काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको अध्ययन सुरु गरेको जनाएको छ ।
शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मूलगेटदेखिका सीसीटीभीका गतिविधिहरूमा विशेष जोड दिएर अध्ययन गरिरहेको जनाइएको हो ।
समितिका सचिव सुरेन्द्र अर्यालले शनिबार राजस्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको र आजै अर्थ मन्त्रालयका राजस्वसचिव, अर्थसचिवसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताए । उनले आज नै अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरूसँग छलफल गर्ने कार्यतालिका रहेको जानकारी दिए ।
सचिव अर्यालले आज प्राविधिक विषय सीसीटीभीका बारेमा केन्द्रित भएर छलफल गर्ने र अध्ययनलाई समयसीमाभित्र नै टुंगोमा पुर्याउने गरी अघि बढेको बताए ।
शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई राति अर्थ मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको हो । शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।