काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (माओवादी केन्द्र)ले गठबन्धनबिना एक्लै निर्वाचनमा प्रतिस्पर्धा नै नगर्ने जिकिर गरेका छन् ।
सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शनिबार उनले माओवादीले एक्लै निर्वाचन नलड्ने र कुनै ‘पाटर्नर’ खोजी गर्ने बताए ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेका खाँणले निर्वाचनमा गठबन्धन गर्दा पार्टीका नेताहरूको सिट कटौती हुन सक्ने र त्यसका लागि सबै तयार रहनुपर्ने पनि बताए ।
“गठबन्धनबिना माओवादी एक्लै चुनाव लड्दै लड्दैन । उसले कुनै अर्को पार्टनर खोजी हाल्छ,” खाँणले बैठकमा भने, “गठबन्धन भयो भने कसैको पनि सिट जान सक्छ, यसका लागि सबै तयार रहनुपर्छ ।”
उनले अहिले मात्र नभई धेरैपछिसम्म पनि गठबन्धनको आवश्यकता रहेको बताए ।