दीपकराज सापकोटा
सम्झन्छु चगेँजखाँले मारेका भनिएका ४ करोड मानिसका परिवारहरुको कथा
तिनका बच्चा बच्चीका कथा, यौवना भार्याका कथा
अनि आफू ज्यूदै हुँदा सन्तान मारिएका बृद्ध पितामाताका ब्यथा ।
हिटलरले मारेका ति निर्दोष निरिह मान्छेका कथा
विश्व युद्ध भनिने सनकका विभिन्न्न युद्धमा मारिने सिपाहीका कथा
जुँगाको रेखि नबस्दै निर्मल प्रकृतिका काखमा पल्लवित ती युवाका कथा
जो अनायासै हावाको झोंकामा लाहोर र मलयाका उष्णतामा
बिच्छी र सर्पको कहर झेल्दै,
बर्मा हुँदै फ्रान्स र बेलायतका रगत जमाउने ठिहीहरुमा
आफ्नो पाखो, पहरो र झरना सम्झदै
दुई गाँस गुन्द्रुक भातको अतृप्त आँत लिएर (कामनाका साथ)
न भाषा बुझ्ने कोही छ न त भेष नै मिल्छ
मनका बह कोर्न सावाँ अक्षरसमेत नजानेको त्यो विशुद्ध प्राणि
बम र बन्दुकको गोली खाएर ढल्छ र सास छोड्नु अगाडि भन्छ हे आमा
आमा यहाँ जन्म दिने आमा हुन्, आमा यहाँ दुइ मुठी माटो हो
तर, उ त कसको लागि लडेको त्यति पनि पत्तो नपाइ तुरिन्छ ।
अनि ति स्फटिक हृदयकी आमा थोता दाँतको ङिच्च लहर देखाउँदै
भन्छिन खै फर्केन मेरो छोरो, कसो नआउला !
ति निर्दोष हाँसोका बिच लुकेको पीडाको गहिरो सागर
उफ त्यो ब्यथा, उफ त्यो बिरह, गडेको खील
यस्ता अनगिन्ति ब्यथा, बिरह, पीडा ।
अनि, भर्खरै मारिएका सत्रहजार ती भाइ छोरा बाबु बैनी र भाउजुका
कि सास देउ कि लास देखाउ भन्दै भौतारिहरहेका आर्त आफन्तिका कथा,
क्रिया बार्नु कि नबार्नु, शुद्धाशुद्धी गर्नु कि नगर्नु अन्यौलमा परेका बखतका कुरा
जति सम्झन्छु, उफ त्यतिनै निस्सासिन्छु !
यो खाली ऐठन होस सपनीको बिचमा
उठ्दा सुन्दर उपवन होस जहाँ मानिस मानिस रहोस् प्रकृतिको काखमा ।