रश्मि भट्ट
संसारभरका साहित्यकारको प्रवृत्ति हेर्दा एक थरी साहित्यकार एक वा दुई विधामा कलम चलाउँछन् । अर्का थरी भने धेरै विधामा कलम चलाउँछन् । धेरै विधामा कलम चलाउँदैमा सबै विधामा लेखक सफल हुन्छन् भन्ने पनि छैन । नियात्राकार डा. दामोदर पुडासैनी साहित्यका धेरै विधामा कलम चलाउने लेखक हुन् । तर, उनले जताजता हात हालेका छन्, सबैमा सफल देखिएका छन् । कथा, कविता, निबन्ध, नियात्राजस्ता जुनसुकै विधामा पुडासैनीले कलम चलाए, तिनले पाठक र समालोचकको मन जितेका छन् ।
साहित्यकार पुडासैनीको हालसम्म प्रकाशित १७ थान पुस्तक सबैले आ–आफ्नो क्षेत्रमा प्रबल हस्तक्षेपकारी भूमिका खेलेका छन् । कृतिहरूको मार्गमा आइपुगेको उनको अर्को नियात्रासंग्रह हो, ‘ग्रीष्मको नीलो बतास’ । पश्चिम नेपालको कैलाली, डोटी, डडेलधुरा, अछाम, बझाङ, बाजुरा र नेपालपारिको नैनीतालसम्मको परिवेश, तिनमा जीवनयापन गरिरहेका पात्रहरूको दैनन्दिन तथा त्यस क्षेत्रको भौगोलिक रङलाई निकै सुन्दर ढंगले अंकन गरेका कारण पनि उनको यो नियात्रासंग्रह रुचिकर भएको छ ।
पुस्तकको केन्द्रीय विषय खप्तड क्षेत्र र त्यस वरिपरिको जादुयी परिवेशलाई टपक्क टिपेर पस्केका कारण पनि ग्रीष्मको नीलो बतास आकर्षक बनेको छ । त्यसैले पनि चर्चा छ, पुडासैनीले नियात्रा लेखन परम्परामा नयाँ बाटो पहिल्याए ।
शब्द शिल्पको काव्यात्मक बुनाइमार्फत भाषाको आविष्कार गर्ने र वर्णनमा मानवीय र प्राकृतिक परिवेशलाई जीवन्त ढंगले उभ्याउने पुडासैनीको सामर्थ्यका कारण डा. पुडासैनीका नियात्राहरू सर्वरुचिकर र सर्वप्रिय बन्न सकेका हुन् ।
नियात्रा यो समयको बहुप्रिय विधा हो । पद्यमा गजल, हाइकु र मुक्तकको बाढी आएझैँ गद्य लेखनमा नियात्रामा यतिखेर धेरैको आकर्षण छ । धेरै लेख्नुको अर्थ सबै स्तरीय हुन्छ भन्ने पनि होइन । यतिखेर नाम नै चलेका कतिपय नियात्राकारहरूको नियात्रा पढ्दा अरू नियात्राकारहरूको शब्द, शैली र विषय नै कपी गरेको समेत छनक पाउन सकिन्छ ।
कतिपय नियात्राकारहरू नियात्रा होइन, शब्दजाल लेख्छन् । उनीहरूको नियात्रा पढ्दा तिनको आत्मरती, कुण्ठा र व्यक्तिगत नालीबेलीबाहेक केही पाइन्न । अर्का थरी नियात्राकारहरू यात्राको समय र ठाउँ मात्र लेख्छन्, अनुभूति भने शून्य हुन्छ । कतिपय नियात्रा पढ्दा पाठकले केही पाउँदैन, समय मात्र बरबाद गर्छ ।
डा. दामोदर पुडासैनीका नियात्रा तीभन्दा पृथक छन् । उनको शैली सधैँ भिन्न हुन्छ । उनी नियात्रामा ठाउँ, घटना र आफ्नो उपस्थिति मात्र लेख्दैनन्, त्यो यात्रालाई केन्द्रमा राखेर वर्तमानको रङ र वैश्विक चहलपहल समेत प्रकट गर्दछन् । देश र देशबाहिरको परिवेश बुझेका र संसारका पचासौँ मुलुकहरू र नेपालका सबै जिल्ला भ्रमण गरेर त्यहाँका वस्तुस्थितिलाई नजिकबाट नियालेका कारण पनि दामोदरका हरेक सिर्जनामा बढी चामत्कारिक निष्कर्ष पाउन सकिन्छ ।
ग्रीष्मको नीलो बतास नेपालका लेक क्षेत्र र हिमाली क्षेत्रलाई अनुपम ढंगबाट उजिल्याउने कृति हो । यसले नेपालको महाकाली, सेती, राप्ती र त्यस पश्चिमका भारतीय भूभाग र त्यसमा निर्भर जनजीवनलाई निकै सजीव ढंगले उतार्दै त्यो जीवन र जगत्लाई विश्व परिवेशमा नयाँ मार्ग प्रशस्त गरेको छ ।
यात्राका क्रममा लेखकले अनगिन्ती पात्रहरू र ठाउँहरू भेटेका छन् । तिनलाई चामत्कारिक ढंगले अभिलेखीकरण गरेका छन् । यो कृति पढ्दा नेपाल अझै कुरीति, कुपरम्परा, अशिक्षा र स्वास्थ्य सुविधाबाट मुक्त हुन नसकेको प्रस्ट हुन्छ । जातीय विभेद, लैंगिक विभेद, कामचोर प्रवृत्ति, पेसागत मर्यादामा रहने कोसिस कतैबाट नहुनुजस्ता प्रसंगहरू पनि यो कृतिमा पाइन्छ ।
लेखकले भ्रमण गरेका खप्तड क्षेत्र प्राकृतिक सुन्दरताको दृष्टिले अतिउच्च र क्षणक्षणमा जंगली जनावरहरूसँग जम्काभेट हुने, महिनौँ हिमाली पाटनमा गोठालाका रूपमा फिरन्ते जीवन बिताउने मान्छेको आदिम शैलीको कथा–व्यथा पढ्न पाउँदा हरेक पाठक रोमाञ्चित बन्छ ।
खप्तड लेक के हो, मानवहरूको न्यून उपस्थिति हुने खप्तडजस्ता लेकहरूले जीवनलाई दिने शिक्षा र योगी, साधु, सन्त र महाराज कहलाउनेहरूको प्रसिद्धिभित्र लुकेको यथार्थता बुझ्न पनि ग्रीष्मको नीलो बतासको अध्ययन जरुरी छ ।
दामोदर पुडासैनी ‘किशोर’का अरू नियात्राकृतिहरूजस्तै ग्रीष्मको नीलो बतासमा पनि काव्यको भरपुर मिठास पाउन सकिन्छ । यसलाई नियात्रा नभनिदिने हो भने यो पृथक शैलीको सफल उपन्यास हो भन्न सकिन्छ ।
यसभित्र अभिलेखित कथाहरू यति जाज्वल्यमान छन् कि तिनका शृंखलाहरूलाई कथाको रूपमा अध्ययन गर्दा कथा परम्परामै नवीन प्रदेश पत्ता लाग्दछ । भालुवाङको भातको प्रसंग, धनगढीतिरका वादी समुदायका व्यथा, स्याउली बजारका होटेल साहु–साहुनीका कथा, डोटी कुलपातेका विदेशबाट फर्केर गाउँमै व्यापार–व्यवसाय गर्नेका कथा, झिंग्रानाका प्रेम दाइको कथा, बीचपानीको कथा, गोठालाहरूका अनगिन्ती कथा, गरिबीको कथा, अशिक्षाको कथा, रोगीहरूका कथा, भरियाका कथा, कथा नै कथाले भरिएको छ, ग्रीष्मको नीलो बतास । कथा, उपन्यास, कविता सबैलाई समेटेर जीवनका सांगोपांगो अवस्थालाई बहुकोणबाट नियालिएको कारण पनि विशेष नियात्रा बनेको छ, दामोदर पुडासैनीको कृति ।
सामान्यतया मान्छेले आकाश नीलो देख्छन् । बतास त देख्दै देख्दैनन्, स्पर्श मात्र गर्छन् । तर, दामोदरले बतासलाई देखेका छन्, त्यो पनि नीलो रूपमा र देखाएका छन्, हामी सबैलाई । प्रकृतिको अनुपम सौन्दर्यानुभूतिमा उचाइको उच्च विन्दुमा पुगेपछि मान्छेले बेग्लै सुन्छ, बेग्लै देख्छ, बेग्लै अनुभूति गर्छ । ग्रीष्मको नीलो बतासको उच्चता यसैगरी पुष्टि भएको छ ।