काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूले सभापति एकलौटी रूपमा चलेको आरोप लगाएका छन् ।
सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा शनिबार पाण्डेले नेविसंघ र तरुण दल गठन गर्दा नेता शेखर कोइराला पक्षसँग सामान्य छलफल समेत नगरिएको भन्दै आपत्ति जनाए । देउवाले दुजाङ शेर्पालाई नेविसंघको अध्यक्ष र विद्वान गुरुङलाई तरुण दलको अध्यक्ष बनाएका थिए ।
त्यसक्रममा पनि नेता कोइराला पक्षसँग छलफल नै नगरिएको र देउवाले एकलौटी गरेको भन्दै उनले असन्तुष्टि जनाए ।
अर्का सहमहामन्त्री परियारले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले मत हालेका कोइराला पक्षसँग सभापतिले छलफल समेत नगर्नु दुःखद् भएको बताए । भातृसंस्थाका तदर्थ समिति गठनलगायत विषयमा छलफल नै नगरी देउवा एकलौटी ढंगले अघि बढ्न खोजेको उनको भनाइ थियो ।
बैठक गएको आइतबारदेखि जारी छ ।