प्राध्यापन पेसामा सक्रिय अंग्रेजी साहित्यकी ज्ञाता, कुशल समालोचक तथा लेखक कुमारी लामाको पछिल्लो समयको साहित्यिक क्रियाशीलता लोभलाग्दो छ । विभिन्न पुस्तक प्रकाशित गरिसकेकी लामा बाह्रखरी कथा प्रतियोगिताको तेस्रो संस्करणको निर्णायकमण्डलकी सदस्य हुन् । बाह्रखरी कथा प्रतियोगिताको चौथो संस्करणको तयारी हुँदै गरेको अवस्थामा लामासँग गरिएको कुराकानी :
कथा के हो ? कथाको रूप कस्तो हुनुपर्छ ?
मानिसभित्रका रहस्यदेखि समाजमा स्थापित अनेक तहगत सम्बन्धहरूका साथै आजको भूमण्डलीकृत पुँजीवादी समाजमा विकसित नवीनतम् मनोविज्ञान आदिलाई खोतल्ने एक विशेष क्षेत्र हो, कथा । जसमा यथार्थ, अतियथार्थ या स्वैरकाल्पनिक उडान भर्न सकिन्छ ।
जहाँसम्म रूपको कुरो छ, यो त यसको निर्माणकर्तामा भर पर्छ । रूप जस्तो पनि बनाउन सकिएला । उत्तराधुनिक समय विधा भञ्जनदेखि संरचना भत्काउने काममा लागेका बखत कथाको यही स्वरूप हुनुपर्छ भन्न नसकिने अवस्था छ । तर, कथामा कथाचाहिँ हुनुपर्छ । निश्चितै, केही पात्र, केही घटना विशेष त पक्कै आउनुपर्छ ।
कथा किन लेखिन्छ ?
कथा लेखिनु कथाकारले लिएको उद्देश्यमा भर पर्छ । मानव जीवन र समाजमा विद्यमान विभिन्न विसंगतिको उजागर र असंगतिप्रतिको प्रतिरोधका लागि पनि त्यो हुनसक्छ । विसंगति र समस्या मात्र देखाउन पनि लेख्छन् कथाकारले कथा । अँध्यारोभित्रको केही आशा या विसंगतिप्रतिको आवाज उठानका लागि पनि हुन्छ, कथा लेखन । आजको आवश्यकता मूलतः विभिन्न आवाजविहीनको आवाज मुखर पार्नु साथै पर्यावरणीय चेतसहितको लेखन जो कुनै विधामा काम गर्ने लेखकको उत्तरदायित्वमा पर्छ ।
कसरी लेख्ने कथा ?
कथा लेखनका धेरै तरिका हुनसक्छन् । सिर्जनात्मक लेखनका लागि तारबार ठिक होइन । त्यसमध्ये एउटा यस्तो पनि गर्न सकिन्छ, कम्तीमा लेखकलाई केही विषय, पात्र, घटनाले छुनु पर्छ । त्यसलाई केही समय या अलि लामै समय आफैँभित्र राखी चिन्तन, मनन या स्वसंवाद गर्नुपर्छ । कथालाई कसरी अगाडि बढाउने भन्ने एक दिमागी खाका तयार पार्न सक्छ लेखकले । अलिक समय विषय या पात्रसम्बन्धी मन्थन, मनन, चिन्तनमा लागिसकेपछि त्यसले पक्कै एक मूर्तता लिन थाल्छ दिमागमा । विषयगत स्पष्टता हुन्छ । पात्रबारे लेखकले बलियो धारणा राख्न सक्छ । त्यस बखत कथा लेख्नपट्टि लाग्न ठिक समय हुन्छ ।
कथा प्रस्तुतिको तरिकामा घटना, परिवेश, पात्र आदिको विशेष वर्णनसहितको अवस्था हुनसक्छ । तर, घटनाको वर्णनले मात्र कथालाई पूर्णता नदिन पनि सक्छ । कथाका निकै अवयवहरू हुन्छन् । त्यसपट्टि पनि कथाकारको ध्यान जानुपर्छ ।
कथा लेख्दा विशेष केमा ध्यान दिने ? कथा कौशल, शिल्प, कलात्मकता, विषयवस्तु, पात्र, प्रस्तुति ?
कथा लेखनमा उल्लेखित सबै कुराको आवश्यकता पर्छ । तर, कथा र कथाकारको उद्देश्यअनुरूप तिनलाई के कति मात्रामा प्रयोगमा ल्याउने भन्ने मात्र हो । जस्तो कि, एक प्रयोगधर्मी कथाकारले प्रस्तुतिमा विशेष ध्यान दिन सक्छ । पात्रको चरित्र चित्रण त सबै कथाले समेट्नैपर्छ । मुद्दाकेन्द्रित सामाजिक यथार्थ समेटिएको कथाहरूले अलि बढी विषयवस्तुको उठानमा ध्यान दिएको पाइन्छ । प्रस्तुतिको नवीनतातिर उति ध्यान नदिई पारम्परिक कथावाचनमा अगाडि बढेका हुनसक्छन्, कोही ।
ध्यान त सबै कुरामा दिनैपर्छ । तथापि, लेखकले आफ्नोपनालाई कसरी स्थापित गर्ने भन्ने कुरा प्रत्येक लेखकको आफ्नो निजी विचारभित्र पर्छ ।
कथा लेखनमा कति समय दिन सकिन्छ ?
कथाको प्रकारअनुसार आकार फरक–फरक हुन्छ । लघुकथादेखि चल्तीको पच्चीस सय–तीन हजार शब्दको कथादेखि लामा कथा पनि हुन्छन् । पहिलो खेस्रा तयार गर्न लम्बाइअनुसार समय धेरथोर लाग्ला, तर कथालाई माझ्न निकै समय लाग्न सक्छ । एकपटक मात्र नभई पटक–पटक सम्पादन हुनसक्छ, कथा । पक्कै पनि निकै समय लाग्छ एउटा उत्कृष्ट सिर्जनाका लागि ।
कथा लेखनमा हतारोको अर्थ छ ?
हतार गर्नु खतरनाक हुनसक्छ । एउटा लेखकका लागि दुर्घटना निम्त्याउने पासो पनि हो यो । हतार नगरी सिर्जनाकर्म अघि बढाउनु नै लेखकका लागि श्रेयस्कर हुन्छ । तातै खाऊँ जली मरूँ गर्न कसरी जायज होला त ।
राम्रो कथा लेख्न के गर्ने ?
लेखकभित्र विषय, मुद्दा, पात्रको विशेषपना, भाषा, प्रस्तुतिको शैली सबै कुरा मज्जाले मन्थन हुनुपर्छ । त्यसमा बृहत् चिन्तन हुनुपर्छ । कतिपय अवस्थामा विषयवस्तु हेरेर केही अध्ययन, अनुसन्धान पनि गर्नुपर्ने हुनसक्छ । राम्रो लेखनका लागि पहिलो कुरा लेखक चिन्तनगत, विषयगत, प्रस्तुतिगत ढंगमा स्पष्ट हुनुपर्छ । आफूले लेख्ने कुरालाई लिपिबद्ध गर्न समय लिनुपर्छ । निश्चय नै धैर्यतापूर्वक, सुझबुझसाथ गरेको कामको नजिता राम्रो हुन्छ ।
कथाको आकारले महत्त्व राख्छ ?
आकारभन्दा त्यसमा निहित मर्मले बढी महत्त्व राख्छ । तथापि, लघुकथा, कथा, लामो कथा, लघुउपन्यास, उपन्यास गरी आख्यानभित्र पनि विविधता छ ।
प्रतियोगिताका लागि शब्दलाई मानक बनाउनु सही हुन्छ ?
प्रतियोगिताका केही सीमा हुन्छन् । त्यसकारण पनि शब्दका सीमा राखिएको हुन्छ, जो जरुरी पनि छ । तर, कथाकारले व्यक्त नै गर्न नसक्ने सकसिलो सीमा पनि हुन्न । सिर्जनासँग सधैँ स्वतन्त्रता, पोयटिक लाइसेन्स हुन्छ । कुनै पनि सर्जकलाई बाँध्ने काम ठिक होइन । यो मेरो व्यक्तिगत धारणा हो, विषयगत या प्रस्तुतिगत सवालमा । प्रतियोगिताको प्रकृतिअनुसार सम्भवतः विषयको क्षेत्र आदि निर्धारण गर्न पनि सकिन्छ ।
कथा लेखनमा रुचि राख्नेहरूले अरूका कथाबाट प्रभावित हुन मिल्छ ?
प्रभाव त हुनसक्छ एक लेखक अग्रज या समकालीनकै पनि । प्रेरणा पनि लिन सकिन्छ । अग्रजहरूकै सिर्जना पढ्दै अघि बढ्ने हामी, आफ्नो भिन्न शैली, अनुहार, हस्ताक्षरका लागि संघर्ष गर्छौँ आफैँसँग । पूर्णतः नयाँ अब के छ र दुनियामा ? नयाँ भन्नु केही प्रस्तुतिमा या अलिक पृथक विषय आदि हुनसक्छ । आज हामी पर्यावरण साहित्यको कुरा अत्यन्त नवीन हो जस्तो गरी वकालत प्रयत्नमा छौँ । तर, प्रकृतिको महत्त्वको कुरा त पौने दुई सय वर्षअघि नै हेनरी डेविभ थोरोले वाल्डेन पोन्डलगायत पुस्तकमा ल्याइसकेकै थिए । सर्वथा नौलो भन्नु दैनन्दनी आइरहेको चामत्कारिक विज्ञानका पछिल्ला प्रविधि हुन् । तर, जब मान्छेकै जीवन आदिलाई कथामा ल्याइन्छ भने नयाँ–पुराना कुरा मिसिन्छन् नै ।
अन्य सर्जकहरूका कृतिहरू पढ्नुपर्छ भन्ने मलाई लाग्छ । कम्तीमा एकै समय बाँचेकाले एउटै विषयलाई कति भिन्न ढंगमा बोध गर्दछ भन्ने मनन गर्न पनि पढ्नुपर्छ । त्यसमा पनि अझ एक लेखकका लागि पढ्नुको विकल्प नै छैन । अध्ययन चाहे त्यो समाजको होस्, मानव, प्रकृति विज्ञान, या अरूका पुस्तक नै किन नहोस् ।
कथामा प्रभावलाई कुन रूपमा हेर्न सकिन्छ ?
दुवै । सकारात्मक पनि र नकारात्मक पनि । अति प्रभावका कारण आफ्नो अनुहार नै बनाउन नसक्ने तहमा पुग्नु त ठिक भएन नि ! अनुहारको दाबी नै हो प्रमुख कुरा र एक लेखकले कसरी त्यस कार्य गर्छ, त्यो त उसको जिम्मा भो ।
कथा लेखनमा सिद्धान्त कतिको आवश्यक छ ?
सिर्जनात्मक लेखनका लागि सिद्धान्तको जानकारी या अध्ययन नै हुनुपर्छ भन्ने छैन । साँध–बाँधबेगरकै फुक्काफाल विचार गर्न सक्छ एउटा लेखक । लेखकीय स्वतन्त्रताको सवाल र उपभोग मूल हुन्छ ।
कथामा प्रयोग कत्तिको जरुरी हुन्छ ?
लेखनमा आवश्यक छ नि प्रयोग त । अरूले बनाइदिएको र धेरैले हिँडिसकेको बाटोमा नै हिँड्नु उति रुचिकर नहोला पनि । तथापि, प्रयोग जहिल्यै चुनौतीपूर्ण हुन्छ । प्रयोगकै लागि प्रयोग कि त्यसउताको विशिष्ठता उत्खनन भन्ने कुरो लेखकले निर्धारण गर्नुपर्छ ।
तपाईं बाह्रखरी कथामा निर्णायक हुनुभयो । सैद्धान्तिक र प्रयोगका दृष्टिले प्रतियोगितामा छानिएका कथाको सबल र दुर्बल पक्ष के–के पाउनुभयो ?
सिद्धान्तभित्र बसेर लेख्नेभन्दा पनि प्रयोगधर्मिता चाहिँ पाइन्छ कथामा । छानिएका कथामा प्रयोगका प्रयास देखिए । मान्यतागत सामाजिक चौघेराभन्दा अलिक भिन्न विषय उठान भएका कथाहरू थिए, केही । शिल्प या प्रस्तुतिमा उत्तिसारो नवीनता पाइनँ । सामाजिक यथार्थकै धरातल टेकेका कथा नै थियो, ज्यादातर ।
अब त मानव समाजभित्रको विविधता र जटिलता, भूमण्डलीकृत पुँजीवाद र उक्लँदो उपभोक्तावादी संस्कृति, पर्यावरण र यौनिकताका सवाललगायत अनेकानेक नवीन र विशिष्ठतासहितका विषय हाम्रा कथाहरूमा आउन अत्यन्त आवश्यक भइसकेको छ । आगामी प्रतियोगितामा आउने कथाहरूमा यस्ता मुद्दा आउनेछन् भन्ने आशा भने राखेकी छु ।