधिकारीहरूले कार्गोको बारेमा कुनै खास जानकारी नभएको र विमानमा रहेको मानिसहरूको संख्या फरक उपलब्ध गराएको एपीले जनाएको छ ।
दुर्घटनास्थलबाट दुर्गन्ध आउन थालेपछि सावधानीका रूपमा समन्वय समितिले दुर्घटनास्थल नजिकै रहेका दुई बस्तीका बासिन्दालाई रातभरि झ्याल बन्द राख्न र बाहिर ननिस्कन र मास्क लगाउन सुझाव दिएका छन् । अधिकारीहरूले विमानमा ब्याट्रीहरू सहित खतरनाक रसायनहरू थिए कि भनेर उनीहरूलाई थाहा नभएको स्पष्ट पारेका छन् ।
एपीबाट ।